१६ फागुन, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ले युवालाई राजनीतिक गुन्डा बनाउन नपाइने भन्दै खबरदारी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले आफूले भने युवालाई ढुङ्गा हान् नभन्ने बताएका हुन् ।
‘युवालाई राजनीति गुन्डा बनाएर हिँडाए नि मान्छेले हैन त ? जा भाइ त्यसलाई कुट, केही भए म छु नि, प्रहरीले पक्रिए पनि म छुटाइहाल्छु भनेर,’ साम्पाङले भने, ‘अनि हाम्रो भाइ भतिजो कुट्न थाल्छ, भोलि काट्न थाल्छ, पर्सी मार्छ । अनि मारेपछि जेल जान्छ ।’
युवालाई राजनीतिक गुन्डा बनाउनेलाई खबरदारी गर्न चाहेको उनले बताए । उनले अगाडि भने, ‘युवालाई यो देशको सबैभन्दा ठुलो निर्माण र उत्पादनको शक्ति बनाउन चाहन्छ, श्रम संस्कृति पार्टी ।’
आफू कहिल्यै पनि युवालाई ढुङ्गा हान् नभन्ने उनले प्रतिबद्धता व्यक्त गरे । ‘तर मैले देश निर्माण गर्दा ढुङ्गा बोक् भन्न सक्छु,’ साम्पाङले भने ।
प्रतिक्रिया 4