+
+
Shares

नेपाललाई मात्र ईपीएस प्रणाली परिवर्तन गर्न नसकिने कोरियाको स्पष्टोक्ति

ईपीएस मार्फत कामदार लैजाने १७ देशमा एउटै प्रणाली लागू भइरहेको भन्दै नेपालका लागि मात्रै परिवर्तन गर्न नसकिने कोरियाले स्पष्ट पारेको हो ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८२ माघ १८ गते २२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण कोरियाली अधिकारीहरूले रोजगार अनुमति प्रणाली (ईपीएस) नेपालका लागि मात्र परिवर्तन गर्न नसकिने स्पष्ट पारेका छन्।
  • ईपीएस मार्फत भाषा परीक्षा पास गरेका नेपाली कामदारले दुई वर्षभित्र कोरिया जानुपर्ने नियम छ र म्याद थप गर्न नसकिने कोरियाली पक्षको भनाइ छ।
  • नेपाल सरकारको उच्चस्तरीय टोली फेब्रुअरीमा कोरियामा जान तयार छ र समस्या समाधानका लागि छलफल गर्ने तयारी भइरहेको छ।

१८ माघ, काठमाडौं । दक्षिण कोरियाली सरकारी अधिकारीहरूले रोजगार अनुमति प्रणाली (ईपीएस) परिवर्तन गर्न नसकिने जनाएका छन् ।

ईपीएस मार्फत कामदार लैजाने १७ देशमा एउटै प्रणाली लागु भइरहेको भन्दै नेपालका लागि मात्रै परिवर्तन गर्न नसकिने कोरियाले स्पष्ट पारेको हो ।

नेपालका लागि मात्रै रोस्टरको म्याद थप वा प्रणाली परिवर्तन गर्न नसकिने कोरियाको भनाइ छ । भाषा परीक्षा पास गरेर पनि दुई वर्षदेखि कोरिया जान नपाएका नेपालीहरूको माग पूरा गर्न असम्भव रहेको कोरियाली सरकारी अधिकारीहरूले बताएका छन् ।

गत शुक्रबार कोरियाको रोजगारदाता तथा श्रम मन्त्रालयका अधिकारीहरू र नेपाली दूतावासका प्रतिनिधिबीच भएको बैठकमा उक्त कुरा स्पष्ट गरिएको हो ।

बैठकमा सहभागी नेपाली दूतावासका अधिकारीहरूका अनुसार ईपीएस लागु भएका १७ वटै देशमा एउटै प्रणाली रहेकाले नेपालका लागि मात्रै छुट्टै नियम बनाउन नसकिने कोरियाली पक्षको अडान थियो ।

सन् २०२४ मा खुलेको विज्ञापन अन्तर्गत २०२५ देखि कोरिया जान नपाएका नेपालीले रोस्टरको म्याद थप, रोस्टर परिवर्तन, रोजगारदाता समक्ष आफ्ना फाइल पठाउन पाउनुपर्ने लगायत माग गर्दै आन्दोलन गर्दै आएका छन् । तर, कोरियाली अधिकारीहरूले यी कुनै पनि माग पूरा गर्न नसकिने जनाएका हुन् ।

कोरियाली पक्षले आफ्ना कर्मचारीको सुरक्षा विषयमा गम्भीर चासो व्यक्त गरेका थिए । हाल नेपालमा भइरहेको आन्दोलन क्रममा एचआरडी कोरियाका कर्मचारीहरूको तस्वीर बोकेर प्रदर्शन भएको देखेपछि उनीहरू त्रसित भएको जनाइएको छ ।

नेपाल सरकार ई–९ भिसा प्रणालीप्रति पूर्णरूपमा प्रतिबद्ध रहेको र आन्दोलन कोरिया वा कोरियाली सरकारविरुद्ध नभई लामो समय कुर्नुपरेको आक्रोशमात्र भएको नेपाली दूतावासका अधिकारीहरूले स्पष्ट पारेका थिए ।

कोरियाली अधिकारीहरूले रोस्टर दुई वर्षमै सीमित रहने व्यवस्था सबै १७ देशमा लागु भएको र कोरोनाजस्ता विशेष अवस्थामा मात्रै सबै देशका लागि एकै पटक म्याद थप गरिएको स्मरण गराए ।

ईपीएस प्रणाली मार्फत अहिलेसम्म करिब १ लाख ३० हजार नेपाली कामदार कोरिया गइसकेका छन् । कुल कामदारमध्ये नेपालकै हिस्सा ४४ प्रतिशतभन्दा बढी रहेको भन्दै कोरियाली पक्षले नेपालप्रति कुनै विभेद नगरिएको दाबी गरेको थियो ।

रोस्टरमा नाम परेपछि कामदार छनोट पूर्णरूपमा रोजगारदाताको आवश्यकता अनुसार हुने र उमेर, तौल, उचाइ तथा अनुभव जस्ता मापदण्डका आधारमा निजी क्षेत्रले नै छनोट गर्ने भएकाले कुनै देशले हस्तक्षेप गर्न नसकिने कोरियाली अधिकारीहरूको भनाइ थियो ।

