१७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेलले अतिवादलाई अनुमोदन नगर्न मतदातासँग आह्वान गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले यो निर्वाचन अतिवादको बाटोमा जाने कि सबैलाई समन्वय गरेर देश अगाडि बढाउने भन्ने जनमत संग्रह भएको दाबी गरे ।
आगामी निर्वाचनले नेपाललाई स्थिरता, शान्ति र संविधान कार्यान्वयनको बाटोमा लैजाने कि अस्थिरता र थप संकटतिर धकेल्ने भन्ने गम्भीर फैसला गर्ने उनको भनाइ छ ।
नेपाली कांग्रेसले नेपालमा अतिवादलाई संस्थागत हुन नदिने र लोकतन्त्रको पैरवी गर्दै नागरिकको अधिकारका लागि लामो समयदेखि लड्दै आएको स्मरण गराए ।
‘नेपाललाई अब स्थिरताको बाटोतिर लाने कि नेपालमा अब शान्ति स्थापना गर्ने कि नेपालको ७२ सालमा जारी भएको संविधानलाई कार्यान्वयन गर्ने बाटोतिर जाने कि अस्थिरता र अझ बढी संकटतिर जाने भन्ने कुराको संकेत यो निर्वाचनले गर्ने देखिएको छ,’ उनले भने, ‘यो निर्वाचनमा अतिवाद अनुमोदन हुने हो कि सबैलाई समन्वय गरेर अतिवादको बाटो होइन समन्वयकारी बाटोबाट देशलाई अगाडि लाने पक्षको अनुमोदन हुने हो, यो निर्वाचनले निर्णय गर्छ ।’
पछिल्लो समय युवा पुस्ताले गरेको ‘जेन–जी’ आन्दोलनले मुलुकमा धेरै कुरा परिवर्तन गरेको र काँग्रेसले त्यसलाई आत्मसात गरेको पौडेलले बताए ।
‘यो निर्वाचन विशिष्ट परिस्थितिमा भएको हो । भदौ २३ गतेको जेन–जी आन्दोलनपछि मुलुकमा धेरै कुराहरू परिवर्तन भए । हामी आफैंले स्वीकार गरेका छौं नेपालको इतिहासमा परिवर्तनकारी आन्दोलनको नेतृत्व सधैंभरि नेपाली कांग्रेसले गर्यो तर भदौ २३ गते नेपाली कांग्रेसका प्रति पनि जेन–जी आन्दोलनले खबरदारी गरेको कुरा हामीले स्वीकार गरेका छौं,’ उनले भने ।
प्रतिक्रिया 4