२६ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरमा रहेको एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा हानेको छ ।
राजस्व छलीको सूचनापछि छापा हान्दा व्यापारी र सुरक्षाकर्मीबीच झडप भएको छ । झडपमा तीनजना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा बल, वीरगञ्ज भन्सारमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीका अनुसार सशस्त्रसहितको टोली विशेष सूचनाका आधारमा आदर्शनगरमा प्रमोद कुमार कानुले सञ्चालन गरेको ‘बबिता इन्टरप्राइजेज’ को गोदाममा पुगेको थियो ।
टोलीले खानतलासी सुरु गर्नासाथ स्थानीय व्यापारीहरूले कडा विरोध जनाएका थिए । व्यापारीहरूले आफूहरूसँग सामानको स्पष्ट बिलबिजक रहेको दाबी गर्दै विनाकारण दु:ख दिइएको आरोप लगाएका छन् । बिल देखाउँदा समेत सामान नियन्त्रणमा लिन खोजिएपछि अवस्था तनावग्रस्त बन्दै गएको व्यापारीहरूको भनाइ छ ।
आक्रोशित व्यापारीहरूको समूहले सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा गरेपछि झडपको अवस्था सिर्जना भएको सशस्त्र प्रहरीले जनाएको छ । ढुङ्गा प्रहारका कारण सशस्त्र प्रहरीले प्रयोग गरेको गाडीको अगाडिको सिसा फुट्नुका साथै तीनजना सशस्त्र प्रहरी कर्मचारी सामान्य घाइते भएका छन् ।
छापामारीका क्रममा सशस्त्र प्रहरीले गोदामबाट ५ पोका साडी, कुर्ता-सुरुवाल लगायतका कपडाका सामग्री नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको सामानको मूल्य करिब ५ लाख रुपैयाँ बराबर रहेको भएपनि सामानको विस्तृत विवरण र यकिन परिमाण भने हालसम्म सार्वजनिक गरिएको छैन ।
अहिले सामानको लगत संकलन गर्ने र मुचुल्का उठाउने काम भइरहेको छ । गोदाम कसको हो र सामान वैध हो वा होइन भन्ने विषयमा पनि थप अनुसन्धान जारी रहेको नायव उपरीक्षक अधिकारीले जानकारी दिए । घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रतिक्रिया 4