१४ फागुन, काठमाडौं। भरतपुर महानगर–२१, चितवनका बसन्त पौडेललाई अनलाइनखबरको टिमले गत साता पार्वतीपुरमा भेट्दा उनी अलमलमा थिए। नेपाली कांग्रेसका समर्थक रहेछन् पौडेल, तर रेणु दाहालले मेयर भएर गरेको कामबाट प्रभावित थिए।
‘दुईपटक मेयर भएर रेणु दाहालले यहाँ राम्रो काम गर्नुभएको छ,’ पौडेलले भने, ‘कांग्रेसको उम्मेदवार पनि राम्रै हो, भोट नहाल्नुपर्ने कारण छैन।’ चितवन–३ का कांग्रेस समर्थकले १२ वर्षपछि बल्ल यसपटक रुख चिह्नमा मत हाल्ने अवसर पाएकाले पनि उनको अलमल अझ बढाएको बुझिन्थ्यो।
बाक्लो चहलपहल भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति उनी सकारात्मक देखिएनन्। तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति भने चर्को आक्रोश पोखे।
‘केपी ओलीले आफ्नो पार्टीका बारेमा बोल्दा राम्रो हो, शेरबहादुर देउवाको घरमा भेटिएको पैसा हो कि एआई भनिरहनुपर्दैन,’ पौडेलले भने। जेनजी आन्दोलन हुँदा देउवाको घरमा जलेको पैसा भेटिएकोबारे ओलीले झापामा बोलेका थिए।
‘शेरबहादुरको घरबाट पैसा निस्केको देखायो नि, त्यो अर्कै देशमा कहीँ कतै केही बनाएर, एआई भन्छ आजकल, त्यसले फोटोहरू बनाउँछ र हाल्छ,’ गत २४ माघमा ओलीले भनेका थिए। ओलीको यस्तो अभिव्यक्तिप्रति चितवनमा पौडेलजस्ता थुप्रै मतदाता आक्रोशित भेटिए।
‘जनतालाई हेप्नुको हद हुन्छ नि! शेरबहादुरको घरमा पैसा जलेको हो कि होइन भन्ने हामीले पनि बुझेका छौँ,’ कालिका-१० चितवनकै भेषराज अर्यालले भने। फरक पार्टीमा आस्था राख्नेहरू मात्र होइन, एमालेकै कार्यकर्ता पनि ओलीको बोलीप्रति असन्तुष्ट भेटिए। यद्यपि चुनावका बेला भएकाले औपचारिक प्रतिक्रिया दिन उनीहरूले चाहेनन्।
रास्वपाले त ओलीको झुटलाई प्रचारकै विषय बनाएको छ। ‘जलेको पैसा भेटिएकालाई एआई भन्छन्, भ्रष्टाचारीहरूले खुलेआम जनता ठग्न थाले,’ कालिका–५ चितवनका देवी सापकोटाको आक्रोश थियो।
गत ६ माघमा उम्मेदवारी दर्ता गराएपछि ओली झापाकेन्द्रित छन्, तर उनी र उनका अभिव्यक्ति देशभर एजेन्डा बनिरहेको बुझाउने यी प्रतिनिधि पात्रहरू हुन्। ‘जेनजीका विरुद्धमा केपी ओली उभिनुभयो, यही कुरा एमालेलाई भारी पर्ने देखियो,’ माडी–३ चितवनका नारायण पोखरेलले भने।
माडी नगरपालिकाका एमाले अध्यक्ष नारायण अधिकारी पनि जेनजी आन्दोलनको असर पार्टीमा परेको स्वीकार्छन्। तर बिस्तारै सङ्गठन चलायमान बनाएको र युवा परिचालन बढाएको बताउँछन् उनी। ‘निष्क्रिय भएका युवाहरू फेरि सङ्गठनमा जोड्दै छौँ, बिस्तारै पार्टीको पक्षमा माहोल बन्दै छ,’ अधिकारी भन्छन्।
ओलीबिनाको प्रचार
पञ्चायतकै चुनावमा जागृतप्रसाद भेटवालहरूले जितेर वामपन्थी प्रभाव स्थापित गरेको चितवनमा एमालेको विगत असाध्यै बलियो छ। कांग्रेसले बहुमत ल्याएको २०४८ सालमा होस् अथवा माओवादीको दबदबा चलेको २०६४ सालमा पनि चितवनमा एमालेले जितेको इतिहास छ।
तर यसपटक एमाले कति रक्षात्मक अवस्थामा देखियो भने उसका उम्मेदवारहरूले पार्टी अध्यक्ष ओलीको तस्बिरसमेत प्रचारमा राख्न सकेका छैनन्। जबकि कुनै बेला (०७८ मा चितवनमै सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनमा) नारायणीका किनार, नारायणगढ, सौराहालगायत सहरभर ओलीका मस्कट र तस्बिरहरू टाँगेर एमाले कार्यकर्ताले गौरव मानेका थिए। तर उनै ओलीको तस्बिर चितवन एमालेको प्रचार अभियानमा अहिले देख्न लगभग मुस्किल छ।
