News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम संस्कृति पार्टीले सुकुमवासी बस्ती भत्काउने सरकारको कदम संविधानको बर्खिलाप भएको भन्दै रोक्न माग गरेको छ।
- अध्यक्ष हर्क साम्पाङले उचित क्षतिपूर्तिसहित पुनर्बास र व्यवस्थापन गरेर मात्र सरकार अघि बढ्न सुझाव दिनुभएको छ।
- साम्पाङले जनताको घर भत्काउनु र राज्य आतंक मच्चाउनु सरकारको निरंकुश चरित्र देखाएको आरोप लगाउनुभएको छ।
११ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीले सुकुमवासी बस्तीहरु भत्काउने सरकारको कदमप्रति खेद प्रकट गरेको छ । यस्ता कदम संविधानको बर्खिलाप भएको भन्दै सो पार्टीले यस्ता गतिविधि रोक्न माग गरेको छ ।
अध्यक्ष हर्क साम्पाङले विज्ञप्ति जारी गर्दै उचित क्षतिपूर्तिसहित पुनर्बास र व्यवस्थापन गरेर मात्र अघि बढ्न सरकारलाई सुझाएका छन् ।
उनले भनेका छन्, ‘हाल सरकारले देशका विभिन्न स्थानहरुमा रहेका सुकुमवासी बस्तीहरुमा गरीब जनताका बासस्थान भत्काइरहेको घटना (संविधानको धारा ३७ को उपधारा १ को बर्खिलाप हुने गरीको घटना) प्रति खेद प्रकट गर्दै त्यस्ता गतिविधि अविलम्ब रोकी उचित क्षतिपूर्तिसहित उचित पुनर्बास र व्यवस्थापन गरेर मात्रै सरकार अघि बढोस् भन्ने सुझाव दिन्छौं ।’
सरकारले निरंकुश चरित्र देखाएको आरोप उनले लगाएका छन् । उनले विज्ञप्तिमा लेखेका छन्, ‘जनताको घर भत्काउनु, जनतालाई बेघर बनाउनु, लछारपछार गर्नु, गालीगलौज गर्नु, लाठी बुट, बन्दुक देखाएर तर्साउनु र राज्य आतंक मच्चाउनुले (संविधानको धारा १६ को उपधारा १ को बर्खिलाप हुने गतिविधिले सरकारको निरंकुश चरित्र देखाएको छ ।’
यस्ता घटनाले लोकतन्त्रको मूल्य मान्यतालाई पनि लत्याएको अध्यक्ष साम्पाङको टिप्पणी छ ।

प्रतिक्रिया 4