News Summary
Generated by OK AI. Editorially reviewed.- स्याङ्जाको वालिङमा लोकप्रिय सांगीतिक समूह कन्दराले ९औँ वालिङ महोत्सवअन्तर्गत ८ हजारभन्दा बढी दर्शकसामु भव्य कन्सर्ट दिएको छ।
- कन्सर्टमा मुख्य गायक विवेक श्रेष्ठले बाल्यकालका स्मृतिसँग जोडिएको प्रस्तुति दिएका छन् र प्रदूषणविरुद्ध 'प्लानेट ओभर प्लास्टिक' अभियानको आह्वान गरेका छन्।
- कार्यक्रमले वैदेशिक रोजगार र पलायनको संवेदनशील विषय उठाउँदै स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
वालिङ । लोकप्रिय सांगीतिक समूह ‘कन्दरा’ ले स्याङ्जाको वालिङमा केही दिनअघि भव्य प्रस्तुति दिएको छ । यो कन्सर्टलाई ब्याण्डले संगीत, स्मृति र सामाजिक चेतनाको प्रस्तुति भनेको छ ।
वालिङ उद्योग वाणिज्य संघद्वारा आयोजित ९औँ वालिङ महोत्सव अन्तर्गतको कन्सर्टमा ८ हजारभन्दा बढी दर्शक सहभागी रहे । दुई घण्टा चलेको कन्सर्टमा दर्शक ९० दशकको लोकप्रिय ब्याण्डसँगै एकसाथ गुञ्जिए ।
ब्याण्डका मुख्य गायक विवेक श्रेष्ठको लागि वालिङ कन्सर्ट सांगीतिक कार्यक्रम मात्र थिएन । यससँग उनको बाल्यकालिन स्मृति गाँसिएको थियो । बाल्यकालका स्वर्ण स्मृति गाँसिएको थलोमा प्रस्तुति दिनु विवेकको लागि सपना थियो ।
वालिङ कन्सर्टलाई उनले सपना पूरा भएको अर्थमा लिएका छन् । त्यहाँकै विद्यालयमा अध्ययनरत सामान्य बालकदेखि राष्ट्रियस्तरमा परिचित संगीतकर्मी बन्ने उनको यात्रालाई उनका पूर्वशिक्षक एलबी ज्वारचनले कन्सर्टमा स्मरण गरे । कक्षाकोठामा थाल ठटाउँदै गीत गाउने विवेकको बाल्यकालीन झल्कोले दर्शकदीर्घामा आत्मीय भावनाको तरंग ल्यायो ।
संगीतसँगै कन्सर्टले सामाजिक उत्तरदायित्वको स्पष्ट सन्देश पनि बोकेको थियो । विवेकले दर्शकलाई ‘प्लानेट ओभर प्लास्टिक’ रोज्न आह्वान गर्दै स्थानीय तहमा बढ्दो प्रदूषणप्रति चिन्ता व्यक्त गरे । वातावरणमैत्री कन्सर्ट र जिम्मेवार नागरिक चेतनालाई प्रवद्र्धन गर्ने कन्दराको ‘सोसल इम्प्याक्ट इन्टरटेनमेन्ट इनिसिएटिभ’ अन्तर्गत यो सन्देश प्रवाह गरिएको हो।

कार्यक्रमले वैदेशिक रोजगार, पलायन र पहिचानको संवेदनशील विषयलाई पनि गहिरो रूपमा उजागर गर्यो । ‘कन्दरा’ को चर्चित गीत ‘हङकङ पोखरा’ ले धेरै दर्शकलाई भावुक बनायो । सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै विदेशमा बसोबास गर्दै आएका दर्शकले यो गीत रोजगारीका कारण देश छोड्नुपर्ने लाखौँ नेपालीको यथार्थ कथा भएको बताएका छन्, जहाँ विदेश जानु चाहना होइन, बाध्यता बन्ने गरेको छ ।
‘पहिला घरदेश अनि परदेश’ कन्सर्टको अवधारणामार्फत ब्याण्डले स्वदेशमै सीपमूलक रोजगारीका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता र दिगो आर्थिक विकासप्रति सरोकारवालाको ध्यानाकर्षण गराएको छ, जसले बाध्यतामा पलायन हुनुपर्ने आवश्यकता घटाउन सहयोग पुर्याउन सक्छ ।
कार्यक्रमको एक अत्यन्त मार्मिक क्षण त्यतिबेला देखियो, जब विवेकसँगै गीत गाउने भनिएको एक युवा अन्तिम समयमा स्टेजमा आउन डराएर स्टेजमा उक्लिन सकेनन् । यो घटनाले बाल तथा युवा प्रतिभालाई प्रोत्साहन, मार्गदर्शन र आत्मविश्वास कति आवश्यक छ भन्ने सन्देश दिएको ब्याण्डले जनाएको छ ।
यही उद्देश्यका साथ कन्दराले सञ्चालन गरिरहेको ‘सपनाको स्टुडियो’ पहलमार्फत विद्यालयस्तरका बालबालिका तथा युवालाई मञ्चको अनुभव र आत्मविश्वास दिलाउने प्रयास भइरहेको जनाइएको छ । यो क्षणले धेरैलाई सम्झायो, आजका विवेक पनि कुनैबेला वालिङकै सानो सपनाले भरिएको बालक थिए ।
बाल्यकाल बिताएको करिब साढे ३ वर्षदेखि ११ वर्षसम्मको अनुभव सम्झँदै गायक श्रेष्ठले भावुक अनुभूति बाँडे । त्यो बेला वालिङ शुद्ध, प्राकृतिक र शान्त वातावरण भएको ठाउँ थियो, जहाँ बाल्यकालका दिनहरू संगीत र सपनाले भरिएको उनले सम्झिए । तर आज, बस्ती विकास र प्राकृतिक स्रोतको दुरुपयोग र दोहनसँगै वातावरणमा प्लास्टिकको बढ्दो प्रयोगले आफूलाई दुःख लागेको उनले चिन्ता जनाए ।
२०१६ सालमा आफूले त्यही ठाउँमा केही गीत गाएर जम्मा गरेको रकम आफ्नै विद्यालयमा दान गरेको सम्झँदै विवेकले त्यही ठाउँमा आफ्नै ब्यान्डसहित पहिलो ठूलो कन्सर्ट गर्दा आफ्नो संगीत यात्राको सपना पूरा भएको अनुभव व्यक्त गरे ।



प्रतिक्रिया 4