News Summary
Generated by OK AI. Editorially reviewed.- सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सातौँ संस्करणमा दैलेखकी नीताकुमारी थापामगर पहिलो महिला विजेता बनिन्।
- नीताकुमारीले कोच राजु लामाको टिमबाट प्रतिस्पर्धा गरी महिला सशक्तीकरणको सन्देशसहित उपाधि जितिन्।
- उनले ब्लाइन्ड अडिसनदेखि फिनालेसम्म कोचको मार्गदर्शनमा निरन्तर प्रयास गरी संगीत क्षेत्रमा नयाँ अध्याय लेखिन्।
काठमाडौं । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सातौं संस्करणले यसपटक ऐतिहासिक क्षण देख्यो । दैलेखकी नीताकुमारी थापामगर विजेता घोषित भइन् । उनी यो प्रतिष्ठित उपाधि जित्ने पहिलो महिला प्रतिस्पर्धी बनिन् ।
कोच राजु लामाको टिमबाट प्रतिस्पर्धा गरेकी नीताले ट्रफी मात्र जितिनन्, ‘भ्वाइस अफ नेपाल’ को पटकथामा नयाँ अध्याय लेखिन्, त्यो पनि महिला सशक्तीकरणको सन्देशसहित ।
सिजन ६ सम्म उपाधि पुरुष प्रतिस्पर्धीले मात्र जित्दै आएका थिए । नीताको जितले प्रतियोगिताको इतिहास मात्र होइन, नेपाली सांगीतिक क्षेत्रमा पनि महत्वपूर्ण सन्देश दिएको छ । उनको सफलताले देखाएको छ- प्रतिभा, मिहिनेत र धैर्य भए लैंगिकता कुनै अवरोध होइन ।
महिला सशक्तीकरणको बहस भइरहेका बेला, मुलधारको टिभीमा प्रसारण हुने लोकप्रिय रियालिटी शोमा महिला विजेता बन्नु आफैंमा प्रतीकात्मक उपलब्धि हो । उनको यात्राले धेरै युवतीलाई आफ्नो सपना पछ्याउन प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
उनी कर्णालीको दैलेखबाट गायिका बन्ने सपना बोकेर काठमाडौं आएकी हुन् । ग्रामीण परिवेशबाट राष्ट्रिय मञ्चसम्मको यात्रा सजिलो थिएन । तर बाल्यकालदेखि संगीतप्रति गहिरो लगाव राख्ने उनले कहिल्यै हार मानिनन् ।
उनका बुबा रोजगारीको लागि विदेशिएका छन् । बुवाकै प्रेरणा र सल्लाहले नीतालाई ‘भ्वाइस’ सम्म डोर्यायो । छोरीलाई यस्ता कार्यक्रममा सहभागी हुन उनी प्रेरित गरिरहन्थे । सुरुमा भने नीतालाई आत्मविश्वास कम थियो । उनलाई लाग्थ्यो- मञ्चमा पुग्नेबित्तिकै बाहिरिनुपर्छ कि ! तर समयसँगै उनले आफ्नो भयमाथि जित हासिल गरिन् ।

ब्लाइन्ड अडिसन : आत्मविश्वासको मोड
‘ब्लाइन्ड अडिसन’ उनको यात्राको पहिलो ठूलो मोड थियो । ‘एउटा पनि कोच नघुम्लान् भन्ने लागेको थियो,’ उनी सम्झिन्छिन्, ‘तर चारै जना कोच घुम्नुभयो । त्यो क्षण मैले कहिल्यै बिर्सन सक्दिनँ ।’
त्यही क्षणले उनलाई आफ्नो क्षमता बुझायो । आत्मविश्वासको बीउ त्यहीँबाट रोपियो, जसले उनलाई फिनालेसम्म पुर्यायो ।
नकआउट चरण सबैभन्दा चुनौतीपूर्ण थियो । त्यो चरणमा १० जना प्रतिस्पर्धीमध्ये केवल ४ जना छनोट हुनुपर्ने थियो । ‘सबैजना उत्कृष्ट हुनुहुन्थ्यो । म त बाहिरिन्छु जस्तो लागेर ढुक्क बसेकी थिएँ,’ उनी भन्छिन् ।
तर परिणामले उनलाई अगाडि बढायो । त्यो क्षणले उनले आफूभित्रको शक्ति चिनिन् । ‘त्यो चरण पार गरेपछि मैले सोचें-अब जे भए पनि अन्तिमसम्म आफ्नो शतप्रतिशत दिनेछु ।’
कोच राजु लामाको भूमिकालाई उनी निर्णायक मान्छिन् । नकआउटदेखि फिनालेसम्मको यात्रामा उनले दिएको मार्गदर्शन, आत्मबल र सकारात्मक ऊर्जा नै आफ्नो सफलताको आधार भएको नीताको विश्वास छ ।
‘उहाँले कहिल्यै नकारात्मक टिप्पणीमा ध्यान नदिनु भन्नुहुन्थ्यो,’ उनी भन्छिन् । सामाजिक सञ्जालमा आएका टिप्पणीले कहिलेकाहीँ मन दुखाए पनि कोचको सल्लाहले उनलाई सम्हाल्यो ।
नीता राजुलाई दाइसरह मान्छिन् । ‘मलाई दाइ नभएको कमी उहाँले पूरा गर्नुभयो जस्तो लाग्छ । हामी दाजु-बहिनीझैँ भएका छौँ,” उनी भावुक हुँदै भन्छिन् ।

