+
+
Shares

नेता ‘कान्ट डान्स साला’ !

उसो त नृत्यकलामा प्रचण्डलाई कम आँक्ने छुट भने कसैलाई छैन । उनले ‘भेराइटी–भेराइटी’का नाचमा आफ्नो जादू देखाएका छन् ।

शिव मुखिया शिव मुखिया
२०८२ फागुन ६ गते ११:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रचण्डले विभिन्न लोकनृत्य शैलीहरूमा पनि आफ्नो नृत्यकला देखाएका छन्, जसमा थारु र देउडा नृत्य समावेश छन्।

दायाँ र बायाँ हातका औंलाहरू थोरै फिजाउनुहोस् । ती औंलाहरू एकअर्काको माझमा छिराउनुहोस्, बाहेक बुढीऔंला । यसरी गाँठो परेका हातहरूलाई आफ्नो उदरस्थ अर्थात् पेटमा लगेर अड्याउनुहोस् । हेक्का राख्नुहोस्, यतिबेला तपाईंका बुढी औंलाहरू नाभीको ठीक माथितिर हुनुपर्छ । पेट फुलाउनुहोस्, टाउकोलाई आंशिक ढल्काउनुहोस्, ओठ टप्प टाँस्नुहोस् । अनि बुढी औंलाहरू वृत्ताकार घुमाउँदै कुम हल्लाउनुहोस् ।

बस् ! यही हो, प्रचण्डको सिग्नेचर स्टाइल ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’को यो नृत्य शैलीमा बालेन्द्र शाह (बालेन) पनि पारंगत छन् । र्‍याप मात्र हान्ने बालेनले त दुरुस्तै नाचिदिन सक्छन्, तपाईं के कम ?

बिहे, भोज, पार्टी वा कुनै रमझममा फिटिक्कै नाच्न आउँदैन भने यही शैली अपनाउनुहोस् । प्रचण्ड शैली नृत्यले तपाईंको शाख जोगाइदिन सक्छ। किनभने यसका लागि शरीरका अवयवहरू गीतको भाकामा लयबद्ध हुन जरुरी छैन । हातपाउको गति, अनुहारको मुद्रा र ओठको चालसँग संयोजन गर्न जरुरी छैन । भावभंगीमा नवरस अभिव्यक्त गर्न जरुरी छैन । केवल भाते भुँडी हल्लाइदिए पुग्छ । टाउको झुकाइदिए पुग्छ। बुढीऔंला घुमाइदिए पुग्छ ।

तर, यहाँ के ठोकुवा गर्न खोजिएको होइन कि– प्रचण्डलाई नाच्नै आउँदैन । उहिले अभिनेत्री रेखा थापासँग जिउ मर्काएर उनले आफ्नो नृत्यकला पेश गरिसकेका छन् । जिन्स र ज्याकेटमा ठाँटिएकी रेखा स्वयंले गीत गाएकी थिइन्, ‘कि लाउ माया मैतिर, कि लाउ उहीतिर । निर, नलाउ दुइतिर… ।’ त्यसबखत कालो कोट-पाइन्ट धारण गरेका प्रचण्ड करिब–करिब सोरठी शैलीमा नाचेका थिए ।

त्यसपछि प्रकाश सपूतले प्रत्यक्ष  ‘पछ्यौरी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर’ गीत गाइरहँदा प्रचन्ड कुनै नर्तक जसरी मञ्चमा पर्दापण भएका थिए । अनि गण्डकी क्षेत्रमा प्रचलित लोकनृत्यको शैलीमा खुलेर नाचेका थिए ।  धेरै फुर्तिसाथ हात-पाउको ताल मिलाउन नपर्ने । बुरुक्क उठ्न, फनक्कै फर्किन नपर्ने । सुस्त गतिमा हात घुमाउँदै, एउटा खुट्टा थोरै खोच्याएर अर्ध-गोलाकार फन्को मारे पुग्ने । यस्तो नृत्यकला टिप्न अक्सर नेताहरूलाई सजिलो हुन्छ ।

प्रचण्डको अर्को प्रख्यात नृत्य ऋषि धमलासँगको थियो । निख्खर निलो सर्ट, हरियो इस्टकोट लगाएका प्रचण्ड त्यसदिन निकै मुडमा थिए । चुट्के भाकाको सो गीतमा प्रचण्ड फनफनी नाच्दा ऋषि धमला भने हावामा काग बत्तिएजसरी दुवै हात फिँजाएर प्रचण्डलाई घेरा हाल्दै फुर्तिसाथ उफ्रिएका थिए ।

