+
+
Shares
प्रधानमन्त्रीसँग वार्ता :

‘मुलुकमा अर्को रक्तपात नहोस् भन्ने मूल मन्त्र थियो’

सुरक्षाको चुनौती थियो । एकीकृत योजनाका कारण सफलताका साथ शान्ति कायम गर्न सम्भव भयो । सबै धन्यवादका पात्र छन् ।

रूपक चौलागाईं रूपक चौलागाईं
२०८२ फागुन २१ गते २२:३१

गत भदौमा भएको जेनजी आन्दोलन र त्यसपछि विकसित परिस्थितिबाट बनेको अन्तरिम सरकारले आफूले पाएको म्यान्डेट पूरा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले २७ भदौमा संविधानको धारा ६१ प्रयोग गर्दै सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

सोही दिन राष्ट्रपति पौडेलबाट फागुन २१ (आज) निर्वाचन गराउने म्यान्डेट प्रधानमन्त्री कार्कीले पाएकी थिइन् । जुन, पूरा गरेकी छिन् ।

विषम परिस्थितिमा नेपालकै पहिलो महिला प्रधानमन्त्रीको बागडोर सम्हालेकी कार्की त्यतिबेला भने अन्योलग्रस्त अवस्थामा थिइन् । तर, ती सबै अन्योल चिर्दै उनले आफ्नो जिम्मेवारी पूरा गरेकी छिन् । अब बन्ने नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेकी प्रधानमन्त्री कार्कीसँग गरिएको कुराकानी :

जेनजी विद्रोहपछिको विशेष राजनीतिक परिस्थितिमा निर्वाचन गराउने गहन जिम्मेवारीमा हुनुहुन्थ्यो, तोकिएकै मितिमा अधिकांश स्थानमा निर्वाचन सम्पन्न पनि भयो । निर्वाचन समग्रमा कस्तो भयो ?

आफूलाई प्राप्त जिम्मेवारी पूरा गर्न सकेकोमा खुसी लागेको छ । किनभने, हामीलाई प्राप्त जिम्मेवारी नै त्यही थियो । तर यो म एक्लैले सम्भव भएको होइन । सिंगो मन्त्रिपरिषद्को मिहिनेतले सम्भव भएको हो । यसमा निर्वाचन आयोगको सिंगो टिम, कर्मचारीहरू, सुरक्षाकर्मी सबैको भूमिका छ । हाम्रो आह्वानलाई स्वीकार गरेर निर्वाचनमा सहभागी हुने राजनीतिक दल, उम्मेदवार र सम्पूर्ण नेपाली जनताले यसलाई सफल बनाएका हुन् ।

निर्वाचन गराउने सन्दर्भमा केही कुरा नपुगेको जस्तो वा यो नभइदिएको भए हुन्थ्यो भन्ने केही लागेको छ ?

विदेशमा भएका नागरिकलाई मतदानको अधिकार दिलाउन पाए हुन्थ्यो भन्ने लागेको थियो । अन्तरनिर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न पनि प्रयास गरिएको थियो । तर विविध कारणले त्यो हुन सकेन । तर हामीले यस निर्वाचनलाई निकै मितव्ययी बनायौँ । खर्च अझै कम गर्न सकिन्थ्यो तर भदौ २३ र २४ को घटनाका कारण धेरै नयाँ साधन किन्नुपर्‍यो । यसले खर्च केही बढायो ।

विभिन्न चुनौती थियो सफल हुनेमा धेरैको भूमिका छ । मन्त्रीहरू, निर्वाचन आयुक्तहरू, कर्मचारी, सुरक्षाकर्मीको आह्वान स्वीकार गरेर जनता मतदानमा सहभागी हुनुभयो । यसमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान, मतदान अधिकृत सबैको भूमिका छ ।

सुरक्षाको चुनौती थियो । एकीकृत योजनाका कारण सफलताका साथ शान्ति कायम गर्न सम्भव भयो । सबै धन्यवादका पात्र छन् ।

विदेशमा भएका र अन्तरजिल्ला मतदान गर्न पाएको भए हुन्थ्यो भन्ने लागेको छ । निर्वाचन खर्च मितव्ययी बनायौँ । तर अझै कम गर्न सकिन्थ्यो । तर भदौ २३ र २४ को घटनाका कारण धेरै साधन नयाँ किन्नुपर्‍यो ।

निर्वाचनको मिति तोकिएदेखि नै विभिन्न शंका–उपशंकाहरू उब्जिएका थिए । हुँदैन भन्ने हल्लाहरू पनि फैलिए । यहाँसम्मको तपाईंको यात्रालाई कसरी समीक्षा गर्नुहुन्छ ?

हामीलाई काम गर्न सक्छौं भन्ने आत्मविश्वास थियो । लगनशील भएर लागिपर्दा सम्भव हुने रहेछ । चुनौती थिए तर हामी आफ्नो जिम्मेवारी अनुकूलको काम गर्दै गयौं । हामीमाथि आक्रमण नभएको होइन । बाधा–अवरोध नआएको होइन । तर हामी त्यसबाट विचलित भएनौँ । नि:स्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ भन्ने विश्वास थियो । जति अवरोध भए पनि हामीले बाटो छाडेनौँ । मुलुकमा शान्ति कायम गर्ने उद्देश्यमा लागिरह्यौँ ।

मुलुकमा थप रक्तपात नहोस् भन्ने हाम्रो अर्को मूल मन्त्र थियो । चुनावमा हिंसा हुनु हुँदैन भनेर सुरुकै दिनबाट भनेकै हौं । हाम्रो प्रयास त्यसैमा रह्यो । अरूले के भन्छन् भनेर हामीले सोचेनौँ । हामीले गरेको कार्य ठिक छ कि छैन भनेर मात्र हेरेर अघि बढ्यौँ । काम मात्र सोच्यौँ । हामीले आफ्ना लागि गरेका होइनौँ । मुलुक र जनताका लागि गरेका हौँ ।

यस निर्वाचनबाट चुनिने जनप्रतिनिधि र अब बन्ने नयाँ सरकारलाई के भन्न चाहनुहुन्छ ?

मुलुकका समस्या सबैले देखेकै छन् । आर्थिक राजनीतिक सबै समस्या सबैलाई थाहा छ । जो आए पनि मूलत: जेनजीले उठाएका मुद्दामा गम्भीर बनून् । सुशासन होस् । भ्रष्टाचार नहोस् । स्वदेशमै बस्न पाइयोस् । यहीँ काम पाइयोस् । विभेद र पक्षपात नहोस् । विदेशमा लास बनेर फर्किनुपर्ने अवस्था नहोस् । देश भित्रै गुणस्तरीय शिक्षा पढ्न पाऊन् युवाले । संविधानमा व्यवस्थित मौलिक हकको अक्षरश: पालना होस् ।

लेखक
रूपक चौलागाईं

चौलागाईं अनलाइनखबर डटकमका उप-सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?