२५ फागुन, काठमाडौं । प्राय: साधारण पहिरनमा देखिने हर्कराज राई (साम्पाङ) सिधा, कडा र स्पष्ट वाकशैलीका कारण देशैभरि परिचित छन् ।
स्थानीय तह निर्वाचन २०७९ मा स्वतन्त्र उम्मेदवारी दिएर धरानको मेयर चुनिएका हर्कले जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा श्रम संस्कृति पार्टी स्थापना गरे । र, धरान उपमहानगरपालिको मेयरबाट राजीनामा दिएर संसदीय चुनावमा होमिए ।
१६ कात्तिक २०८२ मा निर्वाचन आयोगमा दर्ता भएको हर्कको पार्टीले ‘हर्कवाद’ लाई आफ्नो राजनीतिक विचार र दर्शन भनेको छ । प्रकृति, संस्कृति र प्रविधिको सन्तुलन नै हर्कवाद भएको व्याख्या गर्ने श्रम संस्कृति पार्टीका लागि पूर्वको माटो उर्वर देखिएको छ ।
२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा माटो चुनाव चिह्न लिएको श्रम संस्कृति पार्टीले कोशी प्रदेशका तीन क्षेत्रमा विजयको झण्डा फहराएको छ ।
अध्यक्ष हर्क साम्पाङ सुनसरी–१, ध्रुवराज राई भोजपुर–१ र आरेन राई खोटाङ–१ बाट निर्वाचित भएका छन् । हर्कले ३५ हजार ७४१ मत प्राप्त गरेका छन् भने ध्रुवराज १६ हजार ६६३ र आरेन १६ हजार ६१२ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
पूर्वका हिमाल–पहाडमा रास्वपालाई धक्का
स्थापनाको चार महिनामै प्रतिनिधिसभा निर्वाचनमा होमिएको श्रम संस्कृतिले आम नागरिकबाट पाएको समर्थनले पूर्वी नेपालमा पुराना दलका गढहरूमा ‘दस्तक’ दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशव्यापी जनलहर आकर्षित गरे पनि श्रम संस्कृति पार्टीले उसलाई पूर्वी नेपालका हिमाली र पहाडी जिल्लाहरूको प्रवेशमा रोक लगाएको छ ।
कोशी प्रदेशका १४ जिल्लामा २८ वटा निर्वाचन क्षेत्र छन् । ताप्लेजुङमा नेकपा एमालेबाट क्षितिज थेबे १३ हजार ९६२ मत ल्याएर विजयी हुँदा श्रम संस्कृतिका उम्मेदवार सन्तोष राईले पाँच हजार २०९ मत प्राप्त गरेका छन् । रास्वपाका वीरेन्द्र श्रेष्ठ चार हजार १५५ मतमै सीमित भएका छन् ।
पाँचथरमा पनि भर्खरे खुलेको श्रम संस्कृति पार्टीले लामो राजनीतिक विरासत बोकेको कांग्रेसलाई कडा टक्कर दिएको छ । यहाँ कांग्रेस उम्मेदवार नरेन्द्रकुमार केरुङ साढे दुई हजार मतको अन्तरमा मात्रै श्रम संस्कृतिका हस्तराज शेर्मालाई हराउन सफल भए ।
कांग्रेसका केरुङ १७ हजार २३३ मत ल्याएर निर्वाचित हुँदा श्रम संस्कृतिका शेर्माको पक्षमा १४ हजार ७३४ मत आएको छ ।
कोशीको तराईमा अस्वाभाविक मत पाएको रास्वपा पहाडी जिल्ला पाँचथरमा कमजोर देखिएको छ । श्रम संस्कृतिका शेर्मा निकटतम प्रतिद्वन्द्वीको हैसियतमा पुग्दा रास्वपाका महेन्द्र विक्रम थाम्सुहाङ ४ हजार १९७ मतमा समेटिएका छन् ।
इलाम–१ मा कांग्रेस उम्मेदवार निश्कल राई १४ हजार ५४३ मत ल्याएर निर्वाचित हुँदा श्रम संस्कृतिका उम्मेदवार विनोद नेम्वाङ लिम्बूले १३ हजार ६३२ मत ल्याएका छन् ।

यहाँ तेस्रो भएका एमाले उम्मेदवार काजीमान कागतेको ११ हजार ९६६ र रास्वपाका उम्मेदवार विमल गदालको नौ हजार १६० आएको छ ।
इलाम–२ मा एमालेबाट सुहाङ नेम्वाङ २२ हजार ४२६ मतसहित विजयी हुँदा श्रम संस्कृतिका उम्मेदवार सुदीप राई १४ हजार ४०० मत ल्याएर तेस्रो बनेका छन् ।
चौथो भएका रास्वपाका गोकुलबहादुर राईको पक्षमा ७ हजार ८१४ मत आएको छ भने दोस्रो भएका कांग्रेस उम्मेदवार भेषराज आचार्यले १४ हजार ६५० मत पाएका छन् ।
