+
+
Shares

विश्वले कुरिरहेको फिल्म ‘ड्युन ३’ को ट्रेलर : पाउल अर्को युद्धको तयारी गर्दैछन् ?

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ४ गते १२:५७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डेनिस भिलन्युभले 'ड्युन पार्ट ३' को ट्रेलर सार्वजनिक कार्यक्रम एएमसी हलमा पत्रकार र ब्लगरबीच आयोजना भएको बताए।
  • 'ड्युन पार्ट ३' मा जेन्डाया, जेभियर बार्डेम, अन्या टेलर-जोय र रोबर्ट प्याटिन्सन सहभागी छन् र फिल्म १८ डिसेम्बर २०२६ मा प्रदर्शन हुने छ।
  • टिमोथे सालामेले भिडियो सन्देशमार्फत निर्देशक भिलन्युभको समर्पणको प्रशंसा गर्दै फिल्मलाई जीवन्त बनाएको उल्लेख गरे।

लस एन्जलस । ‘यो ट्रेलर सार्वजनिक गर्ने कार्यक्रम हो ? प्रिमियरजस्तै देखिन्छ त’ निर्देशक डेनिस भिलन्युभले मजाक गरे ।

‘ड्युन पार्ट ३’ का कलाकारलाई एएमसी हलमा उपस्थित पत्रकार, फिल्म समीक्षक, ब्लगर र कन्टेन्ट क्रिएटरबीच परिचय गराउँदै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘ड्युन’ श्रृंखलाका पुराना कलाकार जेन्डाया र जेभियर बार्डेमसँगै नयाँ अनुहारका रूपमा अन्या टेलर-जोय (यद्यपि ‘पार्ट टू’मा उनको छोटो उपस्थिति थियो) र रोबर्ट प्याटिन्सन पनि सहभागी थिए । उनीहरूले निर्देशक भिलन्युभसँग मिलेर साइ-फाइ फिल्म तेस्रो श्रृंखलाको अन्तिम भागको झलक प्रस्तुत गरेका थिए ।

‘म निकै उत्साहित छु,’ फ्रेमेन योद्धा चानीको भूमिका निर्वाह गरेकी जेन्डायाले पर्दामा देखिन लागेका दृश्य आफूले पहिले नै हेरिसकेको पुष्टि गर्दै भनिन् ।

उनले थपिन्, ‘यी फिल्मले मेरो जीवनमा धेरै अर्थ राख्छन् । मैले मेरो पूरै २० को दशक यिनै फिल्ममा काम गर्दै बिताएँ । त्यसैले यी फिल्मले मेरो हृदयमा विशेष स्थान राख्छन् ।’

श्रृंखलाको मुख्य पात्र पाउल एट्रिडिसको भूमिका निर्वाह गरेका टिमोथे सालामे कार्यक्रममा व्यक्तिगत रूपमा उपस्थित भएनन् । उनले भिडियो सन्देशमार्फत विशेष कार्यक्रमको सुरुआत गरेका थिए ।

रेकर्ड गरिएको सन्देशमा उनले भने, ‘यो फिल्म सिनेमाका महान गुरु तथा उत्कृष्ट कलाकार डेनिस भिलन्युभ बिना सम्भव हुने थिएन । डेनिस सधैं भन्छन्, ‘सिनेमालाई जिउँदो राखौँ ।’ र यो तेस्रो फिल्ममार्फत उनले वास्तवमै त्यही काम गरेका छन्, यो साँचो अर्थमा सिनेमा हो । ‘ड्युन’ फिल्मलाई जीवन्त बनाउने उनको समर्पणका लागि धन्यवाद भन्न म एक्लो छैन । अब यो तेस्रो श्रृंखलालाई जीवन्त बनाएकोमा पनि ।’

पहिलो दुई भाग लगातार छायांकन गरेपछि भिलन्युभले अर्को कुनै अलग फिल्म बनाउने योजना बनाएका थिए । तर दोस्रो फिल्मले पाएको प्रतिक्रिया पछि उनले आफ्नो योजना परिवर्तन गरेका हुन् ।

‘ड्युन : पार्ट थ्री’ फ्र्याङ्क हर्बर्टको ‘ड्युन : मसीहा’बाट प्रेरित कथा हो । यसले पाउल- एक योद्धा राजकुमार र चुनेको पात्रले हार्कोनेनहरूलाई पराजित गरेर सम्राट बनेपछि के हुन्छ भन्ने देखाउँछ । उनले फ्रेमेनहरूको मसीहाको भूमिका स्वीकार गर्दै पवित्र युद्धको सुरुआत गर्छन् ।

राजनीतिक शक्ति सुदृढ गर्न उनले राजकुमारी इरुलान (फ्लोरेन्स प्यु)सँग विवाह पनि गर्छन्, जसका कारण चानी उनीबाट टाढिन्छिन् । टिजरमा त्यसपछि सुरु हुने अन्तरग्रहीय द्वन्द्वका विस्फोटक झलकहरू देखाइएका छन् । साथै, पाउललाई भित्रैदेखि सताउने मानसिक द्वन्द्व पनि प्रस्तुत गरिएको छ ।

क्लिप पाउल र चानीबीचका खुशीका क्षणबाट सुरु हुन्छ, जहाँ उनीहरूले सन्तानको नामबारे कुरा गरिरहेका हुन्छन् । ‘यदि छोरी भयो भने के नाम राख्ने ?’ चानीले सोध्छिन् । पाउल जवाफ दिन्छन्, ‘उसको नाम घानिमा राख्नुपर्छ । ऊ आफ्नी आमाजस्तै बलियो हुनुपर्छ ।’ त्यसपछि पाउलले सोध्छन्, ‘यदि छोरा भयो भने ?’ चानी भन्छिन्, ‘म उसलाई लेटो नाम दिन्छु, ताकि उसमा हजुरबुबाजस्तै बुद्धिमत्ता होस् ।’

‘ड्युन’का दर्शकले यसलाई भविष्यतर्फ संकेत गर्ने संवादको रूपमा सहजै चिन्न सक्छन्, तर यहाँ त्यसको थप खुलासा गरिएको छैन ।

यसका सट्टा, जेन्डायालाई मरुभूमिका बालुवाका ढिस्काबीच हिँडिरहेको सुन्दर दृश्य प्रस्तुत गरिएको छ । चानी अझै पनि भिलन्युभको कथाको ‘धड्कन’ जस्तै देखिन्छिन् । तर यो ‘ड्युन’ हो, ‘अन्डर द टस्कन सन’ होइन ।

दृश्यको अन्त्यमा छोटो कपाल बनाएको पाउल अर्को युद्धको तयारी गर्दै देखिन्छन् । उनी भन्छन्, ‘म मर्नसँग डराउँदिनँ, तर अहिले मर्नु हुँदैन ।’

यो फिल्म १८ डिसेम्बर, २०२६ मा प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?