२९ माघ, सल्यान । कर्णाली प्रदेशमा पर्यटनका प्रचुर सम्भावना बोकेका सयौँ स्थलहरू छन । भौगोलिक रूपमा विकट मानिए पनि धार्मिक, प्राकृतिक र सांस्कृतिक हिसाबले कर्णाली अत्यन्तै धनी प्रदेश हो ।
आफ्नै सम्भावनाको सुगन्ध छाडेर अवसर खोज्दै भौँतारिनु परेको विगत बोकेको यो प्रदेश अहिले भने विस्तारै समृद्धिको काँचुली फेर्ने दिशामा अघि बढिरहेको छ ।
ओझेलमा परेका धेरै पर्यटकीय स्थलहरूमा पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दो छ । रारा, शे–फोक्सुण्डोजस्ता विश्वप्रसिद्ध तालहरू मात्र होइन, सल्यानको कुपिण्डे ताल पनि अहिले प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।
प्रदेश राजधानी सुर्खेतबाट करिब साढे एक घण्टाको मोटर यात्रामा पुग्न सकिने कुपिण्डे ताल पछिल्लो समय आन्तरिक पर्यटकको विशेष रोजाइ बनेको छ । बढ्दो प्रचारप्रसारका कारण यहाँ दैनिक सयौँ पर्यटक घुमफिर र वनभोजका लागि पुग्ने गरेका छन ।

नेपाल सरकारले सार्वजनिक गरेको ‘घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्य’को सूचीमा समेत समेटिएको कुपिण्डे ताल सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा अवस्थित छ ।
जिल्ला सदरमुकाम खलंगाबाट पश्चिमतर्फ २९ किलोमिटर दूरीमा रहेको यो ताल स–साना पहाडी थुम्का र हरिया वनजंगलले घेरिएको छ ।
वनजंगलको बीचमा निलो आकाशजस्तै तैरिएको देखिने कुपिण्डे तालको रंग हरेक वर्षको वर्षा, हिउँद र गर्मीयाममा गरी तीन पटक फेरिने स्थानीय बताउँछन् । यहाँ डुङ्गा सयरपछि स्वर्गीय अनुभूति हुने पर्यटकहरूको अनुभव छ ।
प्रदेश राधानी जोड्ने खलंगा–बालुवासंग्रही सडकखण्डको स्तरोन्नतिले पूर्णता पाए यहाँको यात्रा अझ सहज हुने अपेक्षा गरिएको छ । २०७७ सालमा प्रदेश सरकारको १८ करोड लागतमा कालोपत्रे काम सुरु भए पनि निर्माण कम्पनीको ढिलासुस्तीका कारण अझै सम्पन्न हुन सकेको छैन ।
तालको किंवदन्ती
किंवदन्ती अनुसार, हाल कुपिण्डे ताल रहेको स्थानमा पहिले ठूलो बस्ती थियो । एक दिन एक साधु बासको खोजीमा गाउँ आए तर कसैले आश्रय दिएन । अन्तत: एक वृद्ध महिलाको घर पुगेपछि उनले बास पाउने अनुमति पाए ।
साधुले भोलिपल्ट आफू कैलुबराह भएको परिचय दिँदै गाउँलेहरूको ‘पाप’का कारण बस्ती डुबाउने चेतावनी दिए । वृद्ध महिलालाई नजिकको पहाडतर्फ फर्केर नहेरी जान भने । तर चुचुरोमा पुगेर उनले पछाडि फर्केर हेर्दा पूरै गाउँ पानीले भरिएको ताल बनेको देखिन ।

पहिलोपट गरिएको वैज्ञानिक अध्ययनले देखायो महत्व र जोखिम
बनगाड कुपिण्डे नगरपालिकामा रहेको कुपिण्डे तालको पहिलोपटक वैज्ञानिक रूपमा गहिराइ र जलधारण क्षमताको अध्ययन गरिएको छ । फरेस्ट्री जर्नलमा प्रकाशित अनुसन्धानअनुसार तालको अधिकतम गहिराइ ३७ मिटर रहेको पुष्टि भएको छ ।
त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा. सुदिप ठकुरी, मध्यपश्चिम विश्वविद्यालयका उप–प्राध्यापक डा. पुष्पराज आचार्य तथा माधव अधिकारीको टोलीले सन् २०२३ मा अध्ययन गरेको हो ।
समुद्री सतहबाट १,१६० मिटर उचाइमा रहेको तालको क्षेत्रफल ०.२५ वर्ग किलोमिटर छ भने करिब ६१ लाख ४० हजार घनमिटर पानी सञ्चित रहेको अध्ययनले देखाएको छ ।

तर अध्ययनले चिन्ताजनक तथ्य पनि उजागर गरेको छ । सन् २००९ र २०२४ बीचको तुलनात्मक अध्ययनले जलाधार क्षेत्रमा वनजंगल घट्दै र उजाड भूभाग बढ्दै गएको देखाएको छ । यसले तालको दीर्घकालीन संरक्षणमा गम्भीर चुनौती थपिने संकेत गरेको छ ।
प्राकृतिक सौन्दर्य, जैविक विविधता र पर्यटन सम्भावनाले भरिपूर्ण कुपिण्डे तालको वैज्ञानिक अध्ययनले यसको महत्व थप उजागर गरेको छ । अब आवश्यक छ यस अमूल्य सम्पदाको संरक्षण, दिगो व्यवस्थापन र योजनाबद्ध पर्यटन प्रवर्द्धन । यी पक्षमा गम्भीर ध्यान दिन सके समग्र सल्यान संगै कर्णालीको समृद्धि यात्रा तीव्र बन्न सक्छ ।














प्रतिक्रिया 4