+
+
Shares
निर्वाचन २०८२ फिचर :

‘हेभिवेट’ पन्छाउँदै संसद्‍मा सस्मित

निर्वाचन परिणाम आइसक्दा सस्मित भारी मतान्तरले अघि देखिए । अब उनका प्राथमिकता यो क्षेत्रका समस्या मिहिन ढंगले केलाउँदै संसदमा प्रस्तुत हुनु छ । त्यसैले उनले नीति निर्माणका कामसँगै स्थानीय समस्यालाई राष्ट्रिय स्तरमा उठाउन लागिपर्नु छ ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ फागुन २३ गते १:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा निर्वाचन २०८२ मा ३० हजार ७३७ मत ल्याएर विजयी भएका छन्।
  • पोखरेलले कांग्रेस महामन्त्री प्रदीप पौडेल र एमाले नेता ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराएका छन्।
  • उनले शिक्षा सुधार, युवा रोजगारी, डिजिटल अर्थतन्त्र र सहरी व्यवस्थापनमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ को हट सिट मानिएको काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार सस्मित पोखरेलले जित हात पारेका छन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन काठमाडौं महानगरपालिकामा बालेन साहलाई विजयी गराउन सडक, सामाजिक सञ्जाल तथा संगठनात्मक मोर्चामा अग्रपंक्तिमा खटिएका उनी यसपालि आफैं विजयी बने ।

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, एमाले नेता ईश्वर पोखरेल, राष्ट्रिय प्रजातन्त पार्टी (राप्रपा) का कमल थापा लगायत शीर्ष नेतृत्वबीच प्रतिस्पर्धा देखिएकाले पनि काठमाडौं-५ लाई हट सिट मानिएको थियो । यो क्षेत्रका सबै ‘हेभिवेट’ लाई पोखरेलले फराकिलो अन्तरले हराउन सफल भए ।

पोखरेलले ३० हजार ७३७ मत ल्याएर विजयी हुँदा दोस्रो हुने कांग्रेस महामन्त्री पौडेलले  ९ हजार १५९  मत ल्याएका छन् । त्यस्तै एमालेका ईश्वर पोखरेलले  ४ हजार ७०१ मत ल्याए ।

काठमाडौं–५ मा विजयी नेता २९ वर्षीय पोखरेल यसै क्षेत्रका स्थायीवासिन्दा हुन् । कानुनमा स्नातक सस्मित वैकल्पिक राजनीतिक अभियन्ताका रूपमा परिचित छन् । हाल उनी रास्वपाका केन्द्रीय सदस्य तथा सहप्रवक्तासमेत हुन् ।

उनको प्रारम्भिक शिक्षा तथा प्लस टु तहसम्मको अध्ययन अमेरिकामा भएको थियो । नेपाल फर्किएपछि काठमाडौं विश्वविद्यालय स्कुल अफ ल बाट बीएएलएलबी अध्ययन पूरा गरेका छन् ।

२०७२ सालको विनाशकारी भूकम्पपछि अमेरिकामा रहँदै उनले नेपालका लागि ‘अर्थक्वेक फन्ड’ संकलन तथा व्यवस्थापन टोलीमा सक्रिय भूमिका पनि निर्वाह गरेका थिए । उनै पोखरेलको राजनीतिक यात्रा विवेकशील अभियानबाट सुरु भयो ।

वैकल्पिक राजनीति र युवाको सक्रिय सहभागिताको पक्षमा उभिँदै उनी विवेकशील साझा युवा संगठनका नेता बने, अनि विवेकशील साझा पार्टीको केन्द्रीय समिति सदस्य समेत भए ।

त्यस्तै २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा बालेन साहलाई विजयी गराउन उनी सडक, सामाजिक सञ्जाल तथा संगठनात्मक मोर्चामा अग्रपंक्तिमा पनि खटिए । उनलाई विजयी पनि गराउन सफल भए ।

बालेनको विजयपछि उनले स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं–५ (क) प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका थिए । तर, प्रदेशसभा निर्वाचनमा पराजयपछि पनि उनी मेयर बालेनको टिममा रहेर काठमाडौं महानगरपालिकामा सक्रिय रहे ।

महानगरपालिकामा रहँदा पोखरेलले शिक्षा क्षेत्र हेर्ने सहायक विज्ञ तथा सहरी योजना आयोगमा सहायक विज्ञका रूपमा काम गरे ।