कोशीको पहाडी जिल्ला भोजपुरमा श्रम संस्कृतिका उम्मेदवार ध्रुवराज राई १६ हजार ६६३ मतसहित विजयी भएका छन् । यहाँ रास्वपाका रमेशप्रसाद ओझा ६ हजार १०२ मत ल्याएर पाँचौं स्थानमा सीमित भएका छन् ।
भोजपुरमा दोस्रो भएका एमालेका शेरधन राईले १४ हजार ७५० र तेस्रो भएका कांग्रेसका बालकृष्ण थापाले ८ हजार ६७० मत प्राप्त गरेको आयोगको तथ्यांकले देखाउँछ ।
खोटाङमा पनि श्रम संस्कृतिका तर्फबाट आरेन राई विजयी भएका छन् । १६ हजार ६१२ मतसहित राईले संसदीय यात्रा तय गर्दा एमालेका देवविक्रम राई १२ हजार ७१४ मत ल्याएर दोस्रो भएका छन् ।
कांग्रेस उम्मेदवार वीरकाजी राईको ११ हजार ९७५ ल्याउँदा खोटाङमा रास्वपाका रुद्र गिरी ५७ सय ४ मतसहित पाँचौं भएका छन् ।
यस्तै, धनकुटामा एमालेका राजेन्द्रकुमार राई १८ हजार १३२ सहित निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत पाएका छन् ।
श्रम संस्कृतिका सानबहादुर राई ११ हजार ९३२ मत ल्याएर तेस्रो हुँदा रास्वपाका दिनेश भण्डारीले ९ हजार ९४४ मा चित्त बुझाउनु परेको छ ।
कोशीको हिमाली जिल्ला सोलुखुम्बुमा कांग्रेसका प्रकाशसिंह कार्की १३ हजार १६६ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपाका अशिम राईले नौ हजार ४१४ पाएका छन् ।
सोलुखुम्बुमा पाँचौं भएका श्रम संस्कृतिका वियस राईले ३ हजार ३६३ र रास्वपाका ऋषिधन थुलुङ राईले ३ हजार ६४२ मत प्राप्त गरेको आयोगले जनाएको छ ।
संखुवासभामा एमालेका अर्जुनकुमार कार्की १५ हजार ६३६ मतसहित निर्वाचित हुँदा उपविजेता रास्वपा उम्मेदवार मिङमा शेर्पाले १५ हजार मत ल्याएका छन् ।
तेस्रो भएका कांग्रेसका उम्मेदवार दिपकुकमार श्रेष्ठले १३ हजार २७१ मत पाएका छन् । यहाँ श्रम संस्कृति चौथो भए पनि विभिन्न वामपन्थी दलहरू मिलेर बनेको नेकपाभन्दा राम्रो मत त्याएको छ ।
निर्वाचन आयोगका अनुसार संखुवासभामा श्रम संस्कृति पार्टीकी उम्मेदवार उमाकुमारी राईले नौ हजार ८५७ मत ल्याएकी छन् ।

तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा ११ हजार ५६१ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । दोस्रो भएका एमाले नेता भानुभक्त ढकालले १० हजार ६८२ ल्याएका छन् ।
हिमाली जिल्ला संखुवासभा जस्तै पहाडी जिल्ला तेह्रथुममा पनि रास्वपा साम्पाङको पार्टीभन्दा अगाडि देखिएको छ । यहाँ रास्वपाका सुरेन्द्र कार्की ७ हजार ७३७ र श्रम संस्कृतिका सुविन्द्रकुमार लिम्बूले ५ हजार २०० मत पाएका छन् ।
ओखलढुंगामा भने रास्वपाका उम्मेदवार विश्वराज पोखरेल विजयी हुँदा श्रम संस्कृति पार्टी पाँचौं स्थानमा आएको छ ।
पोखरेल १३ हजार ९५३ मत ल्याएर विजयी हुँदा श्रम संस्कृतिका उद्धवकुमार राई ३ हजार ८५८ मत ल्याएर पाँचौं भएका छन् ।
उदयपुर–१ मा रास्वपालाई श्रम संस्कृति पार्टीले टक्कर दिन नसके पनि सम्मानजनक मत भने पाएको छ । यहाँ रास्वपाका पारशमणि गेलाल ३० हजार ५९० विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृतिका राजेशकुमार राईले ११ हजार ६०६ मत पाएका छन् । नेकपाका बलदेव चौधरीले १० हजार २१ र कांग्रेसका विदुर बस्नेतले नौ हजार ६७५ मत ल्याएका छन् ।
उदयपुर–२ मा रास्वपाका सूर्यबहादुर तामाङ १४ हजार ८०२ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अम्बरबहादुर रायमाझीले सात हजार ६४८ मत प्राप्त गरेका छन् ।
