+
+
Shares

धरहरा क्षेत्रको पार्किङ व्यवस्थापन काठमाडौं महानगरले गर्ने

धरहराको पूरै व्यवस्थापन महानगरलाई हस्तान्तरण गर्नका लागि समिति गठन गरिने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १६:५६

८ फागुन, काठमाडौं । काठमाडौंको धरहरा क्षेत्रमा निर्माण भएको सवारी साधन पार्किङको सञ्चालन र  व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने भएको छ । शुक्रबार धरहरा क्षेत्रमा बसेको नेपाल सरकार र काठमाडौं महानगरबीचको छलफलमा धरहरा क्षेत्रमा पार्किङ व्यवस्थापनको जिम्मा महानगरलाई नै दिने सहमति भएको हो ।

नयाँ सहमतिअनुसार धरहराभित्र रहेको पार्किङ सञ्चालन र व्यवस्थापनको काम अब महानगर प्रहरी बलले गर्नेछ । त्यसको सुरक्षासहितका बाँकी प्रबन्ध पनि नगरप्रहरीले नै गर्ने भएको छ ।

बैठकले धरहरा क्षेत्रको सञ्चालन गर्नको लागि तत्काल र दीर्घकालीन योजना, परियोजना सञ्चालन, प्रारूप सम्बन्धमा अध्ययन विश्लेषण गर्न समिति गठनको निर्णय भएको छ । जसका लागि अध्ययन, विश्लेषण र सुझावसहितको प्रतिवेदन पेस गर्न सहरी विकास मन्त्रालय र काठमाडौं महानगरले तोकेका पदाधिकारीको संयुक्त समिति गठन गर्ने निर्णय भएको छ ।

धराहराको बाहिरी संरचनाका सम्बन्धमा आवश्यक र उपयुक्त कार्य गर्न काठमाडौं महानगरलाई जिम्मा दिने निर्णय भएको काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन् ।  उनले समग्र धरहरा सञ्चालनका लागि पूर्ण रूपमा महानगरलाई हस्तान्तरण गर्न संघीय सरकारलाई आग्रह गरेको पनि बताइन् ।

सहरी विकास मन्त्री कुमार इङ्नामले सुन्धाराको बाहिरी स्वरूपको व्यवस्थापन काठमाडौं महानगरले गर्नेगरी सहमति भएको बताए । ‘बाहिरी संरचनाको सम्पूर्ण आर्थिक दायित्व महानगरले लिन्छ । पार्किङ्ग र सुरक्षाको विषय महानगरले तत्कालै अघि बढाउँछ,’ मन्त्री इङ्नामले भने ।

मन्त्री इङ्नामले महानगरको मागबमोजिम धरहराको पूरै व्यवस्थापन हस्तान्तरणका लागि समिति गठन गरिने र समितिले आवश्यक मोडालिटी तयार गर्ने जानकारी दिए ।

छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याललगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?