+
+
Shares

यी हुन् अर्बपति जोकर, जो सडकबाट उठेका थिए

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १४:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गी लालिबर्टेले सन् १९८४ मा जनावर प्रयोग नगर्ने नयाँ सर्कस सर्क द सोले स्थापना गर्न क्यानडाको सरकारसँग सम्झौता गरे।
  • उनले १९८७ मा लस एन्जलस फेस्टिभलमा आफ्नो अन्तिम पैसासम्म दाउमा लगाएर सर्क द सोलेलाई सफल बनाए।

तपाईंले कतै सर्कस हेर्नु भएको छ भने त्यहाँ पक्कै पनि मुखबाट आगो ओकल्ने गतिविधि देख्नु भएको हुन सक्छ । क्यानडियन नागरिक गी लालिबर्टे, त्यस्तैमध्ये एक हुन् । उनले पनि सर्कसहरूतिर आगो ओकल्ने र अग्लो काठको खुट्टा लगाएर अरूलाई हँसाउने गर्छन् । तर, उनी सामान्य जोकर भने होइन् । उनी अर्बपति जोकर हुन्।

आफूलाई आधा कलाकार र आधा पुँजीपति भन्न रुचाउने लालिबर्टेले सर्कसलाई नयाँ तरिकाले ‘रिप्याकेज’ गरेका छन् । उनले आफ्नो कम्पनीमार्फत सर्कसलाई अर्कै स्तरको कलात्मक तमासामा बदलेका छन्, जसलाई आज संसारले ‘सर्क द सोले’ नामले चिन्दछ।

१९५९ मा क्यानडाको क्युबेक सिटीमा जन्मिएका लालिबर्टे अचम्मका मान्छे छन् । उनको सुताइ कहिल्यै पनि नियमित हुँदैन । उनी आफूलाई मन परे अनुसार जति लाग्यो त्यति नै सत्छन् । कहिले एक घण्टा सुत्छन् त कहिले ६ घण्टा । तर, उनको सुताइभन्दा उनको जीवनशैली चाहिँ रोचक छ । उनी पोकरमा ठूल्ठूला दाउ राख्छन् । निमयति रूपमा भव्य पार्टीहरू दिइरहन्छन् ।

विद्रोही किशोर

लालिबर्टे १२० भन्दा बढी नातेदार भएको ठूलो संयुक्त परिवारमा हुर्किएका थिए । उनीहरूको घरमा हरेक दिन केही न केही रमाइलो गतिविधि भइरहन्थ्यो । तीन चार दिनसम्म लगातार पार्टी चलिरहन्थ्यो । यस्तो देख्दै हुर्किएका उनले बाल्यकालदेखि नै व्यापारको सुझबुझ पाउन थालेका थिए । कतिसम्म भने पाँच वर्षको उमेरमै उनी स्कूलमा बेसबल कार्डहरू बेच्थे । चुलबुले स्वभावका थिए । उनी १० वर्ष पुगेपछि परिवारले उनलाई कडा अनुशासन भएको निजी विद्यालयमा भर्ना गरिदिएका थिए । त्यो समयले आफूमा भएको कलाकारिताको खुबी बन्द गरिदिएको उनले आजकल बताउने गर्छन् ।

किशोरावस्थामा भने उनी निकै विद्रोही स्वभावका भए । स्वभावका कारण उनी धेरै पटक स्कुलबाट निकालिनु परेको थियो । १४ वर्षको उमेरमा घरबाट भागेर समेत उनी हिँडेका थिए । तर घर त जसरी पनि फर्कनुपर्थ्यो । पछि घर फर्किँदा उनले कपाल काट्ने र आफ्नै कमाइले पढ्ने कुरा मान्न बाध्य भए ।

त्यसपछि उनले क्युबेकका सडकमा मान्छेहरूलाई हसाएर पैसा कमाउन थाले । १८ वर्षको उमेरमा ५० डलर र एउटा बाजा लिएर उनी युरोप भ्रमणमा निस्किए, जहाँ उनले आगो ओकल्ने र जग्लिङ गर्ने कला सिके । एक अर्थले उनी सर्कसको दुनियाँमा व्यावसायिक रूपमा छिरे ।