उदयपुर–२ मा कांग्रेसका रामकुमार राईले सात हजार २९० मत पाउँदा श्रम संस्कृतिका उम्मेदवार बलराज राईले चार हजार १३९ मतमा चित्त बुझाउनु परेको छ ।
पूर्वी तराईमा पनि राम्रै उपस्थिति
कोशी प्रदेशका तराईमा पर्ने तीन जिल्ला झापा, मोरङ र सुनसरीका १५ मध्ये १४ वटा निर्वाचन क्षेत्रमा रास्वपाले चुनाव चिह्न घण्टी अंकित झण्डा फहराएको छ । तर निर्वाचन नतिजाले पुराना दलको तुलनामा हर्कको श्रम संस्कृति पार्टीको उपस्थिति राम्रै देखिएको छ ।
झापा–१ रास्वपा उम्मेदवार निशा डाँगी ४५ हजार ६८० मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत पाएका छन् ।
यहाँ श्रम संस्कृति पार्टीका उम्मेदवार केवलराम राई १० हजार ४ मत ल्याएर तेस्रो भए ।
झापा–२ मा इन्दिरा रानामगर ६० हजार ११० मतले विजयी हुँदा दोस्रो भएका एमालेका देवराज घिमिरेले ११ हजार ३६८ पाएका छन् । श्रम संस्कृतिका केशवकुमार भण्डारी सात हजार २९२ तेस्रो हुँदा कांग्रेस उम्मेदवार सरिता प्रसाईंले पाँच हजार ६१६ मत ल्याएकी छन् ।
झापा–३ मा रास्वपाकै प्रकाश पाठक ३८ हजार ६७४ मतसहित विजयी हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन १७ हजार २९४ मत ल्याएर दोस्रो भएका छन् ।
श्रम संस्कृतिका उम्मेदवार दिपक तिम्सिना सात हजार ३३९ मत ल्याएर पाँचौं भए पनि झापा–३ मा नेकपालाई पछि पार्न सफल देखिएका छन् । यहाँ कांग्रेस तेस्रो (८१९९), एमाले चौथो (७३३९) र नेकपा छैटौं (१४५०) भएको छ ।
झापा–४ मा पनि रास्वपाकै शम्भुप्रसाद ढकाल ४३ हजार ६३१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लालप्रसाद साँवा लिम्बूले ११ हजार ९८६ पाएका छन् ।

यहाँ कांग्रेस देउउकुमार थेबेले ९ हजार ४३४ मत ल्याएका छन् । चौथो भएकी श्रम संस्कृति उम्मेदवार अमृतादेवी राई सात हजार १६१ मत ल्याउन सफल देखिएकी छन् ।
झापा–५ रास्वपाका बालेन्द्र शाह (बालेन) ६८ हजार ३४८ मत ल्याएर विजयी भएका छन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हराउँदै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।
ओली १८ हजार ७३४ मत ल्याएर दोस्रो स्थानमा रहँदा तेस्रो भएको श्रम संस्कृतिका उम्मेदवार समिर तामाङले ९ हजार २३३ मत पाएका छन् । यहाँ कांग्रेस श्रम संस्कृतिभन्दा पछि परेको छ । कांग्रेस उम्मेदवार मन्धरा चिमरियाले १ हजार ८२१ मत ल्याएकी छन् ।
मोरङ–१ मा रास्वपाका यज्ञमणि न्यौपाने २७ हजार ३६७ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामाले १७ हजार ५५२ ल्याएकी छन् ।
कांग्रेस उम्मेदवार खड्गबहादुर फागो ११ हजार ९८७ मत पाएर तेस्रो र एमालेका घनश्याम खतिवडा ९ हजार ८२६ मतसहित चौथो बनेका छन् ।
मोरङ–२ मा भने श्रम संस्कृति पार्टीका उपस्थिति कमजोर देखिएको छ । यहाँ उसका उम्मेदवार अबुहो रैरहले मात्र १ हजार ८ सय २२ मत ल्याएका छन् । यहाँ रास्वपाका कृष्णकुमार कार्की ४० हजार ९२४ मतसहित विजयी भएका छन् ।
मोरङ–३ मा रास्वपाकै गणेश कार्की ३६ हजार ९२४ मतले विजयी भएका छन् । कांग्रेसका सुनिलकुमार शर्मा २४ हजार ३४५ ल्याउँदा श्रम संस्कृतिका अमिर मगरले १६ हजार ५०९ मतसहित तेस्रो भएका छन् ।
