+
+
Shares

बागमती प्रदेशका सडकमा पहिरो रोक्न दिगो समाधान खोजिंदै

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २४ गते ८:५४

२४ माघ, हेटौंडा । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रादेशिक सडकलाई पहिरोमुक्त बनाउन ‘प्रकृतिमा आधारित समाधान’को खोजी थालेको छ ।

मन्त्रालयले हेटौंडा-काठमाडौं जोड्ने छोटो मार्गलाई प्राथमकितामा राखेर विशेष अध्ययन सुरु गरिसकेको छ । काठमाडौंलाई प्रदेश राजधानीसहित तराईका जिल्लासँग जोड्ने छोटो मार्ग (भीमफेदी-कुलेखानी-सिस्नेरी-फर्पिङ खण्ड) पहिरोको उच्च जोखिममा छ ।

सडकहरुमा बर्सेनि आउने पहिरो र भू–क्षयका कारण मावनीय क्षति सँगै यात्रुहरु अलपत्र पर्नुपर्ने समस्या छ । जसका लागि बागमती प्रदेश सरकारले वैज्ञानिक र दिगो उपायको खोजी थालेको हो । मन्त्रालयले इन्जिनियरिङ अध्ययन संस्थान, सेन्टर फर डिजास्टर स्टडिज पुल्चोकसँग मिलेर अध्ययनलाई अगाडि बढाएको छ ।

हेटौंडा-काठमाडौं जोड्ने छोटो दूरीको मार्गलाई पहिलो प्राथमिकतामा राखेर अध्ययन सुरु गरिएको मन्त्रालयले जनाएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाका अनुसार चालु आर्थिक वर्षभित्रै हेटौंडा-कुलेखानी-सिस्नेरी-काठमाडौं सडक खण्डको विस्तृत अध्ययन गरिनेछ । उक्त सडक खण्डमा पहिरोको उच्च जोखिम रहेका भैंसे र दउराली सडक खण्ड छनोट गरी वैज्ञानिक अध्ययन अघि बढाइएको देवकोटाले जानकारी दिए ।

‘हामी स्थानीय भूगोल र भूगर्भलाई सुहाउँदो प्रविधिको प्रयोग गर्दैछौँ’, मन्त्री डा. देवकोटाले भने, ‘यसमा जैव-इन्जिनियरिङ, पारिस्थितिक प्रणालीमा आधारित समाधान र वर्षाको पानी व्यवस्थापनजस्ता प्राकृतिक उपायहरु अपनाइनेछ ।’ उनले यस अध्ययन कार्यमा विभिन्न विधाका विषय विज्ञहरुसहित सिभिल इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका ४ जना विद्यार्थीलाई ‘ग्राजुएट स्टुडेन्ट फेलोसिप’ अन्तर्गत सहभागी गराइने बताए ।

निर्देशिका बनाएर अनिवार्य लागू गरिने

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाले सडक मर्मत र संरक्षणका लागि स्पष्ट निर्देशिका अत्यावश्यक रहेको औंल्याए ।

‘बाढी-पहिरोजस्ता जोखिम न्यूनीकरण, दिगो पूर्वाधार विकास र समुदायको जीविकोपार्जनलाई एकसाथ सम्बोधन गर्न प्रकृतिमा आधारित समाधान सम्बन्धी निर्देशिकाले ठूलो मद्दत गर्नेछ । यो निर्देशिका तयार भएपछि प्रदेशमा निर्माणाधीन र भविष्यमा बन्ने सबै सडकको मर्मत-सम्भार तथा व्यवस्थापनमा यसलाई अनिवार्य रुपमा लागू गरिनेछ’, उनले भने ।

जलवायु परिवर्तन र प्राकृतिक विपद्को जोखिम बढिरहेको सन्दर्भमा यो अध्ययन कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको उनको भनाइ छ । यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक नवीनकुमार सिंहका अनुसार प्रदेशका विभिन्न जिल्लामा भिरालो जमिनको अस्थिरताका कारण पहिरो जाने, जमिन भासिने र माटो कटान हुने समस्या विकराल बनेपछि दिगो पूर्वाधार निर्माणका लागि ‘कम खर्चिलो र वातावरणमैत्री’ उपाय खोज्न यो कदम चालिएको हो ।

निर्देशक सिंहले भने, ‘यो सहकार्यको मुख्य उद्देश्य विज्ञहरुको अनुभव र सिकाइका आधारमा बागमती प्रदेशको भूगोल-अनुकूल ‘प्रकृतिमा आधारित समाधान’को निर्देशिका तयार गर्नु हो ।’ यसका लागि निर्देशनालय र इन्जिनियरिङ अध्ययन संस्थानबीच समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।

समझदारी पत्रमा निर्देशनालयका निर्देशक सिंह र विपद् अध्ययन केन्द्रका निर्देशक डा. बसन्तराज अधिकारीबीच हस्ताक्षर भएको हो । यस अध्ययनबाट प्राप्त मार्गदर्शनले प्रदेशको पूर्वाधार विकासमा दीर्घकालीन र सकारात्मक प्रभाव पार्ने विश्वास मन्त्रालयले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?