+
+
Shares

पवित्र पर्व रमजान, किन मनाइन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १७:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रमजान इस्लामिक क्यालेन्डरको नवौं महिना हो, जसलाई मुस्लिम समुदायले उपवास, प्रार्थना र आत्म–चिन्तनको पवित्र महिना मान्छ।

इस्लामिक क्यालेन्डरले नवौं महिनाका रूपमा रमजानलाई व्याख्या गरेको छ । यो महिना इस्लाम धर्मको सबैभन्दा पवित्र महिनाको रूपमा मानिन्छ, जसमा मुस्लिम समुदायले उपवास ‘सौम’, प्रार्थना, आत्म–चिन्तन र सामुदायिक एकताको अभ्यास गर्छन् ।

रमजानको सुरुवात इस्लामिक चन्द्र पात्रोमा आधारित हुन्छ, जसमा नयाँ चन्द्रमाको दर्शनबाट निर्धारण गरिन्छ । इस्लाम धर्मावलम्बीहरूले महिनाभर सूर्योदयदेखि सूर्यास्तसम्म व्रत बस्ने चलन छ, जसलाई रोजा पनि भन्ने गरिन्छ । यो व्रत इस्लामका पाँच स्तम्भहरू मध्ये एक हो, जसलाई ‘सौम’ भनिन्छ ।

नेपाल जामे मस्जिदका अध्यक्ष अब्दुल समिमले यसलाई इस्लामको मूल सन्देशसँग जोड्दै भनेका छन् । उनका अनुसार रमजान स्व–अनुशासन, प्रार्थना र दानको महिना हो, जसले मुस्लिम समुदायलाई एकताबद्ध बनाउँछ र नैतिक जीवन जिउन प्रेरित गर्छ ।

रमजान हरेक वर्ष एकै दिन वा महिनाबाट सुरु हुँदैन, यसको कारण चाहिं इस्लाम धर्मावलम्बीको पात्रो हो । इस्लाम पात्रो (हिजरी क्यालेन्डर) चन्द्रमाको चक्रमा आधारित हुन्छ, जसले गर्दा यसको सुरुवात ग्रेगोरियन क्यालेन्डरमा प्रत्येक वर्ष करिब १०–११ दिन अगाडि सर्छ । इस्लाम पात्रोलाई मान्यता दिने चलन अनुरूप प्रत्येक वर्ष रमजान सुरु हुने मिति १० दिनसम्मले फरक पर्न सक्छ ।

कसरी मनाइन्छ रमजान ?

रमजानको व्रत बस्ने व्यक्तिले सूर्योदयदेखि सूर्यास्तसम्म पानी समेत पिउँदैनन् । उक्त समयमा धुम्रपान, मद्यपान र यौन क्रियाकलाप पनि बन्देज गरिएको छ । तर सूर्यास्त भएपछि भने यो नियम लागू हुँदैन । सूर्यास्तपछि व्रत भंग गरेर खाना खान सकिन्छ । व्रत भंग गर्नका लागि पानी र खजुर खाने परम्परा छ । त्यसपछि भने सूर्योदय नभएसम्मका थुप्रै परिकार बनाएर खाइन्छ । नेपाल जामे मस्जिदका अध्यक्ष समिम यसबारे भन्छन्, ‘यो व्रतले मुस्लिमहरूलाई भोक र तिर्खाको अनुभव गराउँछ, जसले गरिब र दुःखीहरूको पीडा बुझ्ने अवसर दिन्छ र दान तथा सहयोगको भावना बढाउँछ । यसले सामाजिक सद्‍भाव र परोपकारलाई प्रोत्साहन दिन्छ ।’

दिनमा इस्लाम धर्मावलम्बीहरूले नमाज पढ्छन् र समाजको उन्नतिको कामना गर्दै अल्लाहको पूजा गर्छन् । बिहान सूर्योदयभन्दा अगाडि उठेर नास्ता गरेर नमाज पढेपछि आफ्नो दैनिक काममा जान सक्छन् । त्यसपछि दिनभरि व्रत बस्ने र सूर्यास्तपछि खाना खाएर परिवारसँग समय बिताउनुपर्छ । एक महिनासम्म यो दैनिकी अपनाउनुपर्छ । रमजानमा विशेष रूपमा तरावीह नमाज पढ्ने चलन छ, जसमा कुरानको पाठ गरिन्छ । यो महिनामा मुस्लिमहरूले कुरान अध्ययनमा बढी समय दिन्छन् ।

रमजान एक पवित्र महिना हो, जसमा मुस्लिम समुदायका मानिसहरूले धेरैभन्दा धेरै परोपकारी कार्य गर्छन् र दुःखमा रहेका व्यक्तिलाई सहयोग गर्छन् । यस महिनामा दान दिनुको विशेष महत्व छ, जसले सामाजिक असमानता घटाउने उद्देश्य राख्छ ।

साना बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला, बिरामी, महिनावारी भएका वा विशेष ख्याल राख्नुपर्ने व्यक्तिलाई व्रत नबस्न पनि छुट दिइन्छ । उनीहरूबाहेक सबैले यो व्रत बस्नेपर्ने परम्परा छ । यदि कसैले रमजानको समयमा व्रत बस्न मिलेन वा पाएन भने पनि महिना सकिएपछि पनि व्रतलाई कायम राख्न सक्छन्, जसलाई कजा भनिन्छ ।

यो पर्व किन मनाइन्छ ?

यो महिना इस्लाम धर्मका मूल्य र मान्यतालाई आत्मसात गर्दै एक असल व्यक्तिका रूपमा आफूमा परिवर्तन गर्नु पनि हो । समुदायका धेरै सदस्यले आफूमा भएका नकारात्मक भावना र बानीबाट मुक्त राख्न पनि रमजानको व्रत बस्छन् । यसबाहेक भावनात्मक र आध्यात्मिक रूपमा आफूले आफूलाई शुद्धीकरण गर्नु पनि यो रमजानको उद्देश्य हो ।

समिमका अनुसार, रमजानले मुस्लिम समुदायलाई आध्यात्मिक उन्नति र सामाजिक एकताको माध्यमबाट नैतिक विकास गर्ने अवसर दिन्छ, जसले इस्लामको मूल सन्देशलाई जीवन्त राख्छ । यो समय धैर्य, सहनशीलता र दया सिकाउने महिना हो । रमजानको अन्तमा इद–उल–फित्र मनाइन्छ, जसमा मुस्लिमहरूले एकअर्कालाई बधाई दिन्छन्, दान गर्छन् र सामूहिक रूपमा खुसी साटासाट गर्छन् । यो पर्वले व्यक्तिगत र सामाजिक जीवनमा सकारात्मक प्रभाव पार्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?