७ मंसिर, काठमाडौं । अध्यागमन विभागमा एउटा सूचना आयो– चिनियाँको एक समूहले काठमाडौंमा भिसा विपरीतको काम गर्दै आएको छ ।
सूचनालाई थप भेरिफाइ गरेपछि उक्त चिनियाँ समूहलाईलाई अध्यागमन विभागले लोकेट गर्यो । सोह्रखुट्टे भन्दा केही पर म्हैपीको एक घरमा उनीहरूको बसेको अध्यागमनले पत्ता लगायो । अध्यागमनको टोलीले २८ आसोजमा उक्त घरमा खानतलासी गर्न पुग्यो ।
प्रहरी समेत लिएर गएको अध्यागमन विभागले ढोका खोल्न पटक–पटक अनुरोध गर्दा पनि लामो समयसम्म उनीहरूले ढोका खोलनन् । करिब १५ मिनेटपछि बल्ल चिनियाँ समूहले ढोका खालेको थियो ।
अध्यागमनको टोली पुग्दा उक्त कोठामा चार चिनियाँसँगै चार नेपाली युवती पनि थिए । अध्यागमनका एक अधिकृतका अनुसार, नेपाली युवतीलाई विभिन्न प्रलोभन देखाएर चिनियाँहरूले सम्पर्क गरी चीन लानेसम्मको प्रलोभन देखाएर प्रयोग गरेको देखिएको छ ।
पक्राउ परेका चार चिनियाँलाई अध्यागमनको कार्यालयमा ल्याएर अनुसन्धान गरिएको छ । अहिले पनि उनीहरू अध्यागमन विभागकै हिरासतमा रहेका छन् । उनीहरूमाथि अहिले बयानको काम भइरहेको विभागका महानिर्देशक रामचन्द तिवारी बताउँछन् ।
अहिले नियन्त्रणमा रहेका चिनियाँहरू बिजनेस भिसामा काठमाडौं आएको पाइएको छ । बिजनेश भिसामा नेपाल आएर उनीहरूले भने बिजनेश भने गरेको देखिँदैन । अहिले भिसा विपरीत उनीहरू बसेको देखिएपछि अहिले यही कसुरमा उनीहरूमाथि अनुसन्धान भइरहको विभागका निर्देशक तथा प्रवक्ता टिकाराम ढकालले बताए ।
‘बिजनेश भिसामा आएको देखिन्छ । तर उनीहरूको यहाँ कुनै पनि बिजनेश देखिँदैन,’ ढकालले अनलाइनखबरसँग भने ।
तर यो समूहले बिजनेश भिसा नै कसरी प्राप्त गर्यो भन्ने विषय नै शंकास्पद देखिन्छ । बिजनेश भिसा प्राप्त गर्नका लागि यहाँ गर्ने लगानीदेखि, कम्पनी, त्यसको प्रकृतिलगायत सबै विषयहरू खुलाउनुपर्छ ।
तर पक्राउ परेकाहरूलाई सोधखोज गर्दा यसबारे उनीहरूले केही बताउन सकेका छैनन् । तर उनीहरूबाट भिसा भने बिजनेश नै फेला परेका छ । यसबारे सोधखोज गर्दा एक चिनियाँले भने फेसन डिआइनका काम गर्ने बताएकी थिइन् । तर त्यो काम तथा कुनै कम्पनी खोलेको देखिएको छैन ।
‘बिहे प्रलोभनमा एक सय बढीलाई चीन पुर्याए’
पक्राउ परेका बेला पनि चार चिनियाँ नागरिक चार नेपाली युवतीसँगै फेला परेका थिए । चिनियाँ युवतीसँग सम्पर्क गर्नुको पछाडि उनीहरूलाई चीन पुर्याउने उद्देश्य रहेको देखिएको अनुसन्धान अधिकृत बताउँछन् ।
चिनियाँ युवतीसँग सम्पर्क गर्ने, सामाजिक सञ्जालमा गफिएका भिडियोको स्क्रिन रेकर्ड गर्ने र चीनमा रहेका चिनियाँ युवकहरूलाई पठाउने गरेको देखिएको ती अधिकृत बताउँछन् ।
त्यसपछि चिनियाँ युवकले उक्त तस्बिर तथा भिडियो हेरेर मन परेर ‘ओके’ भनेपछि ती युवकसँग सर्म्पक गराउने र बिहे गराएरै चीन पुर्याउने गरेको देखिएको ती अधिकृत बताउँछन् ।
अहिलेसम्म यसरी एक सय भन्दा बढी नेपाली युवतीहरूलाई चीन पुर्याएको सूचना विभागले प्राप्त गरेको थियो । यही सूचनामाथि अनुसन्धान गर्न भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई विभागले भनेको थियो ।
तर अपराध अनुसन्धान कार्यालयले केही अनुसन्धान प्रक्रिया अघि बढाए पनि अहिलेसम्म एक जनाको पनि जाहेरी आएन । कुनै जाहेरी नआएपछि अहिले चिनियाँमाथि अध्यागमन कानून अनुसार कारबाही गरेर डिपोर्ट गर्ने प्रक्रिया अघि बढाइएको छ ।
प्रतिक्रिया 4