‘यसपटक हामीलाई केही प्रतिकूल नै छ। तर पनि जित्ने उद्देश्यले लागिरहेका छौँ,’ एक नेता भन्छन्। उम्मेदवार चयनबाटै एमाले रक्षात्मक बन्न पुगेको उनी बताउँछन्। ‘सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारी, देवी ज्ञवाली, पार्वती रावलहरू मैदानमा हुनुहुन्न,’ उनी भन्छन्, ‘अध्यक्षको विश्वासमा जुनियर नेताहरू उम्मेदवार बनाइएका छन्, उनीहरूले पनि आफ्नै मात्र प्रचार गरिरहेका छन्।’
एमालेमा देखिएको टिकट वितरणको गल्तीबाट आफ्नो पार्टीलाई लाभ पुगेको रास्वपाका एक नेता बताउँछन्। ‘सुरेन्द्र पाण्डेले टिकट पाउनुभएको थियो भने यसपटक हामीलाई अप्ठ्यारो पर्ने रहेछ, त्यो नहुँदा सजिलै भयो,’ उनले विश्लेषण सुनाए।
दाग नलागेका एमालेका थोरै नेतामध्ये पर्ने पाण्डेलाई टिकट नदिएर विश्वासपात्रहरूलाई उम्मेदवार बनाउँदा पनि कसैका प्रचार सामग्रीमा ओली छैनन्। तर ओलीलाई प्रचार सामग्रीमा नसमेट्ने, ठूला सभाहरू नराख्ने चितवन अपवाद जिल्ला होइन।
झापा-५ बाहेक अरू निर्वाचन क्षेत्रमा ओलीका तस्बिर देखिँदैनन्। जबकि एमालेले ओलीलाई पाँचौँपटक पनि प्रधानमन्त्री बनाउने घोषणा गरेको छ। रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह यो क्षेत्रबाट उम्मेदवार बन्दा पनि प्रधानमन्त्रीका दुई भावी उम्मेदवार भनेरै प्रचार गरिएको छ।
तर देशभरका एमाले उम्मेदवारले आफ्ना भावी प्रधानमन्त्री ओलीका तस्बिर राखेर प्रचार गर्न सकिरहेका छैनन्। ‘केपी ओलीको तस्बिर राख्दा उल्टै भोट घट्ने स्थिति छ, त्यसैले उम्मेदवारहरूले आफ्नो मात्र फोटो राखेर प्रचार गरिरहनुभएको छ,’ एक केन्द्रीय सदस्यले भने।
उनका अनुसार, कयौँ उम्मेदवार त मिडियालाई अन्तर्वार्ता दिनसमेत डराइरहेका छन्। ‘जेनजी आन्दोलन, केपी ओलीजस्ता प्रश्नहरू सोधिहाल्छन्, पार्टीको लाइनमा बोल्दा भोट घट्ने भयो,’ एमालेका एक उम्मेदवारले भने।
उनका विश्लेषणमा एमाले उम्मेदवारहरू दोहोरो त्रासमा छन्। ‘पार्टी निर्णयको पक्षमा बलियो उभिने हो भने मतदाता भड्किने त्रास छ, केपी ओलीको तस्बिर प्रचारमा कसैले नराख्नुको कारण यही हो,’ उनी भन्छन्, ‘पार्टीको कुरा नबोलौँ भने नेतृत्वले आफ्नो राजनीतिक भविष्य सिध्याइदेला भन्ने डर छ।’
६ माघमा उम्मेदवारी दर्तापछिका दृश्यहरू हेर्दा पनि एमाले उम्मेदवारहरूलाई आफ्ना अध्यक्ष भारी भएको प्रस्ट अनुभव गर्न सकिन्छ। जबकि यिनै नेताहरू केही समयअघिसम्म केपी ओलीलाई पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीभन्दा शक्तिशाली बनाउने अभियानमा संलग्न थिए। अपानिमै लेखेर ओलीबाहेक अरू नेताको तस्बिर ब्यानरमा नराख्न निर्देशन दिनसमेत बाँकी राखिएको थिएन।
तर ओलीकै विश्वासपात्र भनेर चिनिने शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, राजन भट्टराई, महेश बस्नेतदेखि क्षितिज थेबेहरूसमेतले प्रचारमा ओलीलाई राखेका छैनन्। ‘९९.९ प्रतिशत टिकट केपी ओलीलाई बा भन्नेहरूले पाएका छन्। तर उनीहरू कसैले पनि केपी ओलीको तस्बिर राखेर मत माग्न सकिरहेका छैनन्,’ एमालेका एक नेता भन्छन्।
