News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक दिवाकर भट्टराईले नेपाली फिल्म निर्माणका तीन चरण प्रि-प्रोडक्सन, प्रोडक्सन र पोस्ट-प्रोडक्सनमा भोग्ने चुनौती र सास्ती विस्तारमा खोलेका छन्।
- उनीले प्राविधिक काममा ढिलासुस्ती र खराब क्वालिटीले फिल्म प्रदर्शनमा जोखिम र आर्थिक क्षति हुने उल्लेख गरेका छन्।
दिवाकर भट्टराई, नेपाली सिनेमाका पोख्त निर्देशक हुन् । उनले क्याप्टेन, ऐश्वर्य, मायावीजस्ता फिल्म निर्देशन गरे । पछिल्लो समय भट्टराई निर्देशित नरसिंहा अवतार प्रदर्शन भयो।
आधा दर्जन फिल्म निर्माणमा उनले जे जस्ता सफलताको स्वाद चाखे, उत्तिकै सास्ती पनि झेले ।
फिल्म परिकल्पनादेखि प्रदर्शनसम्म आइपुग्दा एउटा निर्देशकले के कस्तो कष्ट झेल्नुपर्छ ? के कस्ता सास्ती व्यहोर्नुपर्छ ? के कस्ता जोखिम उठाउनुपर्छ ? दिवाकर त्यसका भुक्तभोगी हुन् । किनभने पूर्णकालीन सिनेमा निर्माणमा खटिएका उनीसँग यसका लम्बाइ–चौडाइ अनुभव छन् । फिल्म निर्माण आफैंमा चुनौतीपूर्ण काम हो । यसका लागि कथा रचनादेखि संशाधन व्यवस्थापन, कलाकार छनौट, आर्थिक व्यवस्थापन जस्ता थुप्रै झन्झट व्यहोर्नुपर्ने हुन्छ।
मूलत फिल्म निर्माणलाई तीन चरणमा सम्पन्न गरिन्छ । प्रि-प्रोडक्सन, प्रोडक्सन र पोस्ट-प्रोडक्सन । यी चरणहरू सिलसिलाबद्ध र अत्यन्तै मिहेनतका साथ पूरा गरेपछि बल्ल फिल्म तयार हुन्छ, प्रदर्शनका लागि।
फिल्म त तयार हुन्छ र चहकिलो पर्दामा त्यो दर्शकमाझ पुग्छ । तर, पर्दामा देखिने सो दृश्य निर्माणका लागि पर्दापछाडि बसेर एउटा निर्देशकले के-के गरेका हुन्छन् ? धेरैलाई थाहा हुन्न ।
फिल्म प्रदर्शनपछि कस्तो होला ? त्यसले के लगानी उठाउँछ ? मुनाफा कमाउँछ ? यो प्रश्नहरूले त निर्देशकलाई बेचैन बनाउँछ नै । त्यससँगै फिल्म निर्माणका विभिन्न चरणमा भोग्नुपर्ने अनेक सास्ती उनीहरूलाई आराम दिँदैन।
यसरी फिल्म निर्माणका क्रममा एउटा निर्देशकले के कस्ता दुःख झेलेका हुन्छन् ? पर्दामा नदेखिएका कुरा निर्देशक दिवाकर भट्टराईले खोलेका छन् । उनै निर्देशक भट्टराईले सिनेमा निर्माणका क्रममा भोग्नुपर्ने कथा विस्तारमा सुनाएका छन् ।
प्रस्तुत छ उनको भनाइ जस्ताको तस्तै:
पोस्ट प्रोडक्सनको हैरानी
नेपाली फिल्म उद्योगमा फिल्म मेकर्सले सबैभन्दा धेरै दुःख पाउने भनेको पोस्टप्रोडक्सनमा हो । यो समस्याबाट ९० प्रतिशत फिल्म मेकर्स गुर्जिनुपरेको छ । हामी पुराना मेकर्सको त यो पीडा छ भने नयाँको कस्तो होला ? तपाईँ आफैं अनुमान लगाउन सक्नुहुन्छ । भर्खरै प्रदर्शन भएको चलचित्र ‘शिवांश’ मेकर्सले पोस्टप्रोडक्सनमा पाएको पीडाबारे सार्वजनिक रूपमा मिडियामार्फत सुनेको थिएँ ।
