+
+
Shares

लन्डनमा नेपाली विद्यार्थीलाई कारले ठक्कर दिने र्‍यापरलाई १२ वर्ष जेल सजाय

खतरनाक तरिकाले सवारी चलाएर मृत्यु गराएको अभियोगमा दोषी ठहर भएका ४१ वर्षीय गेट्स १७ वर्षसम्म गाडी चलाउन पनि अयोग्य ठहर भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २० गते ७:१७
र्‍यापर गेट्स र मृतक युविन तामाङ ।

२० फागुन, लन्डन । लन्डनमा कारको ठक्करबाट नेपाली विद्यार्थीको मृत्यु भएको अभियोगमा दोषी ठहर एक चर्चित ब्रिटिश र्‍यापरलाई अदालतले १२ वर्षको जेल सजाय सुनाएको छ ।

गत १८ अक्टोबर, २०२५ मा उत्तर पूर्वी लन्डनको इल्फोर्डमा २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङको मृत्यु भएको घटनामा गेट्स नामले चिनिने बेलायतका अवार्ड विनिङ र्‍यापर जस्टिन क्लार्क स्यामुएललाई इङ्गल्याण्ड र वेल्सको केन्द्रीय फौजदारी अदालत ओल्ड बेलीले मंगलबार १२ वर्षको जेल सजाय सुनाएको हो ।

४१ वर्षीय गेट्सलाई खतरनाक तरिकाले सवारी चलाएर मृत्यु गराएको अभियोगमा दोषी ठहर गर्दै बेलायती अदालत ओल्ड बेलीका न्यायाधीश मार्क लुक्राफ्ट (केसी) ले १७ वर्षका लागि सवारी चलाउन अयोग्यसमेत ठहर गरेका छन् ।

गेट्सले यसअघि खतरनाक ड्राइभिङका कारण युबिनको मृत्यु भएको स्वीकार गरेका थिए । पूर्वी लन्डनको वुडफोर्डका वासिन्दा स्यामुएलले जोखिमपूर्ण ड्राइभिङका कारण तामाङको मृत्यु गराएको र सोही दिन गरेको अर्को जोखिमपूर्ण ड्राइभिङ सम्बन्धी मुद्दामा आफू दोषी भएको स्वीकारेका थिए । उनले मादक पदार्थको सीमा नाघेर सवारी चलाएको र जोखिमपूर्ण ड्राइभिङ गरेको दुईवटा थप अभियोगसमेत सामना गरेका थिए ।

लन्डन इल्फोर्डस्थित रेडब्रीज लेनमा गत १८ अक्टोबर बेलुका गेट्सले चलाएको बिएमडब्लु कारले बाटो काटिरहेका युबिनलाई ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए । घट्नाको दुई दिनपछि युबिनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । ति गायक घटनास्थलमा मोटर नरोकी फरार भएका थिए । सीसीटीभी फुटेजमा घट्ना स्तब्ध पार्ने खालको देखिएको थियो ।

अदालतले स्यामुएलले ३० माइल प्रतिघण्टा क्षेत्रमा ६० माइल प्रतिघण्टा बढीको गतिमा गाडी चलाइएको पाइएको बताएको छ ।

प्रहरीले घट्नाको भोलिपल्ट बिहानै वुडफोर्डस्थित उनको घरमा खोजतलास गरेको थियो ।

उनकै नाममा दर्ता र बीमा गरिएको कालो बीएमडब्लु गाडी प्रहरीले ‘गम्भीर रूपमा क्षतिग्रस्त’ अवस्थामा फेला पारेको थियो ।

धरान ११ निवासी बाबा विकास तामाङ र आमा शर्मिला मगर तामाङका एक्ला छोरा युबिन उच्च शिक्षाका लागि गत २०२४ सेप्टेम्बरमा बेलायत आएका थिए । उनी युनिभर्सिटी अफ रोह्याम्पटनमा बीएस्सी विजनेश म्यानेजमेन्टमा दोस्रो वर्षमा अध्ययनरत थिए ।

युबिनको निधनपछि बेलायतस्थित कैयौं नेपाली संघसंस्थाले परिवारलाई चन्दा संकलन गरी आर्थिक सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?