२७ माघ, काठमाडौं । निर्वाचन आयोगले प्रत्येक निर्वाचनको समयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने गर्दछ । यसपटक पनि मतदाता शिक्षालाई प्रभावकारी बनाउने गरी नीति बनाएर अगाडि बढाइएको बताउँछन् आयोगका सूचना अधिकारी सुमन घिमिरे ।
उनी भन्छन्, ‘मतदाता शिक्षालाई प्रभावकारी बनाएर यसको जुन उदेश्य छ त्यस उदेश्य हासिल गर्नका लागि आयोगले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दछ ।’
सूचना अधिकारी घिमिरेका अनुसार आगामी २१ फागुनमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका २०७८ को दफा १७ बमोजिम मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत गरिसकेको छ ।
मतदाता शिक्षा विशेष कार्यक्रम बमोजिम दुई तरिकाले मतदाता शिक्षा प्रदान गरिनेछ ।
पहिलो : स्थानीय तहका सबै वडाहरूमा एक/एक् जना स्वयम सेवक खटाइएको छ । स्वयम सेवकहरूले घर घरमा पुगेर मतदता शिक्षा प्रदान गर्नेछन् । कसरी मतदान गर्ने, कसरी मतदान गर्दा बदर हुँदैन भनेर सन्देश प्रवाह गर्नेछन् ।
यसलाई आयोगले अन्तरक्रियात्मक मतदाता शिक्षा कार्यक्रम भनेको छ । यो कार्यक्रम फागुन ३ गतेदेखि फागुन १७ गतेसम्म सञ्चालन हुनेछ ।
दोस्रो : आम सञ्चार माध्यम र सामाजिक सञ्जालबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन । कसरी मतदान गर्ने भनेर जानकारी दिने र यस सम्बन्धी सञ्चार मामग्री तयार गरेर सार्वजनिक गर्ने नीति आयोगको छ ।
यो कार्यक्रम अन्तर्गत प्रख्यात युटुबर, बढी फलोअर्स भएका टिकटकर, कलाकार र अन्य सामाजिक संघ संस्थामा प्रवुद्ध व्यक्तिहरूसँग समेत छलफल गर्ने र उनीहरूमार्फत मतदाता शिक्षाजन्य सामग्री सम्प्रेषण गर्ने गरी आयोगले तयारी गरेको छ ।
प्रतिक्रिया 4