मोरङ–४ मा रास्वपाकै सन्तोष राजवंशी ४० हजार ८३३ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस महामन्त्री गुरुराज घिमिरेले १२ हजार ८१८ मत पाएका छन् ।
यहाँ पनि श्रम संस्कृति पार्टीको उपस्थिति कमजोर देखिएको छ । उसका उम्मेदवार कृष्णकुमार अटल १ हजार १ मतसहित छैटौं भएका छन् ।
मोरङ–५ ले ३० हजार ४३४ मतसहित रास्वपा उम्मेदवार आशा झालाई निर्वाचित गरेको छ । यो क्षेत्रमा श्रम संस्कृति पार्टीका तर्फबाट उम्मेदवार नरहेको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ ।
मोरङ–६ मा कांग्रेस नेता डा. शेखर कोइरालालाई फराकिलो मतान्तरले हराउँदै रास्वपाबाट रुविना आचार्य विजयी भएकी छन् । रुविना ५५ हजार ५१३ सहित विजयी हुँदा कोइरालाले १२ हजार ८५० मत पाएका छन् ।
मोरङ–६ मा श्रम संस्कृति पार्टी पुरानो दल नेकपाभन्दा बलियो देखिएको छ । यहाँ श्रम संस्कृतिका मातृका पौडेल ३ हजार ४०० मत ल्याउँदा नेकपाले १ हजार ७१६ मत पाएको छ ।
सुनसरी–१ बाट भने श्रम संस्कृति पार्टीका संस्थापक हर्क साम्पाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी रास्वपालाई ८ हजार बढी मतले पछि पारेका छन् ।
हर्क ३५ हजार ७४१ मतसहित निर्वाचित हुँदा रास्वपाकी गोमा तामाङले २७ हजार २४९ पाएकी छन् । एमालेका टीकाराम लिम्बूले ६ हजार ४६३ र कांग्रेसका सुजेन्द्र तामाङले तीन हजार ९७० मत ल्याएका छन् ।
सुनसरी–२ मा कांग्रेस उम्मेदवार राजीव कोइरालालाई हराउँदै रास्वपाका लालविक्रम थापा विजयी भएका छन् । उनले ५७ हजार ३४८ र कोइरालाले १६ हजार ७१ मत पाएका छन् ।
यहाँ श्रम संस्कृतिका चेतन राईले ७ हजार ४८४ र एमालेका सुजन लामाले ८ हजार ३०३ मत पाएको आयोगको तथ्यांकले देखाउँछ ।
सुनसरी–३ मा पनि रास्वपाकै अशोककुमार चौधरी ४७ हजार ४२१ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता विजयकुमार गच्छदारले २० हजार ५०१ मत पाएका छन् ।
तेस्रो भएको एमालेकी भगवती चौधरीले १५ हजार ८३ ल्याएकी छन् । यहाँ श्रम संस्कृति पार्टीका उम्मेदवार रामप्रसाद सदाले १ हजार ७८० मत मात्रै पाएका छन् ।
सुनसरी–४ मा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गर्दै रास्वपाका दीपककुमार साह विजयी भएका छन् । उनी ४२ हजार ७७१ मत ल्याएर विजयी हुँदा कार्कीको पक्षमा १६ हजार ५८७ मत आएको छ ।
यहाँ श्रम संस्कृतिका उम्मेदवार विष्णु राना २ हजार ७६३ मतसहित पाँचौं भएका छन् । तेस्रो भएका एमालेका उम्मेदवार जगदीशकुमार कुसियैतले ८ हजार ६३१ मत प्राप्त गरेको आयोगले जनाएको छ ।
हर्कको पृष्ठभूमि
कलाकार बन्ने रहर पालेका हर्कले २०६४ सालमा आफ्नै शब्दमा ‘मिसिङ हर्ट’ नामको लोक आधुनिक म्युजिक एल्बम निकालेका थिए ।
तर, उनी साङ्गीतिक बजारमा जम्न सकेनन् । त्यसपछि कहिले धरानका भाषा सेन्टरमा अंग्रेजीका शिक्षक बने त कहिले वैदेशिक रोजगारीका लागि इराकदेखि अफगानिस्तानसम्म पुगे ।
विद्रोही र जिद्दी स्वभावका हर्कले आफ्नो उपनाम नै ‘क्रान्ति’ राखेका थिए । वैदेशिक रोजगारबाट फर्केपछि विद्रोही स्वभावलाई मुखरित गर्न समाजमा देखिएका बेथितिविरुद्ध सडकमा एक्लै आन्दोलन गर्न थाले ।
असन्तुष्ट धराने जनताले उनको विद्रोही आवाजलाई साथ दिए । यसैको नतिजामा उनी नेपाल फर्किएको तीन वर्षमै धरानको मेयर बन्न सफल भएका थिए । उनै हर्कको यात्रा प्रतिनिधिसभासम्म पुगेको छ ।
प्रतिक्रिया 4