+
+
Shares

झापा-५ : मतगणनास्थल बाहिर गुञ्जिरहेछ ‘बालेन सरकार’

गणनास्थलबाट जब मत परिणाम सार्वजनिक हुन्छ, शुभेच्छुकले नारा लगाउँछन्, ‘बालेन सरकार जिन्दावाद ।’

दिनेश गौतम दिनेश गौतम
२०८२ फागुन २२ गते १७:०२

२२ फागुन, झापा (दमक) । दमक नगरपालिका-८ अर्गानिक कृषि भवन जहाँ झापा-५ को मत गणना चलिरहेको छ । मतगणनास्थलबाट करिब २०० मिटर अघि उनीहरूलाई रोकिएको छ । अर्कोपट्टि सेनाले सुरक्षा दिइरहेको छ । गणनास्थलबाट जब मत परिणाम सार्वजनिक हुन्छ, शुभेच्छुकले नारा लगाउँछन, ‘बालेन सरकार जिन्दावाद ।’

झापामा यतिबेला उखरमाउलो गर्मी छ । असिनपसिन भएका शुभेच्छुक मत परिणाम सुन्न आतुर छन् । यतिसम्म कि, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन साहको मत परिणाम सुन्न काठमाडौं उपत्यकादेखि झापाको छिमेकी जिल्लासम्मका शुभेच्छुक आइपुगेका छन् ।

तीमध्येका एक हुन् ललितपुर क्षेत्र नम्बर १ मा बिहीबार मतदान गरेर आज शुक्रबार बिहानको फ्लाइटबाट दिउँसो झापा आइपुगेका २९ वर्षीय प्रकाश घिमिरे । अमेरिकामा बस्दै आएका उनी नयाँ पुस्तालाई भोट दिन आएका रहेछन् ।

‘अमेरिकाबाट भोट हाल्न आएको । काठमाडौंबाट बालेनलाई भोट दिने जनता हेर्न झापा आएको,’ उनले भने, ‘युवा एक भएको समय छ । ५ वर्ष देशका लागि काम गर्ने प्रतिनिधि चुन्न आएको हुँ।’

देशलाई आवश्यक परेको महसुस गरेर उनी नेपाल आएका रहेछन् । ‘आफ्नो फाइदा हेरेर मात्र हुँदैन । यो समय देशका लागि एक मत पनि आवश्यक भएकाले आएको हुँ, ‘उनले भने ।

छिमेकी जिल्ला मोरङबाट बालेनको मत परिणाम सुन्न आएका शुभेच्छुक यहाँ छन् । २१ वर्षीय सन्देश निरौला र २२ वर्षीय सौरभ निरौला उर्लाबारीबारीदेखि आएका रहेछन् ।

‘बालेनको जित हेर्न आएका हौं । विजयी भएपछि उहाँले देशको लागि गर्नुहुन्छ भन्ने विश्वास छ । मुख्य कुरा देश सिस्टममा चल्नु पर्‍यो,’ उनीहरूले भने, ‘जेनजीको माग सुशासन र भ्रष्टाचार अन्त्य हो त्यो हुनुपर्‍यो ।’

मतगणनास्थल वरिपरि स्थानीयका घरहरू छन् । जब माइकिङ सुरु हुन्छ, घरघरबाट नतिजा सुन्न स्थानीय निस्कन्छन् ।

२१ वर्षीय रिवाज लुइँटेलको घर नजिकै पर्छ मतगणनास्थल । उनी आज काममा गएका थिए । तर नजिता सुन्न कामै छोडेर आए । ‘घरमा बस्न मन लाग्दैन । अफिस गएको काम गर्न पनि मन लागेन । मन आफूले दिएको मत के भयो भनेर खुलदुली हुने रहेछ,’ उनले भने ।

हिजो रातिदेखि मत गणना सुरु भएको हो । स्थानीयलाई निद्राभन्दा ज्यादा मतले ध्यान तान्छ । सिसम अधिकारी, समीक्षा अधिकारी बिनिता खतिवडा र अप्सरा खत्री मत परिणाम सुन्न राति पनि जागै हुन्छन् । आज सडकमै आएर बलेनले धेरै मत ल्याएकोमा उनीहरू उत्साहित देखिन्थे ।

‘घर नजिकै छ । माइकिङ हुने बित्तिकै जुरुक्क उठेर सुन्छौं । कसले जित्ला भन्ने चासो लाग्छ नि । आज त सडकमै आएको सुन्न,’ उनीहरूले भने, ‘अब नयाँ पुस्ताले देश चलाउनुपर्छ । बलेनले जित्नुपर्छ ।’

बालेनको अग्रता कायमै

झापा-५ मा २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । मत परिणामअनुसार रास्वपाका वरिष्ठ नेता बालेन साह अगाडि छन् । उनले ६ हजार ५५१ मत ल्याएका छन् ।

उनका प्रतिद्वन्द्वी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले १ हजार ४२८, कांग्रेसकी मन्धरा चिमरियाले २१६, नेकपाका रन्जित तामाङले १६५, श्रम संस्कृति पार्टीका समिर तामाङले ३८१ र राप्रपाका लक्ष्मीप्रसाद संग्रौलाले १३६ मत ल्याएका छन् । अहिलेसम्म ९ हजार ४१२ मत मत गणना हुँदा ८ हजार ९८५ मत सदर भएको छ । ४२७ मत बदर भएको छ ।

यो क्षेत्रमा १ लाख ६३ हजर ३७९ मतदाता छन् । जसमा ६४ प्रतिशत मत खसेको छ । बिहीबार १८५ मतदान केन्द्र र ६१ वटा स्थलमा बिहीबार मतदान भएको थियो । अहिले धमाधम मत गणना भइरहेको छ ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?