२२ माघ, काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीले कसैसँग चुनावी तालमेल नगर्ने निर्णय पार्टी-पंक्तिमा सर्कुलर गरेको छ ।
केन्द्रीय निर्वाचन परिचालन समितिको भर्चुअल बैठक राखेर संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधवकुमार नेपालले एक्लै चुनाव लड्ने निर्णय सुनाएका हुन् ।
‘चुनावमा तालमेल हुँदैछ, गठबन्धन हुँदैछ । निर्वाचन क्षेत्र तोकेर सहकार्य हुँदैछ भन्ने हल्ला चलेपछि आज भर्चुअल बैठक राखिएको थियो,’ नेकपा स्रोतले भन्यो, ‘२५ सय बढी नेताहरू जोडिएको भर्चुअल बैठकबाट प्रष्ट पारिएको छ– यसपटक कसैसँग तालमेल हुँदैन ।’
विगतका चुनावी तालमेल र त्यसबाट पार्टीले गुमाउनु परेका पक्षहरूबारे प्रचण्डले लामै सम्बोधन गरेका थिए । ‘कहिले कांग्रेससँग तालमेल गरियो । कहिले एमालेसँग गरियो । यसले हाम्रो शक्ति कति हो भन्ने बुझ्न सकिएन,’ प्रचण्डले भनेका थिए, ‘यसपटक कसैसँग तालमेल हुँदैन ।’
शान्ति, संविधान र गणतन्त्रका सवालमा सहयात्रा हुन सक्छन् भन्ने आफ्नो अभिव्यक्तिलाई गलत ढंगले प्रचार गर्न खोेजिएको पनि प्रचण्डले बताएका थिए । ‘परिवर्तनका एजेण्डामा, व्यवस्था जोगाउने एजेण्डामा सहयात्रा गर्छौं भन्ने कुरा हो,’ उनले भने, ‘तर चुनावी तालमेल अथवा गठबन्धन गर्न गइरहेका छैनौं ।’
अतिवादी शक्तिहरूसँग सहकार्य गर्नु अहिलेको राजनीतिक कोर्स नभएको समेत प्रचण्डले बताए । ‘हिजो दुई तिहाइको दम्भ देखाउने केपी ओली एउटा अति हो,’ प्रचण्डले व्याख्या गरे, ‘नीति, कार्यक्रम र गन्तव्य समेत प्रष्ट नभइ हिंडेका अर्को शक्ति पनि अति नै हो । त्यसैले दुवै अतिवादसँग हाम्रो चुनावी तालमेल हुँदैन ।’
नेकपा एक्लैले बहुमत ल्याउने पनि प्रचण्डले बिफ्रिङ गरेका थिए । हिजो सरकारमा हुँदा आफूले गरेको काम र अतिवादी शक्तिहरूबाट मुलुकलाई जोगाउनुपर्ने दायित्व बुझेका जनताले नेकपालाई बहुमत दिने प्रचण्डले विश्लेषण सुनाएका थिए ।
‘सरकारको नेतृत्व गर्दा हामीले भ्रष्टाचारविरुद्ध कदम चालेका थियौ । सामाजिक न्याय र सुशासनको प्रत्याभूति दिलाउँदै थियो,’ प्रचण्डले भने, ‘भ्रष्टाचारविरुद्ध अभियान चलाएकै कारण हामीलाई सरकारबाट हटाएर कांग्रेस–एमालेले दुई तिहाइको दम्भ देखाउन थालेको जनताले बिर्सिएका छैनन् ।’
संगठनात्मक रुपमै पनि नेकपालाई अब कुनै शक्तिसँग तालमेलको खाँचो नरहेको निष्कर्ष प्रचण्डले सुनाएका थिए । प्रचण्डको निष्कर्षसँग समान मत राखेका माधव नेपालले पनि कसैसँग तालमेल नहुने बताएका छन् ।
‘२४ वटा समूहसँग एकता भइसक्यो, संगठनात्मक हिसाबले बलियो भयौं । जनमत र एजेण्डा पनि हामीसँगै छ, त्यसैले तालमेल वा गठबन्धनको अलमलमा कोही पनि नबसौं,’ प्रचण्ड र माधवले नेताहरूलाई प्रष्ट पारेका थिए ।
दुवै नेताले तालमेलको अलमलमा बस्नुभन्दा पार्टीको चुनाव चिन्ह चिनाउने अभियानलाई तीव्र पार्न निर्देशन दिएका छन् । ‘विगतमा हाम्रा आ–आफ्नै चिन्ह थिए । यसपटक तारा लिएर मतदातामाझ जाँदैछौं, यतातिर धेरै फोकस गर्नुपर्छ भन्ने निर्देशन दिनुभयो,’ एक सहभागीले भने ।
नेकपाको केन्द्रीय परिचालन समितिमा सबै केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज, संगठन संगठनका प्रमुखहरू, आयोगका सदस्यहरू लगायत छन् ।
प्रतिक्रिया 4