यो विषयमा थप छलफलका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवको नेतृत्वमा उच्चस्तरीय टोली कोरिया जाँदैछ । त्यसका लागि कोरियाले फेब्रुअरी १०–११ वा २६–२७ को मितिमा आउन सकिने जनाएको छ ।

सचिवस्तर वा मन्त्रीस्तरीय टोलीसँग छलफल गर्न समय प्रस्ताव गरिएको र दूतावासले यस विषयमा परराष्ट्र मन्त्रालय मार्फत औपचारिक पत्राचार गरिसकेको छ ।

ईपीएस मार्फत भाषा परीक्षा पास गरेर पनि दुई वर्षसम्म कोरिया जान नपाएको भन्दै युवाहरू आन्दोलनमा छन् । उनीहरूले विगत केही महिनादेखि ईपीएस शाखा कार्यालय र माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका छन् ।

आन्दोलनरत युवाको मुख्य गुनासो भाषा परीक्षा पास गरे पनि आफ्नो फाइल कोरियाली रोजगारदातासम्म नपुगेको, रोस्टरको म्याद सकिन लाग्दा पनि सरकार गम्भीर नभएको र नयाँ विज्ञापन तथा परीक्षा लिइरहनु अन्यायपूर्ण भएको भन्ने छ ।

ईपीएस दक्षिण कोरिया सरकारले विदेशी कामदारलाई कानुनी, सुरक्षित र पारदर्शी रूपमा रोजगारी दिन सञ्चालन गरेको प्रणाली हो । सन् २००७ देखि नेपाल सहित संसारका १७ देशबाट उही प्रणालीबाट कोरियन भाषा र सिप (स्किल) परीक्षा लिएर कोरियाले कामका लागि लैजाने गरेको छ ।

नेपाल र कोरिया सरकारबीच भएको सम्झौता (जी–टुजी) अन्तर्गत कामदार लैजाने गरिएको छ । यसमा कुनै पनि म्यानपावर कम्पनी तथा व्यक्तिको संलग्नता हुँदैन, दुवै देशका सरकारी संयन्त्रमार्फत कामदार पठाइन्छ ।

यसका लागि कोरियाको श्रम मन्त्रालय मातहत एचआरडी कोरियाले विज्ञापन खुला गर्नेदेखि कामदार छनोट गर्नेसम्मको काम गर्छ । नेपालमा श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले समन्वयको काम गर्छ ।

एचआरडीले नेपालमै कार्यालय स्थापना गरेर भाषा परीक्षा लिनेदेखि पास भएकाहरूको सूची कोरियामा रोजगारदातासम्म पठाउँछ ।

कोरियाले म्यानुफ्याक्चरिङ (उद्योग), एग्रिकल्चर (कृषि), फिसरिज (मत्स्यपालन), कन्स्ट्रक्सन (निर्माण) क्षेत्रमा कामदार लैजाने गरेको छ । सोही अनुसार हरेक वर्ष नेपालमा समेत विज्ञापन आह्वान गरिन्छ र भाषा परीक्षा तथा सिप परीक्षण भएपछि कोरियामा रोजगारीका लागि पठाइन्छ ।

ईपीएस शाखा कार्यालयका निर्देशक टिकाराम ढकालका अनुसार कोरिया जाने कामदारको कोटा निर्धारण, विज्ञापन, परीक्षा, सिप परीक्षण लगायत काम एचआरडी कोरियाले नै गर्छ । यसका लागि ईपीएस शाखाले सहजिकरणको काम मात्रै गरिदिन्छ । अर्थात्, यो प्रक्रियामा नेपाल सरकारको प्रत्यक्ष भूमिका रहँदैन ।

सन् २०२४ मा २०२५ का लागि उत्पादन र कृषि क्षेत्रका लागि विज्ञापन खुलेको थियो । त्यसमा १ लाख ६३ हजारले आवेदन दिएका थिए । त्यसमा बढीमा ५ हजार ३ सय जना कोरिया जान पाउने भनिएको थियो । तर, १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए ।

तीमध्ये अधिकांशको अहिलेसम्म करार सम्झौता समेत नभएका कारण कोरिया जान पाएका छैनन् ।

भाषा परीक्षाको पूर्णाङ्क ४० थियो । तोकिएभन्दा धेरैले ४० पूर्णाङ्कमा ४० नै नम्बर ल्याएर पास भए । पास भएजति सबैलाई लैजाने अवस्था थिएन । बढीमा ५ हजार ३ सय श्रमिक मात्रै कोरिया जान पाउने अवस्था थियो ।

भाषा परीक्षा पास गरेर कोरियाली रोजगारदाताको सूची (रोस्टर) मा परेको दुई वर्षभित्र कोरिया जान सक्नुपर्छ । त्यो अवधिमा जान नसकेको खण्डमा उनीहरू जान पाउँदैनन् । अहिलेको विवाद यही हो ।

