+
+
Shares

हिउँले ढाकिएको छाङरुमा पहरा दिँदै सशस्त्र

बीओपीले चीनसँगको सीमा क्षेत्रमा गस्ती गर्दै आएको थियो । एक वर्षअघि मात्रै तिङकरमा बीओपी स्थापना भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २२ गते १३:४६

२२ माघ, दार्चुला । कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरू राष्ट्रको सीमालाई सुरक्षित राख्न निरन्तर सक्रिय छन् । भारी हिउँमा बुट गाड्दै अघि बढ्नु सजिलो पनि छैन ।

प्रत्येक पाइला जोखिमसँग जोडिएको छ । चिप्लो जमिन, हिमपहिरोको सम्भावना र शून्य नजिकैको तापक्रमबीच पनि उनीहरूको कदम रोकिँदैन् । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरूस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म पूरै हिउँले ढाकिएको छ ।

चारैतिर सेताम्य पहाड, चिसोले जमेको आँगन र बरफले ढाकिएका छानाबीच सुरक्षाकर्मीको दैनिकी चलिरहेको छ । यस क्षेत्रको तापक्रम माइनस ६ डिग्रीदेखि २३ डिग्री सेल्सियससम्म रहने गरेको छ ।

हाल गुल्म वरपर करिब डेढ फिट हिउँ जमेको छ । गाउँ पूरै सुनसान छ । बादल लाग्ने वित्तिकै हिउँपर्छ । वरिपरि अग्ला पहाड, टाढा टल्किँदै गरेका हिमालका चुचुरा र चिसो हावाले ठोकिरहेको हुन्छ ।

यो कुनै साहसिक यात्राको दृश्य होइन, यो हिमाली सीमामा खटिएका सुरक्षाकर्मीको दैनिकी हो । सशस्त्र प्रहरी यसरी चिसोमा ज्यानको प्रवाह नगरी सीमा सुरक्षार्थ खटिएका छन् । चिसो र हिमपातसँगै एक महिनादेखि पानी ल्याउने पाइप पूर्णरूपमा बरफ बनेका छन् ।

पाइपमा पानी आउनै छोडेपछि तिङ्कर खोलाको पानी प्रयोग गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० का गुल्मपति फनिन्द्र शाहीले बताए ।

पाइपमा पानी बरफ भएपछि त्यहीँ खोलाको पानी पिइरहेका छौँ । गुल्मबाट खोला नजिकै छ । चिसोमा कि खोलाको पानी ल्याएर उमालेर खानु कि हिउँ पग्लाएर खानुबाहेक अर्को विकल्प पनि छैन ।

गुल्मभित्र आगो तापेर शरीर न्यानो बनाउनु यहाँको नियमित काम हो । तापक्रम शून्यभन्दा तल झर्दा हातखुट्टा सुन्निने अवस्था आउँछ । त्यसबीच पनि सशस्त्रको सीमा क्षेत्रको गस्ती रोकिएको छैन ।

प्रहरी नायब उपरीक्षक फनिन्द्र शाही र सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र चैसिरको नेतृत्वमा सुरक्षाकर्मी दिनहुँ जोखिम मोलेर सीमा क्षेत्रमा निगरानी गर्ने गर्छन् ।

उपरीक्षक शाही भन्छन्, ‘यो संवेदनशील क्षेत्र हो । हामी त्रिदेशीय सीमाको सुरक्षामा खटिएका छौँ । कालापानी, लिपुलेक र लिम्पियाधुरा यही क्षेत्रमा पर्छन् । नेपाल–चीन सीमा स्तम्भ नम्बर १ पनि यही छ ।’

राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्ने बेला चिसोमा नियमित ड्युटी हुनु सामान्य जस्तै लाग्छ । छाङरुजस्तो दुर्गम हिमाली क्षेत्रमा सडक यातायात र पूर्वाधारको अभाव अझै ठूलो चुनौती बनेको छ ।

स्थानीय मात्र होइन, यहाँ खटिएका सुरक्षाकर्मी पनि आधारभूत सुविधाबाट बञ्चित छन् । रासन ल्याउनसमेत भारतीय परनिर्भरता अझै छ । नेपालतिर सडक बनेको छैन् ।

