+
+
Shares

रुकुमपूर्वमा मतदान अधिकृतले त्यागे जिम्मेवारी

पुथा उत्तरगंगा गाउँपालिकाका सहायक शिक्षा अधिकृत रामप्रसाद खड्काले मतदान अधिकृतको जिम्मेवारी सम्हाल्न अस्वीकार गरेका छन् ।

बालाराम शेर्पाली बालाराम शेर्पाली
२०८२ फागुन १२ गते ९:५०

१२ फागुन, रुकुम पूर्व । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्मचारी खटनपटनलाई लिएर रुकुम पूर्वमा विवाद चर्किएको छ ।

निर्वाचनमा शिक्षकहरूलाई उपेक्षा गरी स्वास्थ्यकर्मीलाई प्राथमिकता दिइएको भन्दै पुथा उत्तरगंगा गाउँपालिकाका सहायक शिक्षा अधिकृत रामप्रसाद खड्काले मतदान अधिकृतको जिम्मेवारी सम्हाल्न अस्वीकार गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालय रुकुमपूर्वलाई लिखित पत्र बुझाउँदै खड्काले आफूलाई तोकिएको भूमे गाउँपालिका–९ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चुन्वाङको मतदान अधिकृतको पद त्याग गरेको घोषणा गरेका हुन् । उनले शिक्षकहरूको पेसागत गरिमा र मर्यादामा आँच पुग्ने गरी निर्वाचन आयोगले विभेदकारी नीति लिएको आरोप लगाएका छन् ।

‘समाजलाई चेतना र शिक्षाको उज्यालो दिने शिक्षकहरूलाई पूर्ण रूपमा बाइपास गरिएको छ । उनीहरूको मान–मर्यादा र जिम्मेवारीप्रति राज्यले उचित सम्मान नगरेको अनुभूति भएपछि मलाई मतदान अधिकृत भएर काम गर्न नैतिकताले दिएन’, खड्काले पत्रमा उल्लेख गरेका छन् ।

स्वास्थ्यकर्मी खटाएकोमा चौतर्फी विरोध

जिल्ला निर्वाचन कार्यालयले यसपटक ठूलो संख्यामा स्वास्थ्यकर्मीहरूलाई निर्वाचन कार्यमा परिचालन गर्ने निर्णय गरेपछि विवाद सुरु भएको हो ।

यसअघि नै नेपाल शिक्षक महासंघ र नेपाल पत्रकार महासंघ रुकुमपूर्वले स्वास्थ्यकर्मीलाई चुनावी कार्यमा नख६उन र उनीहरूलाई नियमित स्वास्थ्य सेवामै केन्द्रित गर्न माग गर्दै आएका थिए ।

यसअघि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत निर्वाचन अवधिभर स्वास्थ्यकर्मीहरूलाई २४ सै घण्टा ‘अलर्ट’ रहनुपर्ने भन्दै उनीहरूलाई निर्वाचन कार्यमा नखटाउन निर्वाचन आयोगलाई पत्राचार गरिसकेको छ । तर, जिल्लामा भने अन्य क्षेत्रमा कार्यरत कर्मचारी हुँदा पनि स्वास्थ्यकर्मीलाई नै चुनावी जिम्मेवारी तोकिएपछि विवाद चर्किएको छ ।

अन्योलमा निर्वाचन कार्यालय

निर्वाचनको मुखैमा जिम्मेवार कर्मचारीले नै जिम्मेवारी सम्हाल्न नसक्ने बताएपछि जिल्ला निर्वाचन कार्यालय रुकुमपूर्व दबाबमा परेको छ । एकातिर स्वास्थ्य मन्त्रालयको निर्देशन र अर्कोतिर शिक्षकहरूको असन्तुष्टिले गर्दा जिल्लामा निर्वाचन व्यवस्थापनमा समस्या देखिएको छ ।

सहायक शिक्षा अधिकृत खड्काको यो कदमपछि अन्य शिक्षक र शिक्षा क्षेत्रका कर्मचारीहरूले पनि विरोधका स्वरहरू बढाउन थालेका छन् । जिल्ला निर्वाचन कार्यालयले यो परिस्थितिलाई कसरी सम्बोधन गर्छ र रिक्त स्थानमा कसरी कर्मचारी व्यवस्थापन गर्छ भन्ने विषय अहिले जिल्लाभर चासोको केन्द्र बनेको छ ।

एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका लिलामणि गौतम, नेपाली कांग्रेसकी कुसुमदेवी थापा, रास्वपाका लखन कुमार थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्दिप पुन, राप्रपाका रोषण शाह सहित १४ जना प्रतिस्पर्धामा छन् ।

लेखक
बालाराम शेर्पाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?