News Summary
Generated by OK AI. Editorially reviewed.- २०८२ सालको हिट फिल्म ‘जेरी अन टप’ भारतमा प्रदर्शनमा आएको छ र सिक्किममा प्रिमियर आयोजना गरिएको छ।
- निर्माता सरोज न्यौपानेसहित कलाकार भुवन केसी र अनमोल केसीले सिक्किम, दार्जिलिङ र सिलिगुडीमा फिल्म प्रवर्धन गरेका छन्।
- फिल्म पश्चिम बंगाल, नयाँ दिल्ली र आसाममा रिलिज भइसकेको छ र लद्दाखस्थित हलमा पनि प्रदर्शन भइरहेको छ।
काठमाडौं । २०८२ सालको हिट फिल्म ‘जेरी अन टप’ शुक्रबारदेखि भारतमा प्रदर्शनमा आएको छ । नेपालीभाषी बहुल र भारतको पूर्वोत्तर राज्य सिक्किममा प्रिमियर आयोजना गर्दै फिल्मको भारतब्यापी रिलिज थालिएको हो ।
सिक्किम प्रिमियरमा सहभागी हुन निर्माता सरोज न्यौपानेसहित कलाकार भुवन केसी र अनमोल केसी त्यहाँ पुगेका थिए । आयोजित रेडकार्पेट प्रिमियरमा उनीहरू आकर्षणका केन्द्र बने ।
त्यसपछि उनीहरू नेपालीभाषी बहुल पश्चिम बंगालका अन्य थलोहरू दार्जिलिङ र सिलिगुडीमा पुगेर उनीहरूले हल भिजिट समेत गरे । ती ठाउँमा अनमोल र भुवनको क्रेज देखिएको म्यानेजर नीराजन गिरीले बताए ।
त्यहाँबाट फिल्म प्रवर्धनलाई प्रसिद्ध पर्यटकीय थलो गोवा जाने भनिएपनि स्वदेशमा चुनावको चटारोको कारण उनीहरू काठमाडौं फर्किएका छन् । २१ फागुनमा मतदान गरिसकेपछि भुवन र सरोज पुनः फिल्म प्रवर्धनलाई गोवा जानेछन् । अनमोलको यकिन नभैसकेपनि उनी समेत जाने सम्भावना रहेको गिरीले जनाए ।




अस्ली प्रोडक्सन र रेडपान्डा मूभिजले ‘जेरी अन टप’ लाई भारतमा प्रदर्शनमा ल्याएका हुन् । पश्चिम बंगालपछि राजधानी नयाँ दिल्ली र आसाममा फिल्म रिलिज भएको जनाइएको छ ।
‘रेस्पोन्स राम्रै छ । यसअघि नै ऊनको स्विटरले माहोल बनाएको रहेछ’ गिरीले भने, ‘ती ठाउँमा पछिल्लो समय नेपाली फिल्मका दर्शक बढेका रहेछन् । बजार विस्तारको हिसाबले यो खुसीको कुरा हो ।’
उनका अनुसार, ३ महिनाअघि मात्र संचालनमा आएको लद्दाखस्थित हलमा पनि ‘जेरी अन टप’ प्रदर्शनमा आएको छ । सुयोग गुरुङ निर्देशित ‘जेरी अन टप’ अनमोलको करिअरकै सर्वाधिक ग्रस कलेक्सन गर्ने फिल्म हो ।
प्रतिक्रिया 4