जितपछिको व्यस्तता र जिम्मेवारी
उपाधि जितेपछि उनको दिनचर्या पूर्ण रूपमा परिवर्तन भएको छ । फोन निरन्तर बजिरहन्छ, बधाई सन्देशको ओइरो लागिरहेको छ। ‘एक मिनेट मोबाइल नहेर्दा पनि नोटिफिकेसनले भरिन्छ,’ उनी हाँस्दै सुनाउँछिन् ।
तर उत्साहसँगै जिम्मेवारी पनि थपिएको छ । ‘भ्वाइस जितेपछि मभित्र आएको सबैभन्दा ठूलो परिवर्तन जिम्मेवारी बढ्नु हो,’ उनी भन्छिन् । आफूलाई अझै बच्चैजस्तो लागे पनि अब आफू धेरैको अपेक्षाको केन्द्र बनेको उनी महसुस गर्छिन् ।
उनको जितमा परिवार अत्यन्तै खुसी छ । विशेषगरी विदेशमा रहेका बुबाले फिनाले लाइभ हेर्न कामबाट बिदा समेत लिएका थिए । त्यो क्षण नीताका लागि भावनात्मक थियो ।
‘उहाँको विश्वासले नै मलाई यहाँसम्म ल्यायो,’ उनी भन्छिन् ।
प्रतिस्पर्धाको बीचमा उनले धेरैपटक निराशा भोगिन् । कहिलेकाहीँ आफू सक्षम नभएको महसुस हुन्थ्यो । ‘कतिपटक ‘अब हुँदैन’ जस्तो लाग्थ्यो,’ उनी स्वीकार्छिन् ।
तर हरेक पटक उनले आफूलाई सम्हालिन् । फेरि उठिन्, फेरि गाइन् । यही निरन्तर प्रयासले उनलाई विजेता बनायो । ‘कोसिस गरेपछि जे पनि सम्भव हुन्छ,’ उनी दृढतापूर्वक भन्छिन् ।
नयाँ अध्यायको सुरुआत
‘भ्वाइस’ बाट सिकेका अनुभवले अबको करिअरमा ठूलो सहयोग पुग्ने उनी विश्वास गर्छिन् । प्रतियोगिताले उनलाई केवल मञ्च मात्र दिएन, अनुशासन, प्रस्तुति शैली र व्यावसायिकता पनि सिकायो ।
अहिले उनी विभिन्न कार्यक्रम र रेकर्डिङमा व्यस्त छिन् । झन्डै ८/९ वटा गीत रेकर्ड गर्ने तयारी भइरहेको छ । कोच राजु लामासँग सहकार्यमा गीत ल्याउने योजना पनि छ, जसमा एउटा कौडा गीत समावेश हुनेछ ।

लोक र आधुनिक गीतप्रति उनको विशेष रुचि छ । प्रतियोगितामा उनले लोक शैलीलाई प्राथमिकता दिएकी थिइन् । यद्यपि, उनी आफूलाई कुनै एक विधामा सीमित राख्न चाहँदिनन् । ‘मलाई सबै प्रकारका गीत गाउन मनपर्छ,’ उनी भन्छिन् ।
जितपछिको लोकप्रियतासँगै दबाब पनि उत्तिकै छ । ‘पहिले जति दबाब थियो, अहिले पनि उस्तै छ,’ उनी भन्छिन्।
सार्वजनिक रूपमा बोल्नुपर्दा उनलाई अझै डर लाग्छ । ‘कहीँ केही गलत बोलिन्छ कि भन्ने लाग्छ,’ उनी भन्छिन् । तर समयसँगै आफू अझ आत्मविश्वासी बन्ने विश्वास उनले राखेकी छन् ।
‘गीत गाउनै जन्मिएको जस्तो लाग्छ’
उनी आफ्नो भावनालाई एक वाक्यमा व्यक्त गर्छिन्, ‘म गीत गाउनकै लागि जन्मिएको जस्तो लाग्छ ।’
उनको यो आत्मविश्वास, सरलता र समर्पणले नै उनलाई आजको स्थानसम्म पुर्याएको हो । नीताको यात्रा रियालिटी शो जितेको कथा मात्र होइन । बरु यो सपना, संघर्ष, विश्वास र निरन्तरताको कथा हो ।
उनी आफूलाई ठूलो सपना देख्ने व्यक्ति मान्दिनन् । ‘सिक्दै छु, गर्दै छु,’ उनी भन्छिन् । कहिलेकाहीँ संगीतबाहेक अन्य पेशा, जस्तै पार्लर वा टेलरिङ, सिक्ने सोच पनि आएको थियो । तर अन्ततः उनले संगीतलाई नै रोजिन् ।
‘अहिले एकदम राम्रो भइरहेको छ । भोलि पनि राम्रो हुनेछ भन्ने आशा छ,’ उनी आशावादी देखिन्छिन् ।
भिडियो तथा तस्वीर : शंकर गिरी
सम्पादन : अविकृत मुखिया


प्रतिक्रिया 4