 

यत्तिको जिउ तंग्रिएको मान्छेलाई देउडा नृत्य कति नै ठूलो महाभारत भयो र ? भीम रावलले ‘ए छमक्क छमक्क गौरा पर्व मनाई हेरौं…’ भनी देउडा भाका हाल्दै गर्दा प्रचण्डले पनि मख्ख परेर गोलबद्ध घेरामा खुट्टाको चाल मिलाएका थिए । त्यो पनि शेरबहादुर देउवासँग एकअर्काको काखीमा हात छिराएर ।

उसो त नृत्यकलामा प्रचण्डलाई कम आँक्ने छुट भने कसैलाई छैन । उनले यस्ता ‘भेराइटी–भेराइटी’का नाचमा आफ्नो जादू देखाएका छन्, जो सायदै पेशेवर नर्तकको औकातले भ्याउँछ ।

के तपाईंले थारु नाचमा आफ्नो कला देखाउनुभएको छ ? प्रचण्डले देखाएका छन् । के तपाईंले मयुर नाचमा आफ्नो उपस्थिति जनाउनुभएको छ ? प्रचण्डले जनाएका छन् । फास्ट बीटको थारु गीतमा सेतो बस्त्र धारण गरेका प्रचण्डले हल्का–हल्का हात घुमाएर नाचेका थिए । भलै जनार्दन शर्माले जसरी भाँती पुर्‍याउन नसके पनि प्रचण्डको नाच बेवास्ता गर्नुपर्ने खालका थिएन ।

‘सालको पातको टपरी हुनी हे बरै..’ गीतमा प्रचण्ड भावुक देखिए पनि नाचको ताल भने गजब मिलाएका थिए । भरतपुरमा आयोजित एक कार्यक्रममा उनले गीतका असली गायकसँगै स्टेजमा नृत्य पेश गरिरहँदा त्यहाँको रौनक फेरिएको थियो । अघिल्लो वर्ष सुर्खेतमा पनि उनी भाइरल भएका थिए-नाचेर । त्यसबेला वामदेव गौतमले उनलाई तानेर नचाएका थिए ।

उमेरले ७१ वर्ष टेकेका प्रचण्डसँग नृत्यकौशल हुनु वा नहुनु फरक कुरा हो । तर जसरी उनी नाचिरहेका छन्, त्यसले उनको बुढ्यौलीलाई पाखा लगाइदिएको छ ।

नृत्यकलाको छुट्टै महासागर छ। यसको प्रारूप र पृष्ठभूमि फरक हुन्छ । शैली र सौन्दर्य पनि फरक हुन्छ । यो मान्छेको भावआवेगलाई अभिव्यक्त गर्ने एक सुन्दर र प्राचीन कला हो । यद्यपि यसका लागि कुनै विशेष योग्यता हासिल गर्नैपर्छ भन्ने छैन । किनभने नृत्य आफैंमा मान्छेको प्राकृतिक भाषा पनि हो । जब तपाईं उमंगले रमाउनुहुन्छ, तपाईंको शरीर यसै पनि नाच्न थाल्छ। रसिक प्रचण्ड किन पो अपवाद हुनसक्थे ?

जगजाहेर छ, यतिबेला प्रचण्ड चुनावी अभियानमा छन् । सोही क्रममा प्रचण्डले मकै कुट्ने र भुट्ने काम मात्र गरेका छैनन्, ठाउँ–ठाउँमा नृत्यकला पनि प्रस्तुत गरिरहेका छन् । सोही क्रममा उनले नाचेको मयुर नाच यतिबेला सामाजिक सञ्जालमा छाएको छ।

भनिहालौं, जब–जब चुनाव आउँछ, नेताहरूलाई अभिनेता बन्नुपर्ने दशा आइलाग्छ । अनेक चरित्र र भूमिकामा प्रस्तुत हुनुपर्ने बाध्यता आइलाग्छ । कहिल्यै ढुंगा र मार्तोल नछोएका नेताले डकर्मी बन्नुपर्छ, पटक्कै पाककला नजानेका नेताले जेरी पोल्नुपर्छ, कहिल्यै थाप्लोमा भार बहन गर्नु नपरेका नेताले पिठ्यूँमा गह्रौं भारी बोक्नुपर्छ । मकै भुटिदिनु, बिस्कुन उठाइदिनु, बिरामीको ल्याब रिपोर्ट र प्रेस्क्रिप्सन पढिदिनु आजकाल नेताहरूका दैनिकी हुन् । राजेश हमालले आफ्नो करियरका दौरान यतिबिध्न भूमिका निर्वाह गर्नुपरेन होला, जति अहिले नेताहरूले गरिरहेका छन् ।