सर्कसलाई नयाँ स्वरूप

क्यानडा फर्केपछि उनले विभिन्न ठाउँमा काम गरे । तर ती सबैमा उनी टिक्न सकेनन् । अति भएपछि साथीहरू ड्यानियल गथियर र गिल्स स्टेक्रोएसँग मिलेर नयाँ खालको सर्कस बनाउने योजना बुने । त्यसमा उनको एउटै सर्त थियो, जनावरहरूको प्रयोग हुनुहुँदैन । त्यसबारे उनले सन् १९८४ मा क्यानडाको ४५०औँ वार्षिकोत्सवको अवसरमा सरकारसमक्ष घुमन्ते सर्कसको प्रस्ताव राखे । त्यसबाट उनले १० लाख डलर पाउने सम्झौता भयो । यसरी २५ वर्षको उमेरमा उनले ‘सर्क द सोले’लाई जन्माएका थिए ।

अवश्य पनि सुरुका ती वर्षहरूमा उनलाई निकै गाह्रो थियो । कतिसम्म भने कम्पनी नै ऋणमा डुबेको थियो । बैंक र स्थानीय मान्छेहरूको विश्वासका कारण उनको कम्पनी टिकिरह्यो । त्यसैबीच १९८७ मा लस एन्जलस फेस्टिभलमा उनीहरूले ठूलो मौका पाए । त्यहाँ लालिबर्टेले आफ्नो अन्तिम पैसासम्म दाउमा लगाएर शोलाई भव्य बनाए । फलस्वरुप त्यो शो निकै सफल भयो । त्यसभन्दा बढी सिल्वेस्टर स्टेलोन, माइकल ज्याक्सन जस्ता हलिउड दिग्गजहरू उनका फ्यान बने ।

डुब्दै गइरहेको उनको कम्पनी बालबाल बच्यो ।

सम्झौता नगर्ने स्वभाव

सर्क द सोले विश्वभर प्रसिद्ध भयो । त्यसपछि लालिबर्टेले लस भेगासलाई आफ्नो स्थायी थलो बनाए । उनको यस कम्पनी किन्न थुप्रै प्रस्तावहरू आएका थिए । डिज्नी जस्ता ठूला कम्पनीले समेत प्रस्ताव गरेका थिए । तर पनि उनले कम्पनीलाई बेच्न मानेनन् । कसैको नियन्त्रणमा बस्न मन नपराउने भएकाले उनले आफ्नै सुरमा काम मात्र गरिरहे।

उनले बिटल्स, एल्बिस प्रेस्ली जस्ता प्रसिद्ध कलाकारहरूको नाममा आधारित शोहरू सुरु गरे । भनौं, एक समय काम मात्र गरिरहे । यसले गर्दा २००४ मा उनको सम्पत्ति एक अर्ब डलर कट्यो । फोर्ब्सले तथ्यांक अनुसार त्यसपछि उनि औपचारिक रूपमा अर्बपति जोकर बने । सन् २०१५ सम्ममा आइपुग्दा उनले आफ्नो अधिकांश शेयर बेचिसकेका थिए । अझ कोभिड महामारीका कारण कम्पनी ऋणमा पर्‍यो ।

रंगीन जीवन

लालिबर्टेको निजी जीवन पनि उत्तिकै रङ्गीन छ । उनका पाँच सन्तान छन् । उनी जीवनमा उत्सवहरू मनाइरहन चाहन्छन् । पैसा आउँछ/जान्छ, उत्सव मनाउनुपर्छ भन्ने मान्यता राख्छन् उनी । नयाँ-नयाँ कुरा ‘ट्राइ’ गर्न उनी कुनै आइतबार कुर्न चाहँदैनन् ।

उनी क्यानडाको पहिलो अन्तरिक्ष पर्यटक बन्न पुगे । सन् २००९ मा १२ दिन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा बिताएर फर्केका थिए । त्यसमा पनि उनी जोकरको नाक लगाएर नै अन्तरिक्ष गएका थिए।

आज उनी मन्ट्रियल, हवाई र इबिजा जस्ता ठाउँका रहेका फरक-फरक भव्य घरहरूमा समय बिताउँछन् । आखिरीमा कर्मलाई नछाडेर, आँटेर नै उनले त्यो पाएका हुन् । सडकमा प्रदर्शन गर्ने सामान्य कलाकार पनि आफ्नो मेहनत र फरक सोचले विश्वकै धनी मानिसको सूचीमा पर्न सक्छ भन्ने उनी जीवित उदाहरण हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?