शिक्षा सल्लाहकारका हैसियतमा नीति निर्माणदेखि कार्यान्वयनसम्म महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै महानगरको वार्षिक नीति, योजना, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा समन्वय र नेतृत्वदायी भूमिका खेले । पुराना कानुन परिमार्जन तथा नयाँ कानुनी संरचना तर्जुमा गर्न पनि उनी सक्रिय रहे ।

यसले पोखरेलको उल्लेखनीय योगदान शिक्षा क्षेत्रमा देखिन्छ । सामुदायिक विद्यालयलाई प्राथमिकतामा राख्दै कक्षा १ देखि १२ सम्मका करिब २० हजार विद्यार्थीलाई कानुनसम्मत रूपमा छात्रवृत्ति वितरण गर्न नेतृत्व गरे, जसका लागि महानगरपालिकाले वार्षिक करिब साढे ३ अर्ब रुपैयाँ बजेट व्यवस्था गरेको थियो ।

सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड जडान, विद्यालय गुरुयोजना निर्माण, ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सुरुवात, भौतिक सौन्दर्यीकरण, आईसीटीमैत्री विकास, ईसीडी कक्षाकोठा सुधार, दिवा खाजा कार्यक्रम तथा शिक्षक तालिमजस्ता पहलहरूमा उनको प्रत्यक्ष भूमिका रह्यो । हाँडीगाउँलाई ‘नो भेहिकल जोन’ बनाउने पहलमा पनि उनको योगदान छ ।

यसरी तीन वर्षदेखि काठमाडौं महानगरपालिकाको शैक्षिक उन्नयन, विकास तथा सकारात्मक परिवर्तनमा सक्रिय रहेका पोखरेलले यही स्थानीय अनुभवलाई राष्ट्रिय तहमा विस्तार गर्ने उद्देश्य सहित संसद् प्रवेशका लागि प्रतिस्पर्धामा होमिए ।

प्रतिस्पर्धामा होमिँदै गर्दा उनले आफूलाई कानुन बुझेको, नीति निर्माणको व्यावहारिक अनुभव भएको तथा परिणाम दिन सक्ने युवा नेताका रूपमा प्रस्तुत गरे । शिक्षा सुधार, सुशासन तथा पारदर्शिता, युवा रोजगारी र डिजिटल अर्थतन्त्र, खेलकुद सशक्तीकरण, सेवा प्रवाह तथा सहरी व्यवस्थापनलाई प्रमुख एजेन्डाका रूपमा अघि सारे ।

‘म यही क्षेत्रमा जन्मिएको, हुर्किएको र यहाँका गल्लीगल्ली चहारेको व्यक्ति भएकाले यस क्षेत्रका आवश्यकता र तपाईंहरूको चाहनालाई नजिकबाट बुझेको छु,’ प्रतिस्पर्धामा उत्रँदै गर्दा पोखरेलले अनलाइनखबरसँग भनेका थिए, ‘जनताको आवाज संसद्सम्म पुर्‍याउने संकल्प सहित यो यात्रामा अघि बढेको हुँ ।’

उनै पोखरेल निर्वाचन परिणाम आइसक्दा भारी मतान्तरले अघि देखिए । अब उनका प्राथमिकता यो क्षेत्रका समस्या मिहिन ढंगले केलाउँदै संसदमा प्रस्तुत हुनु छ । त्यसैले उनले नीति निर्माणका कामसँगै स्थानीय समस्यालाई राष्ट्रिय स्तरमा उठाउन लागिपर्नु छ ।

निर्वाचित भएपछि अनलाइनखबरसँग कुरा गर्दै पोखरेलले शिक्षा सुधारमा काम गर्ने र युवा, रोजगारी र डिजिटल अर्थतन्त्र केन्द्रित काम गर्ने बताए । साथै, स्टार्टअपमैत्री नीति र प्रविधिमैत्री रोजगारी प्रवर्द्धनमा भूमिका खेल्ने उनको भनाइ छ ।

‘सेवा प्रवाह र सहरी व्यवस्थापनमा ध्यान दिने वाचा गरेकाले मैले टोखा, हाँडीगाउँ लगायत क्षेत्रमा सम्पदा र सांस्कृतिक पहिचानमा विशेष भूमिका खेल्छु,’ उनले भने, ‘अब कसरी हुन्छ, नागरिकको हितका निम्ति काम गर्नु नै मेरो दायित्व हो, म गर्छु ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?