+
+
Shares

९७ वर्षमा बिहे गर्ने इच्छा : छोराले रोके, तर अदालतले दियो अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते १५:०६
सांकेतिक फोटो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिंगापुरको अदालतले ९७ वर्षका वृद्धलाई प्रेमिकासँग बिहे गर्न अनुमति दिएको छ।

सिंगापुरको अदालतले ९७ वर्षका एक वृद्ध पुरुषलाई आफ्नो प्रेमिकासँग बिहे गर्न अनुमति दिएको छ। दशकौँदेखि संगै रहेकी महिलासँग बिहे गर्ने आकांक्षामा आफ्नै छोरा बाधक बनेका थिए । अनि ती वृद्ध अदालतको ढोका ढक्ढक्याउन पुगे । अन्ततः अदालतले ती व्यक्ति मानसिक रूपमा पूर्णसक्षम रहेको ठहर गर्दै उनलाई बिहेको अनुमति दिएको हो।

नाम गोप्य राखिएका ती पुरुषले पहिलोपटक सन् १९५० मा विवाह गरेका थिए र पत्नीबाट उनका तीनजना छोरा जन्मिएका थिए । तर सन् १९७१ मा उनले आफ्नै सेक्रेटरीसँग सम्बन्ध सुरु गरे र उनीबाट अर्को सन्तानसमेत जन्मियो । रोचक कुरा के भने उनकी वैधानिक पत्नीलाई आफ्ना पतिको अर्की महिलासँगको त्यो सम्बन्धबारे जानकारी हुँदाहुँदै पनि उनी पतिसँगै बसिन् र सन् २०१४ मा उनको निधन भयो ।

पत्नीको निधनपछि सन् २०१६ मा ती वृद्धले लामो समयदेखि सम्बन्धमा रहेकी र सम्बन्धबाट एक छोरा समेत जन्माएकी महिलालाई आफ्नै घरमा ल्याएर राखे । त्यसपछि सन् २०२१ मा जब ती वृद्धले उनै महिलासँग विवाह गर्ने घोषणा गरे तब परिवारभित्रको विवाद चुलियो ।

बुबाले पुनः विवाह गर्न लागेको खबर पाएपछि उनका माहिलो छोराले पारिवारिक अदालतमा निवेदन दिए। उनले अदालतमा दिएको निवेदनमा बुबा सन् २०१७ मा लडेर घाइते भएपछि डिमेन्सिया भएको, निर्णय गर्न नसक्ने अवस्थामा पुगेको र प्रेमिकाले गलत प्रभावमा पारेको जिकिर गरेका थिए।

तर कथाले भने अर्को मोड लियो ।

सन् १९६० को दशकमा स्थापना भएको एक रसायन कम्पनीका मालिक समेत रहेका ती वृद्धले आफ्नो बकस संशोधन गर्दै माहिलो छोरा र उनीबाट जन्मिएको नातिलाई अंशको हकबाट बाहिर राखे ।

आफूलाई बिहे गर्न नदिने प्रपञ्च गर्ने छोरा विरुद्ध उनले ३८ लाख सिंगापुर डलर क्षतिपूर्ति र कम्पनीसम्बन्धी सम्पत्ति फिर्ता माग्दै अदालतमा मुद्दा हाले।

अदालतमा पेश गरिएको चिकित्सा रिपोर्टको प्रमाणअनुसार ती वृद्धमा उमेरका कारण हल्का स्मरणशक्तिको कमजोरी देखिए पनि विवाह र सम्पत्तिजस्ता विषयमा निर्णय गर्न उनी पूर्ण रूपमा सक्षम रहेका छन् । अडियो रेकर्डिङले पनि उनी स्पष्ट बोल्ने, परिस्थिति बुझ्ने र आफ्ना निर्णयबारे सचेत रहेको पुष्टि गर्‍यो ।

मुद्दाको सुनुवाइ गर्ने न्यायाधीश शोभा नायरले बुबाविरुद्ध अदालतमा मुद्दा हाल्ने छोराको कपटका बारेमा पनि फैसलामा ठहर गरेकी छिन् । जस अनुसार अदालती निवेदनमा बुबालाई अयोग्य दाबी गर्ने उनै छोराले सन् २०१९ मा बुबालाई नै कम्पनीको सीईओ नियुक्त गर्न स्वीकृति दिएका थिए।

तिनै प्रमाणका आधारमा अदालतले माहिलो छोराको निवेदन खारेज गरिदियो । अदालतले ती वृद्ध ५० वर्षदेखि एउटै महिलासँग सम्बन्धमा रहेको र ती महिलाले उनलाई ठगी गर्न वा सम्पत्ति हडप्न खोजेको कुनै प्रमाण नरहेको ठहर गर्‍यो । अनि अदालतले ती वृद्धलाई आफ्नी प्रेमिकासँग बिहे गर्न बाटो खोलिदियो।

तथापि अदालतको उक्त फैसलाविरुद्ध छोराले पुनरावेदन गरेको हुनाले ९७ वर्षे वृद्धले प्रेमिकासँग बिहे गर्नका लागि अझै केही समय कुर्नुपर्ने देखिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?