२८ माघ, काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरले सामाजिक सञ्जालमा विपक्षी दलका उम्मेदवारको पक्षपोषण हुने गरी अभिव्यक्ति नदिन नेता-कार्यकर्ताहरूलाई निर्देशन दिएको छ ।
कांग्रेस कञ्चनपुरले बुधबार विज्ञप्ति जारी गरेर पार्टीका उम्मेदवारहरू बाहेकका अन्य उम्मेदवारहरूको पक्षपोषण हुने गरी कुनै पनि किसिमका अभिव्यक्ति नदिन निर्देशन दिएको हो ।
‘पार्टीका उम्मेदवारहरू बाहेकका अन्य उम्मेदवारहरूको पक्षपोषण हुने गरी कुनै किसिमका अभिव्यक्ति नदिन, सामाजिक सञ्जालमा पोष्ट, कमेन्ट र लाइक तथा कुनै पनि प्रचार–प्रसारजस्ता कार्यहरू नगर्न र कुनै किसिमका अभिव्यक्ति नदिन हुन निर्देशानुसार अनुरोध गरिन्छ,’ सचिव भीम भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
कांग्रेस कञ्चनपुरले नेता–कार्यकर्ताहरूलाई उम्मेदवारको पछि नलागेर आ–आफ्नो वडामा केन्द्रित भएर सक्रिय हुन पनि अनुरोध गरेको छ । आवश्यकता परेर अन्यन्त्र वडा क्षेत्रमा जानु पर्ने भए पार्टीलाई जानकारी गरएर मात्रै जान पनि भनिएको छ ।
‘आ-आफ्नो टोल वडा छोडेर उम्मेदवारको पछि–पछि लाग्ने परम्पराले स्थानीयबासीसँग छलफल, विचार आदानप्रदान तथा सहजीकरण कार्यमा असहजता उत्पन्न हुन जाने भएकाले आ–आफ्नो वडामा केन्द्रित भै सक्रिय हुन समस्त पार्टीका साथीहरुलाई अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आवश्यकता परी अन्यन्त्र वडा क्षेत्रमा जानु पर्ने भएमा पार्टीको सम्बन्धित सचिवालयलाई जानकारी गरी मात्र जान हुन अनुरोध गरिन्छ ।’
विज्ञप्तिमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउनका लागि पार्टीका सबै तहका नेता–कार्यकर्ताहरूलाई आ–आफ्नो टोल, वडामा सकिय रूपमा परिचालन भएर पार्टीका पक्षमा जनमत सिर्जना गर्न पनि अनुरोध गरिएको छ ।
प्रतिक्रिया 4