२५ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका छन् । श्रम संस्कृति पार्टीको भने बाँकी छ ।
निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार रास्वपाले ३९ लाख ९९ हजार ६८०, कांग्रेसले १३ लाख ४७ हजार १०६, एमालेको ११ लाख ४० हजार २५९, नेपाली कम्युनिस्ट पार्टीले ५ लाख ८५ हजार ७५ मत पाएको छ । श्रम संस्कृति पार्टीको २ लाख ८९ हजार ८३३ मत प्राप्त गरेको छ ।
निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फ १ करोड ९ लाख मत खसेको थियो । समानुपातिक तर्फ सिट पाउन खसेको मतमध्ये सदर मतको ३ प्रतिशत मत कटाउनुपर्छ । समानुपातिक तर्फ सिट पाउन कूल सदर मतको ३ प्रतिशत मत कटाउनुपर्ने संवैधानिक व्यवस्थालाई नै थ्रेसहोल्ड भनिन्छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिन्छन् । १६५ जना भने प्रत्यक्ष निर्वाचित हुन्छन् ।
प्रत्यक्षतर्फको मतगण्ना करिब सकिएको छ । समानुपातिक तर्फको मत गणना यही फागुन २७ गते बिहानसम्म सक्ने निर्वाचन आयोगको लक्ष्य छ ।
समानुपातिक तर्फकोसमानुपातिक तर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको संख्या निर्धारण गर्नेछ ।
निर्धारित संख्यामा समानुपातिक कलष्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ ।
दलहरूले बन्दसूची भित्रबाट नाम सिफारिस गरे पछि सो नामावली समावेशी कलष्टर बमोजिम मिले नमिलेको रूजु गरी समानुपातिक तर्फका निर्वाचित सांसदको नाम एकिन गरी प्रमाणपत्र उपलब्ध गराउने कार्य हुनेछ ।
आगामी चैत ५ गते भित्र यी सबै काम सम्पन्न गरिसक्ने लक्ष्यसहित आयोगले काम गरिरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया 4