नेपाली सेनाले दार्चुला–टिङ्कर सडकअन्तर्गत ब्याँस–४ तुसरपानीदेखि छाङ्गरु जोड्ने गरी सडक निर्माण गरिरहेको छ । नेपालतर्फबाट अहिले सडक निर्माणको काम दुम्लिङमाथि पुगेको छ ।

भारतीय क्षेत्रमा सडक भए पनि हिमपातका कारण हाल अवरुद्ध छ । भारतले कालापानी लिपुलेकसम्मै सडक विस्तार गरेको छ । अहिले एक महिनादेखि यो क्षेत्रमा हिमपात र बरफका कारण नियमित यातायात अवरुद्ध भएको हो ।

भारतीय सुरक्षाकर्मीका लागि भने हेलिकप्टरमार्फत नियमित रूपमा राशन ढुवानी हुने गर्छ । कालापानी क्षेत्रमा दैनिक दुई वटा हेलिकप्टरले सामग्री पुर्‍याउने गरिएको छ ।

उनीहरूको ब्यारेकमा हिटर, न्यानो कपडा र मौसमअनुसारको सुविधा उपलब्ध छ, तर नेपालतर्फ सडक छैन । पैदलमार्ग सञ्चालनमा आए पनि अहिले हिमपातका कारण बन्द छ । हिउँ पर्नुअघि ओसारिएको रासनमै सशस्त्र प्रहरी निर्भर छन् । सामान्य आवतजावत गर्न पनि बाटो नहुँदा त्यसको मारमा सुरक्षाकर्मी परेका छन् ।

‘बुदी दोपाखेसम्म पुग्न नियमित हिउँ पन्छ्याउँदै बाटो खुलाउने प्रयास गरिरहेका छौँ,’ डिएसपी शाहीले भने । सशस्त्र प्रहरीले छाङरुबाट गागा क्षेत्रतर्फ निरन्तर गस्ती गर्दै आएको छ ।

हिउँ कम भएको बेला कालापानी मुहानसम्म पनि नियमित गस्ती हुने गर्थ्यो तर अहिले बाक्लो हिउँ जमेका कारण माथिल्लो क्षेत्रमा पुग्न सम्भव छैन । नेपाल–भारत दुवैतर्फका सुरक्षाकर्मीको सम्बन्ध सौहार्दरुपमा चलेको छ ।

केन्द्रमा कालापानी लिपुलेकबारे चर्को नारा लागे पनि सीमामा बस्ने सुरक्षाकर्मी एक आसपमा सीमा अपराधका सूचना आदानप्रदान र नियमित भेटघाट हुनेगर्छ ।

गत महिना तिङ्करमा रहेको सशस्त्र प्रहरीको बिओपी छाङरूमा झारिएको थियो । तिङ्कर क्षेत्रमा छाङरूभन्दा दोब्बर हिमपात हुने भएकाले सुरक्षाकर्मीलाई तल सारिएको हो ।

उक्त बिओपीले चीनसँगको सीमा क्षेत्रमा गस्ती गर्दै आएको थियो । एक वर्षअघि मात्रै तिङकरमा बिओपी स्थापना भएको थियो ।

मङ्सिर लागेसँगै तिङ्कर गाउँ पूर्ण रूपमा सुनसान छ । तिङ्कर चीनसँग सीमा जोडिएको अन्तिम गाउँ हो । यहाँबाट नेपाल–चीन एक नम्बर सीमा स्तम्भ पर्दछ । छाङरुमा भने केही परिवारको बसोबास अझै छ ।

वडा नं १ का वडाध्यक्ष अशोकसिंह बोहराका अनुसार गाउँको रेखदेखका लागि राइसिंह ऐतवाललाई चौकीदारको जिम्मेवारी दिइएको छ । चोरी–तस्करी जस्ता घटना नहोउन् भनेर वडाले उनलाई छ महिनासम्म मासिक १५ हजार पारिश्रमिक उपलब्ध गराएर राखेको छ ।

