+
+
Shares

कमजोर छैनन् झापाका अरु क्षेत्र र उम्मेदवार

झापामा ५ वटा निर्वाचन क्षेत्र रहे पनि बढी चर्चा बालेन र ओलीको मात्रै हुँदा अरु क्षेत्रका उम्मेदवार छायामा देखिएका छन् । तर राष्ट्रिय राजनीतिमा तिनले खेलेको भूमिका कमजोर छैन । नयाँ सम्भावना पनि त्यत्तिकै छन् ।

हरि अधिकारी हरि अधिकारी
२०८२ फागुन ८ गते ९:१५

८ फागुन, विराटनगर । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि दलका उम्मेदवार चुनावी अभियानमा छन् । दलका उम्मेदवार चुनावी अभियानमा हुँदा चर्चाको केन्द्रमा छ झापा क्षेत्र नम्बर ५ ।

झापामा प्रतिनिधिसभाका लागि ५ वटा क्षेत्र छन् । बाँकी ४ वटा क्षेत्रहरू पनि उत्तिकै महत्त्वपूर्ण र निर्णायक छन् । तर, बहसको मूलधारमा क्षेत्र नम्बर ५ मात्रै छ ।  पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले उम्मेदवार केपी शर्मा ओली र रास्वपा उम्मेदवार बालेन शाह चर्चाको केन्द्रमा छन् ।

यो क्षेत्र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीको गृहक्षेत्र हो । ओलीको क्षेत्र हुनुले स्वाभाविक रूपमा भीआईपी क्षेत्र बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको उम्मेदवारीले यो क्षेत्रलाई झन् चर्चामा ल्यायो ।

नेकपा उम्मेदवार रञ्जित तामाङ, कांग्रेस उम्मेदवार मन्धरा चिमरिया, श्रम संस्कृति पार्टीका समिर तामाङसहितका उम्मेदवारले ओलीको क्षेत्रमा धावा बोलिरहेका छन् । हेभीवेट भर्सेस नयाँ लहरको क्षेत्र नम्बर ५ ले अरू क्षेत्रलाई छायामा पारिदिएको छ ।

क्षेत्र नम्बर ५ ले बजार पिटिरहँदा झापाका अन्य ४ क्षेत्रमा पनि उत्तिकै शक्तिशाली र राष्ट्रिय कदका नेताहरूको प्रतिस्पर्धामा छन् ।

झापा क्षेत्र नम्बर १ नेपाली कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा निर्वाचित भएको क्षेत्र हो । तर, उनी यो पटक चुनावी मैदानमा छैनन् । कांग्रेसबाट यो क्षेत्रमा केशवराज पाण्डे उम्मेदवार छन् । नेकपा एमालेले रामचन्द्र उप्रेतीलाई उम्मेदवार बनाएको छ । रास्वपाले पूर्वसांसद निशा डाँगीलाई उम्मेदवार बनाएको छ । नेकपाले इन्जिनियर अशेष घिमिरेलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा दल र स्वतन्त्र गरी १४ जना उम्मेदवार छन् ।

झापा क्षेत्र नम्बर २ मा पनि हेभीवेट उम्मेदवार चसनावी मैदानमा छन् । प्रतिनिधिसभाका निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगर प्रतिस्पर्धा गरिरहेका छन् । घिमिरे २०७९ सालको निर्वाचनमा एमालेबाट विजयी भएर सभामुख भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक कोटाबाट सांसद हुँदै उपसभामुख बनेकी इन्दिरा राना पहिलो पटक प्रत्यक्ष निर्वाचनमा होमिएकी हुन् । यो क्षेत्रमा नेकपाबाट धर्मशीला चापागाई उम्मेदवार छिन् । नेपाली कांग्रेसबाट सरिता प्रसाईं उम्मेदवार छिन् । गत निर्वाचनमा सम्मानजनक मत ल्याएका अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल) राप्रपाबाट उम्मेदवार छन् ।