रोएजस्तो पनि गरिदिनुपर्छ, सुनेजस्तो पनि गरिदिनुपर्छ । कहिले उल्कै गम्भीर भइदिनुपर्छ, कहिले बेपत्ता रौसे भइदिनुपर्छ । उमंगले उफ्रिएर नाचिदिनुपर्छ ।

तपाईं ऋषि धमलाको हैरानी हेर्नुहुन्छ कि सूर्य थापाको ? यिनीहरूलाई मात्र एकोहोरिएर हेर्नुभयो भने ‘हेराफेरी’को तलतल मेटाउनुहुनेछ । सामाजिक सञ्जालमा यतिबेला सूर्य थापाका त्यस्ता भिडियोहरू हेर्नुभयो भने क्षणिक छटपटी र बेचैनीबाट मुक्ति पाउनुहुनेछ ।

फूलमाला र खादाले ढपक्क ढाकिएर, कोट-टाइमा ठाँटिएर, ढाका टोपी ढल्काएर डोको बुनिरहेका सूर्य थापालाई देख्दा कस्तो लाग्छ ? त्यही हुलियामा पर्खालको ढुंगामाथि हल्का-हल्का मार्तोल हानेको, सयपत्री फूलमाला लगाएर चुल्होमा मकै भुटेको… यिनै गतिविधिका मोन्टाज दृश्यमा चार्ली च्याप्लिनको फिल्ममा जस्तै पार्श्व धुन बजाइदिनुहोस् त !

ऋषि धमला चाहिँ यतिबेला हिन्दी फिल्मका नायक अनिल कपूर बन्ने ध्याउन्नमा दौडिएका छन् । कहिले उनी उपचारका लागि कतै लैजान लागेको बिरामीको पछाडि दौडिएर नाडी छाम्न पुग्छन्, कहिले स्थानीय समुदायको माझमा घुस्रिएर तुरुन्तै धारा बनाइदिन सम्बन्धित निकायमा फोन लगाउँछन् । कसैको बेपत्ता छोरा खोजिदिने, रोकिएको वृद्धभत्ता मिलाइदिने, बेखर्ची शिक्षकको तलब भुक्तानी गराइदिनेसम्मका काममा उनी लागिपरेका छन् ।

यो मौसममा कसलाई ढोग्नुपर्ने, कसलाई बोक्नुपर्ने उनलाई थाहा छ ।

यी केही नमुना मात्र हुन्। देशैभर खोज्ने हो भने यस्ता उम्मेदवार र दृश्य साक्षात्कार गर्न पाइन्छ ।

प्रचण्ड यी अनेकमा एक हुन्, जसले पछिल्लो समय मँयूर नाचमा आफूलाई पेश गरे । बेहुलाले जस्तो दूबोको माला लगाएर, एउटा हातले तरबार जस्तै डन्डी उठाएर, ढाडमा झोला जसरी मयुरपंखी मुकुट भिरेर प्रचण्ड जसै मयुर नृत्य नाच्ने यत्न गर्छन्, मानौं उनी कुनै व्याट्रीबाट नाच्ने बार्बी डलजस्तै देखिन्छन् ।

रुकुम–रोल्पा क्षेत्रमा प्रचलित यो नृत्यकलाको आफ्नै विशिष्टता छ । यसको आफ्नै रीत र शैली छ । खासगरी यो लोकनृत्य मयुरकै शैलीमा हात र खुट्टाको चाल मिलाएर नाच्ने गरिन्छ । प्रचण्डले यसमा अलि–अलि पारा त लिएका छन्, तर कसैले यता घुम्नु, कसैले उता घुम्नु भन्दै गर्दा प्रचण्ड थाक्छन् । अनि मुखै खोल्न बाध्य हुन्छन्, ‘भयो, भयो ।’

दुनियाँका लागि यस्तो रमिता बनिदिनुपर्ने प्रचण्डलाई प्रातकालमा मधुरसको चुस्की लिएर आफ्नै जीवनवृत्तमा फन्को लगाउँदै गर्दा  लाग्दो हो, ‘कहिलेसम्म यसरी अरुको तालमा नाच्नुपर्ने हो  ?’

माथिको शीर्षकसँग प्रचण्ड नृत्यको उस्तो लेनादेना छैन । यो हिन्दी फिल्म ‘पप्पु कान्ट डान्स साला’बाट प्रभावित छ ।

लेखक
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?