भारतसँग सीमा जोडिएको यो गाउँ कालापानीभन्दा करिब १० किलोमिटर तल पर्छ । यति हिउँले ढाकिएको अवस्थामासमेत सुरक्षाकर्मीको मनोवल कमजोर भएको छैन । बरफले ढाकिएको गुल्मभित्र आगो ताप्दै सीमाको रक्षा गर्नु उनीहरूका लागि कर्तव्य मात्र होइन, गर्वको विषय बनेको छ ।

डिएसपी शाही भन्छन्, ‘यो राष्ट्रले दिएको जिम्मेवारी हो । हामी महिनामा कम्तीमा दुई पटक काउन्टरपार्ट बैठक पनि बस्छौँ ।’ २०७७ जेठ ७ गते सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर चुच्चे नक्सा जारी गरेको थियो ।

त्यसपछि असार २९ गते मन्त्रिपरिषद् बैठकले गुल्म स्थापना गर्ने निर्णय गर्‍यो । असोज ९ गते विधिवत् रूपमा छाङरूमा ५० नम्बर गुल्म स्थापना गरिएको हो । भौगोलिक विकटता र कठोर मौसमका कारण यो हिमाली क्षेत्र राज्यका लागि सधैँ चुनौतीपूर्ण र संवेदनशील रहँदै आएको छ ।

तराईको फाँटदेखि हिमालसम्म सशस्त्रको पहरा

दार्चुलाको लेकम गाउँपालिका–३ लालीदेखि भारत–चीन सीमा जोडिएको व्यास गाउँपालिका–१ सम्म सशस्त्र प्रहरी बलले पछिल्लो समय गस्ती र सुरक्षा उपस्थिति विस्तार गरेको छ ।

२०७७ सालसम्म सदरमुकाम खलङ्गामा सीमित रहेको सशस्त्र प्रहरी अहिले लेकमको लालीदेखि ब्यासको तिङ्करसम्म फैलिएको छ । चुच्चे नक्शा प्रकाशनसँगै सीमा क्षेत्रमा युनिट थप गरिएको हो । सरकारले खलङ्गामा ४४ नम्बर गण स्थापना गरी त्यहाँ रहेको ५० नम्बर गुल्मलाई ब्यासको छाङरू–गागा क्षेत्रमा सारिएको थियो ।

दार्चुलामा नेपाल–भारत जोडिएका १० वटा सीमा नाका छन् । महाकाली नगरपालिका–४ खलङ्गा, वडा नं ९ दत्तु, मालिकार्जुन गाउँपालिका–७ जोलजिवी, वडा नं ६ बाकु, लेकम गाउँपालिका–३ लालीमा नेपाल र भारत जोड्ने सिमा नाका छ ।

यसैगरी, व्यास गाउँपालिका–१ सितापुल, वडा नं २ माल, वडा नं ४ सुन्सेरा मलघट्टे, वडा नं ५ तिगरम र वडा नं ६ बडुगाउँमा दुई देश जोड्ने सिमानाका छन् ।

यीमध्ये ब्यास गाउँपालिका–१ सितापुलमा महाकाली नदीमा काठेपुल राखिएको छ भने बाँकी सबै स्थानमा झोलुङ्गे पुल बनाइएको छ । चीनसँग जोडिएको टिङ्कर भञ्ज्याङ लक्षित गरी ब्यास–१ छियालेकमा सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएको छ ।

४४ नम्बर गणका गणपति गुणराज न्यौपानेका अनुसार भारतसँगका १० नाका र चीनसँगको टिङ्कर नाका कभर हुने गरी सुरक्षा युनिट परिचालन गरिएको उनले बताए ।

सीमा क्षेत्र हाल जोलजिवीमा प्रस्तावित सीमा सुरक्षा गुल्म सञ्चालनमा छ भने दत्तु र लालीमा बिओपी स्थापना भइसकेका छन् ।

छाङरूस्थित ५० नम्बर गुल्मअन्तर्गत टिङ्कर छियालेक र राप्लाको दुम्लिङ बिओपी सञ्चालनमा छन् । सशस्त्र प्रहरीका अनुसार दार्चुलामा भारतसँग १९८ किलोमिटर र चीनसँग ७५ किलोमिटर लामो सीमारेखा रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?