+
+
Shares

प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २ घण्टा हिँड्नु पर्ने

सलिम मियाँ सलिम मियाँ
२०८२ फागुन १७ गते ९:३४

१७ फागुन, प्युठान । प्युठानको एक मतदान केन्द्र पुग्न अझै पनि दुई घण्टाभन्दा बढी पैदल यात्रा गर्नुपर्ने अवस्था छ । सरुमारानी गाउँपालिका-४  स्थित कालिका प्राथमिक विद्यालय, सिरुवारीमा रहेको उक्त केन्द्र जिल्लाकै एक मात्र यस्तो मतदान स्थल हो, जहाँ यातायातको सहज पहुँच पुगेको छैन ।

जिल्लामा १५८ मतदान स्थलअन्तर्गत २३० मतदान केन्द्र छन् । तर, सिरुवारी केन्द्र पुग्न प्यूठान–भालुवाङ सडक खण्डको कुडुलेबाट माडी नदीमाथिको झोलुङ्गे पुल तरेर दुई घण्टाभन्दा बढी पैदल हिँड्नुपर्ने बाध्यता छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार माडी नदी पार गरेपछि मात्रै केन्द्रमा पुग्न सकिन्छ। प्रमुख जिल्ला अधिकारी शान्तिराम प्रसाईंले उक्त केन्द्र सुरक्षाका दृष्टिले पनि संवेदनशील रहेको बताए । ‘सिरुवारी मतदान केन्द्र पुग्न माडी नदीमाथिको झोलुङ्गे पुल तरेर दुई घण्टाभन्दा बढी पैदल हिँड्नुपर्ने रहेछ’, उनले भने, ‘संवेदनशील भएकाले विशेष सुरक्षा व्यवस्था मिलाएका छौं ।’

सुरक्षा निकायको टोलीले मतदान स्थलको स्थलगत अनुगमनसमेत गरेको उनले जानकारी दिए ।

उक्त केन्द्रमा ४२८ मतदाता छन् । जिल्लाभर भने १ लाख ६५ हजार ४०६ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तहले कुडुलेदेखि सिरुवारी गाउँसम्म मोटरबाटो निर्माण गरे पनि माडी नदीमा पक्की पुल नबन्दा सिधा यातायात सुविधा पुगेको छैन ।

गाउँपालिका प्रवक्ता चिन्तबहादुर सोमै मगरका अनुसार २०७५ सालमै सम्भाव्यता अध्ययन, डीपीआर र माटो परीक्षण सम्पन्न भई २०७७ सालमा लुम्बिनी प्रदेश सरकारबाट १२ करोड रुपैयाँ विनियोजन गरेर ठेक्का लगाइएको थियो । ‘पालिकाको पहलमा पक्की पुलको ठेक्का लागेको हो, तर ठेकेदारकै कारण काम अघि बढ्न सकेन’, वडाध्यक्षसमेत रहेका उनले भने, ‘हिउँदमा खोला तरेर ट्याक्टर जान सक्छ, अरू साना गाडी जान मुस्किल छ ।’

ठेक्का प्रक्रिया तोडेर नयाँ प्रक्रिया सुरु हुन नसक्दा पुल निर्माण अन्योलमा परेको उनले बताए ।

पुल निर्माणमा भएको ढिलाइले मतदान केन्द्रसम्मको पहुँच मात्र होइन स्थानीय बासिन्दाको दैनिक आवतजावतसमेत प्रभावित भएको ।

लेखक
सलिम मियाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?