News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रास्वपालाई चुनाव जिताउन कांग्रेसमा विवाद झिकिएको बताएका छन्।
- खड्काले आधिकारिक कांग्रेस १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै रहेको र वैधानिक कांग्रेस आफू नै भएको बताए।
- उनले कांग्रेस एकता जरुरी रहेको र पार्टीका युवाहरूका लागि बलियो कांग्रेस बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।
१८ चैत, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रास्वपालाई चुनाव जिताउन नै कांग्रेसमा विवाद झिकिएको टिप्पणी गरेका छन् । बुधबार आफूपक्षीय नेताहरूको बैठकमा बोल्दै नेता खड्काले विशेष महाधिवेशन पक्षधरमाथि रास्वपा जिताउन पार्टीभित्र विवाद झिकेको आशय व्यक्त गरेका हुन् ।
‘कांग्रेसलाई यो ठाउँमा नपुर्याइकन रास्वपा यहाँ पुग्दैन थियो,’ बैठकमा खड्काले भने । आधिकारिक कांग्रेस शेरबहादुर देउवा नेतृत्वमा १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै रहेको उनले दाबी गरे । उनले भने, ‘आधिकारिक कांग्रेस हामी नै हौं र, अहिलेको समस्याको समाधान हामीले नै गर्ने हो ।’
अदालतबाट जेसुकै फैसला भएपनि वैधानिक कांग्रेस आफू नै भएको उनले बताए । इकाईदेखि पालिका, क्षेत्र, जिल्ला र प्रदेशसम्म पनि १४ औँ महाधिवेशनबाटै निर्वाचित कार्यसमितिहरू क्रियाशील रहेको उनले औँल्याए ।
‘अब हामीले चुनावी कुरा नगरी अब सबैलाई एक बनाएर जानुछ, किनभने हामीले कांग्रेस एक पनि बनाउनु छ,’ उनले भने, ‘कांग्रेसले जे–जे कुरालाई आफ्नो मूल्यमान्यता मान्थ्यो र देशले लोकतन्त्र मानेको छ, त्यो अहिले डिलमा पुगेको छ । त्यो फर्काउने जिम्मा कांग्रेसलाई नै छ ।’ त्यसैले पनि वृहत् एकता जरुरी रहेको उनले बताए ।
आफूहरूले पाउनुपर्ने जति पाइसकेको बताउँदै खड्काले अब पार्टीमा लागेका युवाहरूका लागि बलियो कांग्रेस बनाउन आफू कुनै कसर बाँकी नराख्ने बताए ।
प्रतिक्रिया 4