१० माघ, विराटनगर । चुनावी भेटघाटसँगै धार्मिक यात्रा गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह काठमाडौं फर्किएका छन् । काठमाडौं महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ताका लागि मंगलबार झापाको दमक आएका थिए ।
जनकपुरबाट कालो रङको ल्यान्ड रोभर डिफेन्डरमा दमक आएका उनी सोही गाडीमा ताप्लेजुङ सदरमुकाम फुङ्लिन पुगेका थिए । शनिबार साँझ काठमाडौं फर्कदा विराटनगर विमानस्थलसम्म सोही गाडीमा आए । व्यापारीको मंहगो गाडी चढेको भन्दै उनको आलोचना पनि भयो ।
मंगलबार दमक आएका उनी मनोनयन दर्तापछि बिर्तामोड पुगेर बसेका थिए । बुधबार दमक फर्किएर कार्यकर्तासँग भेटघाट गरे । मोरङ, सुनसरी र झापाक उम्मेदवारसँग छलफल गरे । बिहीबार बिहान इलाम बजार पुगेर उम्मेदवारसँग घरदैलो गरे । घण्टी पनि बजाए ।
पाँचथरमा पनि उम्मेदवारलाई भोट मागेर उनले समर्थकसँग भेटघाट गरे । ताप्लेजुङ जाँदा चोकचोकमा भेला भएका समर्थक र कार्यकर्तालाई भेटे । कतै नमस्कार गर्दै र कतै हात मिलाएर हालखबर सोध्दै उनी फुङ्लिङ पुगेका थिए । त्यसपछि सानोफेदीहुँदै शुक्रबार बिहान पाथीभरा मन्दिर दर्शन गरेर फर्किएका उनले ताप्लेजुङमा समर्थकसँग भेटघाट गरे ।
ताप्लेजुङबाट पाँचथर आएका उनी मध्यपहाडी लोकमार्ग हुँदै शुक्रबार बेलुका तेह्रथुमको म्याङलुङ बजारमा पुगे । शुक्रबार म्याङलुङ बसेका उनी शनिबार बिहान मन्दिर दर्शनका लागि पुगेका थिए ।
उनले म्याङ्लुङको देवीथान क्षेत्रमा स्थानीय मतदातासँग अन्तरक्रिया गरे, रास्वपा तेह्रथुमका उम्मेदवार सुरेन्द्र कार्कीका लागि भोट पनि मागे ।

मतदातासँग तेह्रथुमको भूगोल, हावापानी र जनजीवनलाई प्रत्यक्ष महसुस गरेपछि मात्र वास्तविक समस्या चिन्न सकिने बताए । ‘तेह्रथुमको नाम कागजमा पढ्न सकिन्छ, विकिपिडियामा पनि भेटिन्छ’, शाहले भनेका थिए, ‘तर यहाँ आएर यहीको माटोमा बसेर, यहीँका मान्छेसँग कुरा गरेपछि मात्र त्यो ठाउँको वास्तविकता बुझिन्छ । भोलि संसदमा कुरा उठाउँदा अनुमान होइन, अनुभूतिको आधार चाहिन्छ ।’
उनी तेह्रथुमको बसन्तुपुरमा रहेको चो लुङ पार्कमा पनि पुगे । तेह्रथुमसँग सीमा जोडिएको संखुवासभाको मुढेबजार पनि पुगे । धर्मदेवी नगरपालिका–३ मुढेबजारमा रास्वपा उम्मेदवार मिङ्मा शेर्पालाई साक्षी राखेर पूर्वको सुन्दरताको व्याख्या गरे । रुद्राक्षको चर्चा गरे ।
‘नढाँटी भन्नुपर्दा संखुवासभा म पहिलो चोटी आएको हो,’ मतदातामाझ संक्षिप्त मन्तव्य राखेका उनले भने, ‘संखुवासभा र बाहिर पनि रुद्राक्षका लागि परिचित छ, म जसरी पहिलो पटक यहाँ आएको छु, त्यसरी नै उम्मेदवारले तीन करोड नेपालीलाई यहाँ टेकाउने (आउने) वातावरण बनाइदिनुहोला ।’
उनले पर्यटन र कृषि क्षेत्रको विकास गर्न पनि आग्रह गरे । ‘यो पूर्वी भेग कति सुन्दर छ, कति राम्रो छ भन्ने कुरा सबैलाई थाहा छैन, यहाँ आएर थाहा हुन्छ,’ उनले भने ।
तेह्रथुमको म्याङलुङ बजारबाट नजिकै रहेको मुढे बजारका मतदातासँग भेटघाट गरेर फर्किएका उनलाई समर्थकले धनकुटाको हिलेमा स्वागत गरे । धनकुटा बजारमा पनि स्वागत गरे । रास्वपा समर्थकले धरान बजार, तरहरा, बजार इटहरी बजारमा उनलाई स्वागत गरे । विराटनगर विमानस्थल अगाडि भेला भएका समर्थकले उनको पक्षमा नाराबाजी गरे ।
कतै समर्थकसँग हात मिलाए, खादा माला र फुलगुच्छा ग्रहण गरे, कतै गाडीमा बसेर हात मिलाए, कतै भने गाडीको रुफटपबाट बाहिर मतदातालाई हात हल्लाउँदै हिंडे । तर, कतै सञ्चारकर्मीसँग कुरा गर्न मानेनन् ।

बालेन शाह कोशीका जिल्लाहरूमा रास्वपा चुनाव चिन्ह घण्टीको माहोल बनाएर फर्किएको रास्वपा नेताहरू बताउँछन् । ‘एक चरण पूर्वका जिल्लाहरू घुमेर उहाँ फर्कनु भएको छ, माहोल राम्रो भएको छ,’ रास्वपा कमल गाउँपालिका अध्यक्ष केदार चापागाईं भन्छन्,‘ उहाँ फेरि फर्कनुहुन्छ, त्यसपछि झापा क्षेत्र नम्बर ५ मा केन्द्रित भएर अन्य क्षेत्रमा पनि अभियानमा सहभागी हुने तयारी छ ।’
६ दिन पूर्व बसेका उनी मोरङ, सुनसरी, झापा, इलाम पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र धनकुटा पुगेका थिए ।
काठमाडौं महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर शाह रास्वपामा प्रवेश शाह चारपटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न झापा क्षेत्र नम्बर ५ आइपुगेका हुन् ।
उनी रास्वपाले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार हुन् । एमालेले पनि ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको छ ।
दुवै पार्टीले खडा गरेका उम्मेदवार भावी प्रधानमन्त्रीका आकांक्षी भएका कारण झापाको चुनावी सरगर्मी बढेको छ । त्यसको ताप कोशी प्रदेश हुँदै देशैभर छ ।
एमाले अध्यक्ष ओली पनि मतदाता र कार्यकर्तासँग भेटघाट गरी शुक्रबार दिउँसो विराटनगर विमानस्थल हुँदै काठमाडौं फर्किएका थिए । बालेन शनिबार बेलुका विराटनगर विमानस्थल हुँदै काठमाडौं फर्किएका हुन् ।
काठमाडौं फर्कनुअघि विराटनगर विमानस्थल अगाडि रहेको पर्पलहेज क्याफेमा उनले रास्वपाका उम्मेदवार र अगुवा कार्यकर्तासँग छलफल गरेका थिए । सुटुक्क विराटनगर आएका बालेनलाई हेर्न समर्थकको भिड लागेपछि व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

प्रतिक्रिया 4