६ फागुन, काठमाडौं । मंगलबार दिउँसो ३:३० बजे काठमाडौं महानगरको वडा नम्बर २९ स्थित घट्टेकुलो विकास समाजको कार्यालय अगाडि ५० जना हारहारीमा रहेको एक समूह भेला भइसकेको थियो ।
धोबीखोलाको किनारामा भेला हुनेहरूको यो टोलीमा महिला र पुरुषको संख्या बराबरी जस्तै थियो । कांग्रेसको झण्डा र चुनाव चिह्नसहित उपस्थितहरूको बीचमा ३:४० बजे काठमाडौं-१ का कांग्रेस उम्मेदवार प्रवल थापा आइपुगे ।
त्यही बीचमा एक जना पर्चा बोकेर आए भने अर्का एक जना लाउडस्पिकर घन्काउँदै । सहभागीहरूलाई चुनावी प्रचारका लागि तयार भएको पर्चा वितरण गरियो । कांग्रेसको पक्षमा बनेका चुनावी गीत घन्कियो, ‘नेपाली कांग्रेस जिन्दावाद, जिन्दावाद । आयो कांग्रेस आयो ।’
घरदैलो प्रचारको अगुवाइ गर्नेमध्येका एक जनाले ‘बदलिएको कांग्रेसले मुलुकको बागडोर सम्हाल्ने’ दाबीसहित मत माग्न थाले । दुई महिलाले चुनावी ब्यानर समातेर घरदैलो प्रचारका टोलीसँगै अघि बढे । घरदैलो प्रचार ब्यानरमा भनिएको छ, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२, घरदैलो कार्यक्रम प्रवल थापा, काठमाडौं क्षेत्र नम्बर-१ प्रतिनिधि सभा सदस्य उम्मेदवार ।’
फागुन ४ गतेदेखि सुरु भएको घरदैलो प्रचारका लागि मंगलबारका लागि तोकिएको स्थान घट्टेकुलो क्षेत्र थियो । त्यसअघि घरदैलोको पहिलो दिन (फागुन ४) वडा नम्बर ३१ कात्यायनी मन्दिर वरपर गरेका थिए भने दोस्रो दिनको बिहानी घरदैलो मैतीदेवी क्षेत्रमा भएको थियो ।

दोस्रो दिनको दोस्रो चरणको घरदैलो प्रचारका लागि तोकिएको स्थान वडा नम्बर २९ को घट्टेकुलो क्षेत्र तय गरिएको थियो । घट्टेकुलो विकास समाजको कार्यालय अगाडि भेला भएका कांग्रेस उम्मेदवार, स्थानीय नेता कार्यकर्ताको टोली ३:४५ बजे घरदैलोमा निस्कियो ।
घरदैलो प्रचार ब्यानरसहित माइकिङ गर्दै प्रचार टोली उत्तरतर्फ पाथिभरा मार्गतर्फ अघि बढ्यो । प्रचार टोलीका अगुवामध्येका एकले लाउडस्पिकरबाट मतदातालाई कांग्रेस बदलिएको सन्देशसहित भने, ‘बदलिएको कांग्रेसका सभापति गगन थापाले सत्ताको बागडोर सम्हाल्नुहुनेछ । कांग्रेसका सशक्त, समाजसेवी, मिलनसार उम्मेदवार प्रवल थापालाई भोट दिएर अत्यधिक मतले जिताइदिनु हुन विनम्र अनुरोध गर्दछौं ।’
अलिक अघि बढेपछि घरदैलो प्रचारको अगुवाइ गरेकामध्ये एक जना एक घरमा छिरे । एक जना प्रौढलाई बाहिर बोलाएर भने, ‘बुबा, हाम्रो उम्मेदवारलाई लिएर आएका छौं । आशिर्वाद लिन आएका हौं ।’ उम्मेदवार प्रवल अघि सर्दै थपे, ‘आशिर्वाद दिनुस् बुबा ।’ प्रौढ व्यक्तिले उम्मेदवार प्रवलको टाउकोमा हात राख्दै भने, ‘आर्शिवाद छ ।’
विस्तारै प्रचारप्रसारमा संख्या थपिँदै गयो । उम्मेदवार प्रवललाई लिएर ४-५ जनाको टोली लामटाङ गल्लीमा छिर्यो । प्रचारमा आएका कार्यकर्ताले भित्री चोकमा कांग्रेसको पक्षमा नारा लगाए भने प्रवल मत माग्न थाले ।