भाषा परीक्षा पास गरेर उनीहरूको विवरण रोस्टरमा राखेको दुई वर्ष बित्न लाग्दासमेत जान नपाएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

यसअघि ‘सिप बिल्डिङ’ का लागि आवेदन दिएकाले कृषि र उत्पादन क्षेत्रमा आवेदन दिन नपाउने भन्ने थियो । तत्कालीन समयमा उनीहरूले आन्दोलन गरेका थिए । आन्दोलन चर्किंदै गएपछि प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको थियो ।

त्यसपछि कोरियन सरकार उनीहरूलाई समेत आवेदन दिन तयार भएको थियो । र, उनीहरूले समेत आवेदन दिएपछि आवेदकको संख्या अत्यधिक भएको थियो ।

सरकारको लापरबाही भन्दै आन्दोलनमा

भाषा परीक्षा पास गरेको दुई वर्षसम्म समेत कोरिया जान नपाएको भन्दै उनीहरूले विरोध प्रदर्शन गर्दै आएका छन् । श्रम मन्त्रालयले उनीहरूको समस्या समाधानका लागि कोरिया सरकारसँग पहल गरेको छ । तर, त्यसले सार्थकता पाउन सकेको छैन ।

पास भएर जान नपाएकाहरूले नेपाल सरकारको लापरबाहीका कारण आफूहरू अहिलेसम्म जान नपाएको आरोप लगाउँदै आएका छन् । कोरियामा कामदार पठाउन थप विज्ञापन र परीक्षा लिनुभन्दा पहिले पास गरेका कामदारलाई कोरिया पठाउनुपर्ने उनीहरूको माग छ ।

उनीहरूले रोस्टरको म्याद थप्नुपर्ने, आफूहरूले सेक्टर चेन्ज गरेर जान पाउनुपर्ने र आफूहरूको फाइल रोजगारदातासम्म पुर्‍याउनुपर्ने माग राख्दै आएका छन् । यसअघि एक महिनाअघि आन्दोलन गरेका उनीहरूले १८ पुसमा छलफलपछि आन्दोलन स्थगित गरेका थिए । त्यसअघि समेत उनीहरूले आन्दोलन गर्दै आएका थिए ।

सरकारले फाइल नपठाएको आरोप

आन्दोलनरत युवाले आफूहरूको फाइल नै रोजगारदाता समक्ष नपुग्ने गरेको आरोप लगाउँदै आएका छन् । यो आरोपमाथि निर्देशक ढकालले नेपाल सरकारले फाइल नपठाएको भन्ने आरोप तथ्यगत रूपमा सही नभएको बताए । नेपालतर्फको प्रक्रिया नियमित रूपमा अघि बढिरहेको हुन्छ ।

ईपीएस प्रणालीमा भाषा परीक्षा पास गरेपछि सबैको फाइल रोस्टरमा राखिन्छ । त्यसपछि कोरियाका रोजगारदाताले आवश्यक मापदण्ड (उचाइ, तौल, शिक्षा, लिंग आदि) का आधारमा अनलाइन प्रणालीबाट कामदार छनोट गर्छन् ।

यो प्रक्रिया नाम हेरेर होइन, पूर्ण रूपमा ‘र्‍यान्डम’ (गोलाप्रथा जस्तै) प्रणालीबाट हुने ढकाल बताउँछन् । एक जना कामदार चाहिएको खण्डमा प्रणालीले ३ जनाको प्रोफाइल अगाडि पठाउँछ । तीमध्ये एक जनालाई मात्रै रोजगारदाताले रोज्छ, बाँकी दुई जना फेरि रोस्टरमै फर्किन्छन् ।

यस कारण कसैको फाइल पटक–पटक अगाडि जान सक्छ, कसैको एक पटक पनि नजान सक्छ । फाइल नपठाएको नभई प्रणालीकै विशेषता भएको ढकालको भनाइ छ ।

अन्य ईपीएस सहभागी देशमा १५–२० जनामात्रै पूर्ण अंक ल्याउने अवस्थामा नेपालमा ४० मा ४० अंक ल्याउनेको संख्या धेरै हुन्छ । तर, समान अंक आउने धेरै हुँदा ८–१० हजारसम्म पास गर्नुपर्ने अवस्था आउने गरेको छ । अन्तत: कोटा अनुसार ५ हजारमात्र जाने, बाँकी रोस्टरमै बस्ने गर्छन् ।

ईपीएस प्रणालीमा फाइल अप्रुभ भएको मितिबाट दुई वर्षसम्म मात्र रोस्टर मान्य हुन्छ । यो अवधि कोरियाबाटै निर्धारण हुने भएकाले नेपालले एकल निर्णय गर्न सक्दैन ।

ढकालका अनुसार सन् २०२६ मा करिब ८ हजार ९ सय जनाको रोस्टर म्याद सकिँदै छ, जसमा फेब्रुअरी र मार्च महिनामा ठूलो संख्या छ । तीमध्ये केही जाने सम्भावना रहे पनि सबै जान नसक्ने अवस्था देखिन्छ ।

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?