८ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले बन्चरेडाँडा ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश निषेध गरेको छ ।
महानगरपालिका वातावरण व्यवस्थापन विभागबाट सञ्चालन हुँदै आएको बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा दैनिक २३ वटा स्थानीय तहको फोहोरमैला अन्तिम व्यवस्थापन हुँदै आइरहेको छ ।
फोहोरमैला विसर्जन स्थलमा फोहोरमैला/कवाडी टिप्ने अनधिकृत संकलनकर्ता तथा अन्य अनधिकृत व्यक्तिहरूको प्रवेशका कारण विभिन्न स्वास्थ्य तथा मानवीय जोखिम सिर्जना हुने तथा फोहोरमैला विसर्जन क्रममा दैनिक प्रयोग हुने हेभी सवारीसाधन (डोजर, एक्साभेटर, लोडर, जेट, ट्रिपर आदि) निरन्तर चलायमान हुने हुँदा अनधिकृत व्यक्तिको उपस्थितिले सवारी दुर्घटना निम्त्याउन सक्ने महानगरको भनाइ छ ।
महानगरले शुक्रबारदेखि नै लागु हुने गरी ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश पूर्णरूपमा निषेध गरेको हो ।
उक्त ल्यान्डफिल साइट स्थलमा अनुमतिप्राप्त व्यक्ति, कर्मचारी, सुरक्षाकर्मी तथा आधिकारिक रूपमा खटिएका व्यक्तिबाहेक कोही पनि प्रवेश नगर्न/नगराउन अनुरोध गरिएको छ ।
प्रवेश गरे प्रचलित कानुन बमोजिम कारबाही हुने समेत चेतावनी दिइएको छ । अनधिकृत व्यक्ति प्रवेश गरी कुनै दुर्घटना भए कार्यालय जवाफदेही नहुने एवं सम्बन्धित पक्ष व्यक्तिलाई कानुन अनुसार सजाय हुने बेहोराको चेतावनी पनि दिइएको छ ।
प्रतिक्रिया 4