लामटाङ गल्लीमा घर रहेकी एक वृद्ध महिला मतदाताले टीका लगाएर जितको शुभकामनासहित उम्मेदवारसँग आफ्नै पारिवारिक समस्याको समाधान गरिदिन आग्रह गरिन् । उनले भनिन्, ‘जित्नुस्, आशिर्वाद छ । मलाई घर नयाँ बनाइदिनु होला ।’
एक तले घरमा बस्दै आएकी प्रौढ महिलाको उम्मेदवारसँग अपेक्षा नयाँ घर बनाइदिउन् भन्ने थियो । तर प्रवलले घर बनाइदिने प्रतिबद्धता भने गरेनन् ।
घरदैलो प्रचार गर्दै टोली रुद्रमति मार्ग पुग्यो । त्यही बेला एक युवकले कांग्रेस उम्मेदवार प्रवललाई मत दिने वाचासहित म पनि युवा हुँ भने । प्रवलले भने, ‘ल लाइन आइहाल्यो नि ।’
अघि बढ्दै गर्दा कतिपय तल ओर्लेर उम्मेदवारसँग साक्षात्कार गर्थे । कतिपयले माथिल्लो तलाबाट नै हाल हल्लाउँथे । पाँच तला माथिबाट ओर्लेर युवा उमेर समूहका एक मतदाताले प्रत्यासी उम्मेदवारसँग अपेक्षा राखे, ‘युवाको प्रतिनिधित्व गरिदिनुहोला ।’ प्रवलले उनको अपेक्षा पूरा गर्ने वाचा गरे ।
अबका लागि घरदैलो प्रचार रूप गल्लीमा थियो । मत र आशिर्वाद माग्दै रूप गल्लीमा छिरेका प्रवललाई एक महिलाले आश्वस्त पारिन् । उनले ढुक्कै भनिन्, ‘अघिल्लो पटक कांग्रेसलाई भोट दिएको हो । यस पटक पनि दिने हो ।’
उनको बोलीबाट खुसी हुँदै अघि बढेका उम्मेदवार प्रवललाई थप खुसी ग्रिल उद्योगका सञ्चालकले बनाए । प्रचार टोलीका एकले उद्योग सञ्चालकलाई कांग्रेसको चुनाव चिह्न रहेको कार्ड थमाए । उद्योग सञ्चालकले सोधे, ‘यसमै ड्याम ड्याम होइन त ? ड्याम्मै हान्ने हो ।’

शिखर गल्लीमा मत माग्दै हिँडिरहँदा स्कुटी रोकेर एक महिलाले उम्मेदवारलाई आफ्नो परिचय दिइन् । स्कुटी रोकेर प्रतीक्षा गर्नुको कारण खुलाउँदै उनले भनिन्, ‘हाम्रोमा दुई भोट छ । ढुक्क हुनुस् ।’
यही वडामा बसोबास गर्ने कलाकार मदनदास श्रेष्ठको निवासमा मत माग्न कांग्रेस उम्मेदवार प्रवल पुगे । माथिल्लो तलामा रहेका कलाकार श्रेष्ठले कांग्रेस उम्मेदवार प्रवललाई जितको शुभकामना दिए ।
मंगलबार अपराह्नदेखि सुरु भएको घरदैलो प्रचार वडा नम्बर २९ मा रहेका पाथिभरा, लामटाङ, रुद्रमति, रूप, शिखर गल्लीसहित गण्डकी चोक लगायतका स्थानमा केन्द्रित रह्यो ।
चुनावी प्रचारमा उम्मेदवारसँगै अनलाइनखबरले गरेको रिपोर्टिङको क्रममा मतदाताले उम्मेदवारसँग ठूला ठूला अपेक्षा गरेको सुनिएन । उम्मेदवारले पनि आफ्नो योजना सुनाउँदै हिँड्नुपर्ने स्थिति थिएन । कांग्रेस उम्मेदवारका प्रचार सामग्रीमा उनले गर्ने भावी कार्यका योजना र प्रतिबद्धताहरू समावेश थिए । तिनै प्रचार सामग्री मतदातालाई थमाइएको थियो ।

