+
+
Shares

निर्वाचन नजिकियो, छैन सेयर बजारमा रौनक 

सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन तय गरेको छ । सोही अनुसार राजनीतिक दलका नेता तथा कार्यकर्ता पनि गाउँगाँउ खटिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ४ गते १५:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन तय गरेको छ र राजनीतिक दलका नेता तथा कार्यकर्ता चुनावी प्रचारमा खटिएका छन्।
  • निर्वाचन नजिकिएसँगै सेयर बजारमा लगानी बिक्री बढेको र कारोबार घटेको छ, नेप्से सूचक ८.१६ अंकले घटेर २६६२.१० बिन्दुमा झरेको छ।
  • सोमबार नेप्सेमा १ सय ६३ कम्पनीको सेयर मूल्य घटेको र ८६ कम्पनीको मूल्य बढेको छ भने कुल कारोबार रकम ७ अर्ब ९४ करोड रहेको छ।

४ फागुन, काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन मिति नजिकिए सँगै सेयर बजारमा पनि रौनक घट्न थालेको छ । राजनीतिक दलका नेता तथा कार्यकर्ता चुनावी प्रचार प्रसारमा खटिएसँगै सेयर बजारमा पनि त्यसको असर देखिन थालेको हो ।

सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन तय गरेको छ । सोही अनुसार राजनीतिक दलका नेता तथा कार्यकर्ता पनि गाउँगाँउ खटिएका छन् ।

सेयर बजारमा भएको लगानी समेत बिक्री गरेर चुनावमा होमिएपछि त्यसको असर सुस्तरी सेयर बजारमा देखिएको छ । सेयर बजारमा कारोबार पनि कम भएको बताउँदै एक ब्रोकरले निर्वाचन लागेकाले बजारमा रौनक नभएको बताए ।

‘सेयर खरिदभन्दा पनि चुनावले होला, बिक्री चाप बढाएको छ,’ ती ब्रोकरले भने,‘ निर्वाचन अघि बजार सकारात्मक हुने सम्भावना कमै छ ।’

निर्वाचनपछि आउने नतिजाका आधारमा धितोपत्र बजारले प्रतिक्रिया दिने समेत उनको बुझाइ छ ।

फागुन महिना सुरु भएपछिको पहिलो दिन खुलेको सेयर बजार सूचक घटेको छ । गत साता बिहीबार करिब ८ अंक बढेको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचक सोही अनुपातमा घटेको हो ।

सोमबार कारोबार सुरु भएदेखि घट्न थालेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु हुँदा हुँदा २६७१.०७ अंकमा रहेको नेप्से सूचक ८.१६ अंक घटेर २६६२.१० बिन्दुमा झरेको छ ।

नेप्सेमा कारोबार भएका धेरै कम्पनीको सेयर मूल्य घटेको छ । त्यसले गर्दा पनि बजार सूचकमा सुधार आउन नसकेको हो । नेप्सेमा यस दिन १ सय ६३ कम्पनीको सेयर मूल्य घटेको छ ।

त्यसैगरी ८६ कम्पनीको सेयर मूल्य बढेको छ । यस दिन नेप्सेमा कारोबार भएका ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन नआएको नेप्सेले जनाएको छ । सोमबार रिलायन्स स्पिनिङ मिल्स, बुद्धभूमि हाइड्रोपावर र सालपा विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

सोमबार नेप्सेमा कारोबार भएका धेरै समूहगत परिसूचक घटेका छन् । यस दिन बैंकिङ ०.७६, विकास बैंक २६.६६, जलविद्युत् ३६.७३, लगानी ०.६३, जीवन बीमा ५८.०५, लघुवित्त ११.४२, सामूहिक लगानी कोष ०.०४, निर्जीवन बीमा ५१.१३, अन्य १.७३ र व्यापार २५.५७ अंक घटेका छन् । तर, सोमबार नेप्सेमा वित्त १३.७९, होटल ३१.६३ र उत्पादनमूलक ४४.८३ अंक बढेका छन् ।

सोमबार नेप्सेमा ३ सय ३५ कम्पनीको ८० हजार ५ सय ५९ कारोबारबाट १ करोड ९६ लाख १६ हजार ३ सय ९५ कित्ता सेयर ७ अर्ब ९४ करोडमा खरिद–बिक्री भएको छ ।

यो कारोबार रकम गत साता बिहीबारको तुलनामा थोरै हो । बिहीबार नेप्सेमा १० अर्बभन्दा धेरैको सेयर किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?