News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक गणनाका लागि ५ सय २६ सुपरिवेक्षक र ३ हजार ९ सय ९३ गणक माग गरेको थियो।
- बुधबारसम्म १ लाख १३ हजार ३ सय ५० जनाले आवेदन फारम भरेका छन् र आवेदन अवधि २६ माघ राति १२ बजेसम्म लम्ब्याइएको छ।
- आर्थिक गणना २ वैशाख २०८३ देखि सुरु गरी ७ असारमा सक्ने लक्ष्य राखिएको छ र १८ आर्थिक क्षेत्रका विवरण संकलन गरिने छ।
२२ माघ, काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले माग गरेको आर्थिक गणनाका लागि गणक र सुपरिवेक्षकमा उच्च आकर्षण देखिएको छ ।
करार सेवाबाट खटिने यस कामका लागि कार्यालयले ५ सय २६ सुपरिवेक्षक र ३ हजार ९ सय ९३ गणक माग गरेको थियो । १ माघमा २१ दिनको म्याद राखेर खुला गरिएको दरखास्तमा औसत दैनिक ५ हजार ५ सय २६ का दरले फारम भरेको देखिएको कार्यालयले जनाएको छ ।
बुधबारसम्म १ लाख १३ हजार ३ सय ५० जनाले आवेदन फारम भरेका छन् । कार्यालयले युवाको उच्च आकर्षण केन्द्रित गर्दै दरखास्त पेस गर्ने अवधि समेत थप गरी २६ माघ राति १२ बजेसम्मका लागि लम्ब्याएको छ ।
कार्यालयका अनुसार प्रणालीमा आवेदकको अत्यधिक चाप भएको र सर्भर प्यानलमा समेत ओभर क्राउडका कारण अन्तिम दिनसम्म पनि फारम भर्न नसकेको गुनासो धेरैको आएको थियो ।
सोहीकारण कार्यालयले दरखास्त दिन सकिने अवधि लम्ब्याउनु परेको प्रवक्ता तथा उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेले जानकारी दिए ।
दोस्रो आर्थिक गणनाका लागि तथ्यांक संकलनको काम २ वैशाख २०८३ देखि सुरु गरी ७ असारमा सक्ने लक्ष्य छ । गणनाका बेला आर्थिक क्षेत्रका १८ क्षेत्रका आधारभूत विवरण संकलन गरिने छ । जसमा देशभरि रहेका दर्ता भए, नभएका ठूला साना, व्यापार/प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार प्रतिष्ठानको तथ्यांक संकलन गरिने छ ।
यसैगरी उद्योग, कलकारखाना, व्यापार/व्यवसाय, गैरसरकारी संघसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताल लगायत क्रियाकलाप गरिरहेका एकाइमा गणना सञ्चालन गरिने भएको छ ।
यसमा अन्तर्राष्ट्रिय संघसंस्था, कूटनीतिक नियोग, प्रशासनिक क्रियाकलाप र नियमनकारी कार्य गर्ने सरकारी कार्यालय, सुरक्षा निकाय, सामान्य घरायसी क्रियाकलाप र क्षेत्र भने गणनामा समावेश नगरिने समेत कार्यालयले स्पष्ट पारेको छ ।
प्रतिक्रिया 4