News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेशको ३२ क्षेत्रमध्ये ३० क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका छन्।
- धनुषा १ मा किशोरी साहको उम्मेदवारी खारेज भएपछि मत परिणाम सार्वजनिक हुन सकेको छैन।
- नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलम रौतहट २ मा विजयी भएका छन्।
२५ फागुन, जनकपुरधाम । मधेश प्रदेशमा १ क्षेत्रबाहेक ३० सिटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार निर्वाचित भइसकेका छन् ।
मधेशको ३२ सिट मध्ये रौतहट क्षेत्र नं. २ बाहेक ३० क्षेत्रमा रास्वपाले चुनाव जितेको हो ।
रौतहट २ मा नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलम निर्वाचित भएका छन् । ३२ मध्ये ३१ सिटको नतिजा घोषणा हुँदा रास्वपा ३० वटामा विजयी बन्यो । मधेशमा सप्तरी, धनुषा, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा लगायत आठ जिल्ला छन् । ।
धनुषा १ मा अन्तिम मतपरिणाम घोषणा भएको छैन । रास्वपाका यहाँका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको भएको तर उनैले धेरै मत ल्याएपछि आयोगले अन्तिम निर्णय सुनाएको छैन ।
साह सर्वोच्चमा रिट दिएका छन् । निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई एकपत्र पठाउँदै सर्वोच्चले विवाद निरुपण नगरेसम्म मत परिणाम सार्वजनिक नगर्न भनेको छ ।
रौतहटमा फिरदोशले २९ हजार ५ सय २८ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपाका किरणकुमार साहले १८ हजार ४ सय ४२ मत प्राप्त गरे । रास्वपाका शेख सगिरले ९ हजार ३ सय २५ले प्राप्त गरेका छन् ।
मधेशका जिल्लाहरूमा रोचक त के भने रास्वपाका कुनै पनि उम्मेदवार १० हजार भन्दा बढी मतान्तरले जितेका छन् ।
यति मात्र होइन कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापा, मधेश केन्द्रित दल जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमतका अध्यक्ष डा. सिके राउत, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई पराजय भोग्नु परेको छ । हैव्वीवेट मानिएका नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठ, कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि, कांग्रेसका निवर्तमान सहमहामन्त्री महेन्द्र यादव नै ठूलो मतान्तरले पराजित भए ।
यस्तो छ आठ जिल्लाकै परिणाम
सप्तरी क्षेत्र नं. १ बाट रास्वपाकी पुष्पा कुमारी चौधरी, २ बाट रामजी यादव, ३ बाट अमरकान्त चौधरी र ४ बाट सिताराम साह निर्वाचित भएका छन्।
यस्तै, सिरहा क्षेत्र नं. १ बाट बबलु गुप्ता, २ बाट शिव यादव, ३ बाट सम्भु कुमार यादव र ४ बाट तपेश्वर यादव विजयी भएका हुन् ।
धनुषा क्षेत्र नं. १ को मतगणना रास्वपाको उम्मेदवारी खारेज भएको विषयका कारण विवादित बनेको छ। धनुषा क्षेत्र नं. २ बाट रामविनोद यादव, ३ बाट मनिष झा र ४ बाट राजकिशोर महतो निर्वाचित भएका छन् ।
महोत्तरी क्षेत्र नं. १ बाट रास्वपाकै प्रमोद महतो, २ बाट डा. दीपक कुमार साह, ३ बाट उज्वल झा र ४ बाट गौरी कुमारी यादव निर्वाचित भएका हुन् ।
सर्लाही क्षेत्र नं. १ बाट नितिमा कार्की भण्डारी, २ बाट रविन महतो, ३ बाट नरेन्द्र साह र ४ बाट डा. अमरेशकुमार सिंह निर्वाचित भएका छन् ।
रौतहट क्षेत्र नं. १ बाट रास्वपाकै राजेश चौधरी, २ बाट नेपाली काँग्रेसका फिरोद आलम, ३ बाट रास्वपाका रविन्द्र पटेल र ४ बाट गणेश पौडेल विजयी भएका हुन् ।
बारा क्षेत्र नं. १ बाट गणेश धिमाल, २ बाट चन्दन कुमार सिंह, ३ बाट अरविन्द साह र ४ बाट रहवर अन्सारी निर्वाचित भएका छन् ।
यस्तै, पर्सा क्षेत्र नं. १ बाट रास्वपाकै बुद्धिप्रसाद पन्त, २ बाट सुशील कुमार कानु, ३ बाट रामाकान्त प्रसाद चौरसिया र ४ बाट टेकबहादुर शाक्य निर्वाचित भएका हुन् ।
प्रतिक्रिया 4