१६ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूसँग पनि मुलुकलाई निकास दिने कुनै एजेन्डा नभएको टिप्पणी गरेका छन् ।
शुक्रबार विराटनगरमा स्थानीय सञ्चारकर्मीसँग उनले यस्तो टिप्पणी गरेका हुन् ।
कार्यवाहक अध्यक्ष भुसालले पुराना भनिएका दलहरूले मुलुकमा संकट निम्त्याएको तर त्यो संकटलाई समाधान दिनसक्ने नयाँ भनिएका दलहरूमा पनि नदेखिएकाले मुलुक दुर्घटनातर्फ नै उन्मुख रहेको बताए ।
उनले नयाँ राजनीतिक दलहरूलाई नालायक भएकाले यसबाट पनि जनताले कुनै पनि खालको अपेक्षा गर्ने अवस्था नभएको बताए ।
भुसालले भने, ‘मैले राजनीतिक रूपमा मात्रै भन्छु–पुराना पार्टीहरू, जो दलाल पूँजीवादीसँग, बिचौलियातन्त्रसँग उनीहरूले लगनगाँठो गाँसेका थिए । त्यो संकट जेनजीका रूपमा आएको हो । त्यो भन्दा अघि नै हामीले अनेक संकट बेहोर्दै आएका छौं । यो पुनरुत्थानवादले वा पूर्वराजा ज्ञानेन्द्र शाहले एकचोटी चुनौती खडा गरे । त्यो एक हिसाबले राज्यले सामना गर्यो । तर उसले जेनजीको घटनालाई सामना गर्न सकेन ।’
उनले अगाडि भने, ‘यी पार्टीहरूबाट हामीले अपेक्षा गर्ने अवस्था भएन । यो देश दुनियाँले बुझिनै सकेको छ । यसबाट भएन भने लायकहरू त कोही न कोही आउनु पर्दथ्यो । उनीहरू पनि नालायक भए । तिनीसँग पनि विचार छैन, एजेन्डा छैन । यसकारण मुलुक हुने त दुर्घटना नै हो ।’
कार्यवाहक अध्यक्ष भुसालले दलहरूले दलाल पूँजीवादीहरूको सेवा गरेकाले त्यसका विरुद्ध जेनजी आन्दोलन भएको समेत बताए ।
प्रतिक्रिया 4