काठमाडौं-१ केन्द्रीय राजधानीको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत रहेको स्थान हो । यही क्षेत्रमा सर्वोच्च अदालत, संघीय संसद्, जंगी अड्डा, दशरथ रंगशाला पनि पर्छन् । यो क्षेत्रको विकासका लागि नीति निर्माणको तहमा गरिने काम प्रतिबद्धतासहित कांग्रेस उम्मेदवार प्रवलले मत मागिरहेका छन् ।
उनी भन्छन्, ‘जनआकांक्षा र जनसवालहरूको सम्बोधन र यथोचित समाधान गर्ने प्रण गर्छु ।’ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको मर्म र जनभावनाबमोजिम सुशासन तथा सदाचारमा काम गर्ने उनको प्रण छ ।
काठमाडौं-१ अतिक्रमित सरकारी तथा सार्वजनिक सम्पत्ति फिर्ता गराउन पहलकदमी लिने उनको प्रतिबद्धता छ । निजी र सार्वजनिक विद्यालयबीचको शैक्षिक अन्तर घटाउन भौतिक पूर्वाधारसँगै प्रयोगशाला, पुस्तकालय, सूचना प्रविधि र शिक्षकको क्षमता बृद्धिमा जोड दिने कांग्रेस उम्मेदवार प्रवलले प्रतिबद्धता गरेका छन् । ध्वनी, वायु प्रदूषण नियन्त्रण, अव्यवस्थित बजार, पार्किङ व्यवस्थापन लगायतमा काम गर्ने वाचासहित प्रवलले मत मागिरहेका छन् ।
२०६४ सालदेखि प्रकाशमान सिंह निर्वाचित हुँदै आएको यस क्षेत्रमा विगतको नतिजाको आधारमा कांग्रेस बलियो देखिन्छ । गत स्थानीय तहमा वडामा निर्वाचत भएको मतको आधार पनि कांग्रेस यहाँ पहिलो शक्ति हो ।

यस क्षेत्रमा अवस्थित काठमाडौँ महानगरपालिकाको वडा नम्बर १०, ११, २९ र ३१ मध्ये तीन वटामा कांग्रेसका वडाध्यक्ष छन् । तीमध्ये ३१ नम्बर वडा एमालेले जितेको छ । यी आधारले तुलनात्मक रूपमा यो क्षेत्रमा कांग्रेसको सबल पक्ष देखिन्छ । यद्यपि, वडाध्यक्षमा १०, ११, र २९ जित्दा मेयरमा भने बालेन शाहले बढी मत प्राप्त गरेका थिए ।
गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा कांग्रेसले जित्दा कांग्रेसकै मेयर उम्मेदवार सिर्जना सिंहले वडाध्यक्ष बराबरको मत पाउन सकिनन् ।
गत दुई संघीय निर्वाचनमा कांग्रेसका उम्मेदवार सिंहले प्रतिस्पर्धीसँगको मतान्तर कम हुँदै गएको थियो । २०७४ सालमा सिंहले १० हजार ९३६ प्राप्त गरेर निर्वाचित हुँदा त्यस समय रविन्द्र मिश्रले विवेकशील साझा पार्टीबाट १० हजार ११८ प्राप्त गरेका थिए ।

गत निर्वाचनमा उनै मिश्रले सिंहसँग मतान्तर घटाएका थिए । दल परिवर्तन गरेर राप्रपाबाट उठेका मिश्रलाई कांग्रेसका उम्मेदवार सिंहले दोस्रो पटक अघिल्लो निर्वाचनमा हराए । गत निर्वाचनमा सिंह ७ हजार १४३ सिंह निर्वाचित हुँदा मिश्रले मतान्तर घटाउँदै ७ हजार १८ मत सहित पराजित भए ।
यस क्षेत्रमा कूल मतदाता संख्या ४८ हजार ४८९ छ । तीमध्ये महिला मतदाताको संख्या २५ हजार २५२ र पुरुष मतदाताको संख्या २३ हजार २३७ छ । बुधबारदेखि पूर्वविजेता नेता सिंह कांग्रेसका प्रत्यासी प्रवललाई जिताउन घरदैलो प्रचारमा निस्केका छन् ।
चार पटक निर्वाचित सिंहलाई उम्मेदवारको स्थानमा यसपटक ४२ वर्षीय प्रवलले उम्मेदवार हुने अवसर पाएका हुन् ।
अष्ट्रेलियाबाट एमबीए गरेर फर्केका प्रवल कांग्रेसका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि सदस्य हुन् । कांग्रेस तरुण दल र विभागको केन्द्रीय सदस्य रहेका प्रवल कांग्रेसको काठमाडौं जिल्ला सदस्य हुन् ।
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर





प्रतिक्रिया 4