राजेन्द्र मोक्तान, रेनिष फागो, मनोरन्जन, मुकेश मामा लगायतका कतिपय टेक्निसियनहरू छन् उहाँहरू धेरै ठिक हुनुहुन्छ । मुकेश मामा कति सिरियस काम गर्नुहुन्छ, त्यो सबैलाई थाहा छ । तर, अन्य केहि प्राविधिक तथा टेक्निसियनहरूबाट गतिलो आउटपुट आएको देखिएन ।
ध्वनि मिक्सिङ : एक सास्ती
हामीकहाँ बिग हाउस छैन, जहाँ गएर सबै काम सम्पन्न गर्न सकियोस्, भनेको बेलामा गर्न सकियोस् । अहिले चिनजानका साथीभाइ र सम्बन्धका आधारमा हामीले फिल्मको काम गरिन्छ, विशेषगरी टेक्निसियनहरूलाई त्यसैअनुसार पोस्टको काम दिइन्छ । सिनेमा प्रदर्शनको बेलामा हामीले पनि उनीहरूलाई प्रेसर गर्न सक्दैनौं ।
तर, कामको प्रेसरले हामीलाई नराम्रोसँग चिन्ता दिएको हुन्छ । खासगरी समयमा काम नसकिने भनेको साउन्डमा हो । गतिलो काम नहुने पनि साउण्डमा नै हो । खासमा त उनीहरूले हल टेस्ट गरेर साउण्डको फाइल हामीलाई फाइनल दिनुपर्ने हो ।
हालै सम्राट फिल्म्समा साउन्डको काम दिएको थिएँ, त्यहाँ सही काम भएन । भरत कंडेल त्यहाँका सञ्चालक हुनुहुन्छ । भोलि जस्तो सिनेमा रिलिज हो, रातिको २ बजेसम्म काम नसकिएपछि सिनेमा चौतारीमा लगेर साउन्ड आउटपुट निकालेर हलमा प्रदर्शन गरेका थियौं ।
काठमाडौंमा भर्खरै आउनुभएको र नयाँ जुझारु भएकाले चलचित्र मायावी, नरसिंहाको साउन्डको काम मैले उहाँलाई दिएको थिएँ । पारिश्रमिक पनि चित्तबुझ्दो दिएको छु । तर, उहाँले पारिश्रमिक पाइएन भनेर कहीँकतै बोलेको पनि थाहा पाएँ । तर, यी दुवै फिल्मको साउन्डमा सम्राटका सञ्चालकले गतिलो काम दिएनन् ।
प्राविधिक काममा ढिलासुस्ती हुँदाको हैरानी
प्रोड्युसर, निर्देशकहरू कतिपय साउन्ड मिक्सिङ, सम्पादन टेक्निसियनले दिएको दुःखले हामी गिभअप गर्न वाध्य भइन्छ । उनीहरूको पछि लागेर बस्नुपर्छ । नरसिंहको समयमा ३ दिन स्टुडियोमै सुतेको छु, यो कसले देख्छ । हामीले समयमा फाइल बुझाए पनि कुन फिल्म प्रदर्शन हुँदैछ त्यसैलाई प्राथमिकता दिएर पोस्टमा काम हुन्छ, यो ठिक होइन।
यदि मैले सुरुमा फाइल बुझाएको छु भने मेरो काम छिटो सकिनुपर्यो नि । तर, यहाँ अधिकांश ठाउँमा रिलिजकै अगाडि काम सक्ने चलन जुन छ, त्यो गलत हो । यसले खर्च बढ्ने र करोडौंको सिनेमा जोखिममा पर्छ ।
खासगरी पोस्टको काममध्ये अडियोको क्वालिटीमा नेपाली फिल्म चुकेको छ । सबै टेक्निसियन खराव छन् भनेको छैन । तर, कतिपय खराब छन् जसले हामी आम फिल्म मेकर्सलाई दुःख दिएको छ ।
(अनलाइखबरका लागि रामजी ज्ञवालीसँगको कुराकानीमा आधारित)
प्रतिक्रिया 4