१४ फागुन, काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भूसालले मुलुकलाई राजनीतिक स्थिरताको बाटोमा अघि बढाउन निर्वाचनपछि नेपाली कांग्रेस नेतृत्वमा स्थायी सरकार निर्माण अपरिहार्य भएको बताएकी छिन् ।
बिहीबार सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति भूसालले उनले पुस्तान्तरणको मुद्दालाई पार्टीले स्थापना गरिसकेको दाबी गर्दै आउने प्रदेश र स्थानीय तहको निर्वाचनसम्म प्रतिज्ञा प्रत्रको कार्यान्वयनबारे मतदाताले प्रश्न गर्ने वातावरण सिर्जना हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
‘हामीले पुस्तान्तरण्को मुद्दालाई स्थापित गरिसकेका छौं । कर्णाली क्षेत्रमै पनि नयाँ उम्मेदवारहरूलाई जनतामाझ पुर्याएका छौँ । भोलिको दिनमा प्रदेश र स्थानीय तहको निर्वाचनको उम्मेदवार पनि आउँदै गर्दा कुनैपनि मतदाताले प्रतिज्ञा पत्रमा लेखेका कुरा किन कार्यान्वयन भएनन् ? भनेर सोध्न नपरोस् । ती उम्मेदवार प्रतिनिधिहरूले शीर निहुराउन नपरोस् भनेर नेपाली कांग्रेसले सत्ताको बोगडोर सम्हाल्दैछ,’ उनको भनाइ छ ।
महिला, दलित र जनजातिलाई मुलुकको विकासको मूलधारमा ल्याउन नयाँ दृष्टिकोणसहित परिवर्तनको नेतृत्व गरेको कांग्रेसलाई मतदान गर्न समेत अपिल गरिन् ।
कानून, नियम र संविधानभन्दा माथि कोही पनि नहुने शासन प्रणाली स्थापित नभएसम्म राजनीतिक उपलब्धिको संरक्षण गर्न नसकिने उल्लेख गर्दै उनले त्यसको लागि फागुन २१ को निर्वाचनपछि काँग्रेसको सरकार अनिवार्य भएको जिकिर गरिन् ।
‘जबसम्म यो मुलुकका नेता तथा जनता कानून, नियम र संविधानभन्दा माथि ठान्नु हुँदैन भन्ने किसिमको शासन प्रणाली स्थापित हुँदैन तबसम्म हामीले प्राप्त गरेका उपलब्धीहरू द्धन्द्ध र राजनीतिक अस्थिरताले कमजोर नबनाओस् भनेर हामीले जेनजी आन्दोलनको मागहरूलाई सम्मान गरेका छौं,’ उनले भनिन् ।
प्रतिक्रिया 4