+
+
Shares

पोर्चुगलस्थित नेपाली राजदूतावास उद्घाटन

कपिलदेव खनाल कपिलदेव खनाल
२०८२ फागुन ८ गते ६:२१

८ फागुन, लिस्वन । यहाँ स्थित नेपाली राजदूतावासको ‘चान्सरी’बिहीवार औपचारिक उद्घाटन भएको छ । पोर्चुगलको राजधानी लिस्वनमा राजदूतावासको कार्यालय १० महिना अघि (१६ अप्रिल २०२५) मा स्थापना भएर सेवा दिँदै आएकोमा बिहीवार ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर औपचारिक उद्घाटन भएको हो ।

नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राई र पोर्चुगल गणतन्त्रको विदेश मामिला तथा सहयोग राज्य सचिव डा.आनाइसाबेल जेभियरले संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटन पछिको औपचारिक कार्यक्रममा बोल्दै परराष्ट्र सचिव राईले राजदूतावासको औपचारिक समुद्घाटनले दुई देशबीचको मित्रता र सहकार्य संस्थागत भएको बताए ।

कार्यक्रममा पोुर्चगलका राज्य सचिव जेभियरले नेपालीको राजदूतावासलाई स्वागत गर्न पाउँदा खुसी व्यक्त गरिन् । उनले दुई देश बीचको भावी कूटनीतिक प्रयासहरूमा समेत पोर्चुगल सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा पोर्चुगलको कूटनीतिक कोर्प्सका डीन एन्ड्रेस कार्रास्कोसा कोसो, पोर्चुगलका लागि नेपालका राजदूत प्रकाशमणि पौडेल, पोर्चुगलको विदेश मन्त्रालयका महासचिव राजदूत फ्रान्सिस्को रिबेरो टेलेस लगायत कूटनीतिक क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो ।

नेपाली समुदायसँग अन्तरक्रिया

राजदूतावास कार्यालय उद्घाटनपछि नेपाली समुदायका प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राई र पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले नेपाली समुदायका प्रतिनिधिहरुसँग अन्तरक्रिया गरेका हुन् ।

पोर्चुगलमा नेपाल प्रवर्द्धन गर्न सकिने सम्भावना र यहाँ रहेको नेपालीहरुको समस्यामा अन्तरक्रिया केन्द्रित थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्षहरु, पुर्व अध्यक्षहरु, विभिन्न संघसंस्थाका अध्यक्ष तथा नेपाली समुदायका अगुवा प्रतिनिधिहरुको सहभागिता थियो ।

कार्यक्रममा सहभागीहरुले राजदूतावासले प्रदान गर्ने सेवा शुल्क महंगो भएको गुनासो गरेका थिए । साथै कागजी झमेलाका कारण नेपालीहरु समस्यामा परिरहेकाले सहजीकरण गर्न आग्रह पनि गरे ।

अनलाइनखबरकर्मी खनाल पुरस्कृत

राजदूतावासले आयोजना गरेको खुल्ला लेख रचना प्रतियोगितामा विजयी भएका दुई जनालाई परराष्ट्र सचिव अमृतकुमार राईले प्रशंसा पत्र प्रदान गरेका छन् । राजदूतावासले २०८२ सालको नेपाल संविधान दिवसको अवसरमा लेख रचना प्रतियोगिता आयोजना गरेको थियो ।

उक्त प्रतियोगितामा हाल पोर्चुगल बस्ने काठमाडौंका प्रशान्त श्रेष्ठ पहिलो र पोर्चुगलस्थित अनलाइनखबरकर्मी कपिलदेव खनाल दोस्रो भएका थिए । विजयीहरुलाई राजदूतावासको तर्फबाट प्रशंसा पत्र र करिव ३२ हजार रुपैयाँ (दुई सय युरो) प्रदान गरिएको छ ।

लेखक
कपिलदेव खनाल

कपिलदेव खनाल पोर्चुगलमा कार्यरत सञ्चारकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?