झापामा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन हेभीवेट उम्मेदवार छन् । यो क्षेत्र कांग्रेसका शीर्ष नेता कृष्णप्रसाद सिटौलाको पनि हो । तर,उनी यो पटक चुनावी मैदानमा छैनन् । क्षेत्र नम्बर ३ मा नेकपा एमालेले हरिबहादुर राजवंशीलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसले राजेन्द्रकुमार घिमिरे र नेकपाले डिल्लीराम घिमिरेलाई उम्मेदवार बनाएको छ । रास्वपाले प्रकाश पाठकलाई मैदान उतारेको छ ।

क्षेत्र नम्बर ४ मा एमालेबाट लालप्रसाद (एलपी) सावाँ उम्मेदवार छन् । रास्वपाले यो क्षेत्रमा शम्भुप्रसाद ढकाल, कांग्रेसबाट देउमान थेबे, नेकपाबाट पुरुषोत्तम चुडाल र राप्रपाबाट भक्तिप्रसाद सिटौला चुनावी मैदानमा छन् ।

सबै क्षेत्रबाट जित्ने सांसदको हैसियत समान हुन्छ । नीति निर्माण र देशको भविष्य कोर्ने काममा सबैको भूमिका उत्तिकै रहन्छ । तर, मिडिया र सामाजिक सञ्जाल हाइप्रोफाइलमा मात्रै केन्द्रित हुँदा अन्य ४ निर्वाचन क्षेत्रका मतदाताका मुद्दा ओझेलमा परेको राजनीतिक विश्लेषक गिरिश भट्टराई बताउँछन् ।

नेपाली कांग्रेस उम्मेदवार मन्धरा चिमरिया पौडेल पनि मिडियाले ओली र बालेनलाई मात्रै हाइलाइट गरेको गुनासो गर्छिन् । ‘को हो हेभीवेट ? मिडियाले हाइलाइट गरेको भरमा कोही हेभीवेट हुनसक्छ ?’ उनले भनिन्, ‘मिडियामा हाइलाइट भएनौं होला, तर जनताको घरदैलोमा सधैं छौं, उनीहरुलाई मिडियाले हेभीवेट भनिदिएको हो, तर जनताको बीचमा काम गरेको हामीले हो ।’

विश्लेषक गिरिश भट्टराई झापा क्षेत्र नम्बर ५ ले पनि अन्य १६४ वटा क्षेत्रले जस्तै एकजना सांसद जिताएर पठाउँने बताउँछन् । ‘हामी लोकतान्त्रिक अभ्यासमा छौँ, जहाँ जनताले सांसद छान्छन् र ती निर्वाचित सांसदहरूले मात्रै प्रधानमन्त्री चयन गर्छन्,’ उनले भने, ‘तर अहिले झापा क्षेत्र नम्बर ५ बाट सिधै प्रधानमन्त्री निर्वाचित भएर भोलिपल्टै शपथ लिन काठमाडौँ आउँदैछ जस्तो गरेर जुन माहोल बनाइएको छ, त्यो हाम्रो संवैधानिक व्यवस्था विपरीतको हुइँ मात्र हो ।’

नेपालमा ‘पार्लियामेन्टरी डेमोक्रेसी’ रहेकाले जनताले सिधै प्रधानमन्त्री नभई आफ्नो क्षेत्रको प्रतिनिधि मात्र छान्ने उनको भनाइ छ । ‘कुनै व्यक्ति सांसद जितेर आउँदैमा प्रधानमन्त्री बन्ने ग्यारेन्टी हुँदैन । त्यसका लागि सम्बन्धित दलले उसलाई संसदीय दलको नेता बनाउनुपर्छ,’ उनले भने, ‘अहिलेको चर्चाले हाम्रो परम्परागत वेस्टमिनिस्टर प्रणालीलाई कमजोर बनाएर राजनीतिलाई व्यक्ति केन्द्रित बनाउने जोखिम बढाउँछ ।’

मूलधारका सञ्चारमाध्यमले पनि झापा ५ लाई मात्र केन्द्रित गरी ‘प्रधानमन्त्री छानिने क्षेत्र’ का रूपमा प्रस्तुत गर्दा अन्य १६४ निर्वाचन क्षेत्रलाई ओझेलमा पार्न खोजिएको उनको तर्क छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?