उनका अनुभवमा यसपटक जस्तो सङ्कटमा एमाले कहिल्यै थिएन। ‘पटक–पटक एमाले अप्ठ्यारोमा पर्दै आएको छ। तर आफ्नो अध्यक्षको नाम र कामको प्रचार गर्नै नसकिने स्थिति कहिल्यै थिएन,’ उनी भन्छन्, ‘बरु विगतका नेतृत्वले गरेको कामकै प्रचारले भोट बढ्ने स्थिति थियो।’
०७९ सालकै चुनावमा पनि एमाले अप्ठ्यारो परिस्थितिमै थियो। असंवैधानिक प्रतिनिधिसभा विघटनको निर्णय लिएको राजनीतिक एजेन्डा, पार्टी विभाजनको चोट र पाँच दलीय गठबन्धनविरुद्ध चुनावमा भाग लिँदा पनि एमाले उम्मेदवारहरूले ओलीलाई प्रचार सामग्रीमा राखेका थिए।
दार्चुला पुगेर प्रचार अभियान थालेका ओली ४२ जिल्ला पुगेका थिए। हेलिकप्टरमार्फत दिनमा तीनवटा जिल्लासम्म पुगेर ओलीले सम्बोधन गरेका थिए। ओलीको लोकप्रियतालाई एमालेले चुनाव जित्ने शक्ति मानेको थियो। घोषणापत्रमै उसको दाबी थियो– जनताबीच लोकप्रिय ओली भावी प्रधानमन्त्री।
यद्यपि ओली पुगेका अधिकांश जिल्लामा एमाले पराजित भएको थियो। तर पनि दोस्रो राजनीतिक शक्ति बनेर एमाले सरकारमा सहभागी भयो। ‘हङ पार्लियामेन्ट’ का कारण सिर्जित अस्थिरताको लाभ उठाउँदै कांग्रेससहितकै समर्थनमा ओली प्रधानमन्त्री पनि भए। तर ओली प्रधानमन्त्री भइरहँदा जेनजी आन्दोलन भयो।
जेनजी आन्दोलनपछि एमालेभित्र नेतृत्व परिवर्तनको आवाज उठेको थियो। ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, विन्दा पाण्डेहरूले नेतृत्व परिवर्तनको अभियान चलाएका थिए।
तर पार्टी विधान नै बदलेर ओलीलाई तेस्रोपटक पनि अध्यक्ष बनाउनुपर्ने पक्षधर एमालेमा हाबी भयो। विशेषगरी विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठलगायत नेताहरू निर्णायक बन्दा एमालेको नेतृत्व परिवर्तन सम्भव भएको थिएन।
नेतृत्व परिवर्तन पक्षधरले ओलीलाई नेता मानेर चुनावमा जान नसकिने तर्क गर्दा ओलीले केन्द्रीय कमिटी बैठकबाट ‘कसैले बोक्नु नपर्ने, आफैँ हिँड्ने’ जस्तो उटपट्याङ तर्क गरेका थिए। ‘कतिपय साथीले मलाई भन्छन्- तपाईंलाई त बोकेर जानै सकिन्न। किन बोक्नुपर्यो? म आफैँ हिँड्छु त,’ २९ असोजको बैठकमा ओलीले भनेका थिए, ‘हिँड्न नसक्ने होइन, दौडन सक्ने अवस्थामा छु।’
ओलीको यस्तो अडानलाई राजनीतिक रङ दिने कामको नेतृत्व शङ्कर पोखरेलले गर्दै आएका छन्। उनको तर्क छ- ‘गिरिजाप्रसाद कोइराला पनि यस्तै सङ्कटमा पर्नुभएको थियो। तर ०५९ सालपछि देश सङ्कटमा जाँदा नायक भएर आउनुभयो।’
तर उनै शङ्करले पनि चुनावी अभियानमा आफ्नो निर्वाचन क्षेत्र दाङमा ओलीलाई लैजान सकेका छैनन् भने फेसबुक प्रचारमा समेत राखेका छैनन्।
उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई निर्वाचन मूल परिचालन समितिको संयोजक बनाइएको छ, तर एउटै पनि ठूलो सभा अहिलेसम्म भएको छैन। स्रोतका अनुसार मौन अवधिसम्मै ओलीले झापा–५ मा मत माग्न हिँड्ने कार्यक्रम तय भएकाले यसपटक एमालेको सभा हुनेछैन।
‘निर्वाचन क्षेत्रस्तरीय कार्यक्रमहरू भइरहेका छन्। तर यसपटक एमालेले खुला सभाहरू राखेको छैन,’ एक पदाधिकारीले भने, ‘घरदैलो अभियान नै प्रभावकारी बनाउँछौँ।’ सङ्गठनात्मक परिचालनमा सशक्त मानिने एमालेका निम्ति यो नयाँ अभ्यास हो।
प्रतिक्रिया 4