+
+
Shares

तेस्रो ‘नेसनल हर्टिकल्चर एक्स्पो’ सुरु, फलफूल र जडीबुटीसँगै नीतिगत सुधार बहस

एक्स्पोमा ७ सयभन्दा बढी प्रजातिका बोटबिरुवा प्रदर्शन तथा बिक्री वितरणका लागि राखिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १४:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा तेस्रो ‘नेसनल हर्टिकल्चर एक्स्पो २०८२’ बिहीबारदेखि सुरु भएको छ।
  • बागमती प्रदेशका कृषि मन्त्री मधुसूदन पौडेलले पुष्प व्यवसायलाई कला र सिपयुक्त पेसाका रूपमा विकास गर्नुपर्ने बताए।
  • नेपाल नर्सरी व्यवसायी संघले यस वर्ष करिब ५१ हजारले एक्स्पो अवलोकन गर्ने र १ करोड ५० लाखभन्दा बढी कारोबार हुने अनुमान गरेको छ।

१९ चैत, काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आज बिहीबारदेखि तेस्रो ‘नेसनल हर्टिकल्चर एक्स्पो २०८२’ सुरु भएको छ ।

नेपाल नर्सरी व्यवसायी संघको आयोजनामा नर्सरी व्यवसायको विकास र विस्तारका साथै प्रोत्साहन गर्ने उद्देश्यसाथ पुष्प, फलफूल, कृषिवन तथा जडीबुटी नर्सरीका व्यावसायिक उत्पादनको बृहत प्रदर्शनी सुरु भएको हो ।

बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले एक्स्पो उद्घाटन गरे ।

नेपालमा पुष्प व्यवसाय वार्षिक १० देखि १५ प्रतिशतले वृद्धि भइरहेको र यसले स्वरोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै मन्त्री पौडेलले आगामी बजेटमा यस क्षेत्रका लागि थप रकम विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले पुष्प व्यवसायलाई केवल खेतीपातीका रूपमा मात्र नभई एउटा कला र सिपयुक्त पेसाका रूपमा विकास गर्नुपर्ने बताए ।

‘यो व्यवसायमा कलात्मकता पनि जोडिएको छ, अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने गरी व्यवसायलाई आधुनिक र प्रविधियुक्त बनाउन आवश्यक तालिम र प्राविधिक सहयोगका लागि प्रदेश सरकार सधैं व्यवसायीको साथमा छ,’ मन्त्री पौडेलले भने ।

यस्तै कृषि विभागका महानिर्देशक प्रकाश सञ्जेलले अब कृषि विकासमा निजी क्षेत्रले अगुवाइ गर्ने र सरकारले सहयोगी तथा नीतिगत सहजीकरणको भूमिका खेल्ने बताए ।

समस्या पहिचानको चरण सकिएकाले अब समाधानतर्फ केन्द्रित हुने बेला आएको उनको भनाइ छ  ।

समग्र लगानी र रोजगारीमा ८० देखि ८५ प्रतिशत हिस्सा ओगटेको निजी क्षेत्रलाई सरकारले ‘लिडिङ एजेन्सी’ का रूपमा स्वीकारेको उनले बताए ।

‘नयाँ सरकारको सय दिने कार्ययोजनामा पनि निजी क्षेत्रको अगुवाइलाई प्राथमिकता दिइएको छ,’ उनले भने, ‘सरकारको काम भनेको निजी क्षेत्रलाई आवश्यक ‘पोलिसी ब्याकअप’ दिने हो ।’

नर्सरी तथा पुष्प व्यवसायका समस्या समाधानका लागि विभागले काम गरिरहेको जानकारी दिँदै उनले गुणस्तर, क्वारेन्टिन र आयात–निर्यात सहजीकरण जस्ता विषय सम्बोधन गर्न कृषि ऐन संशोधनसम्मको तयारी भइरहेको बताए ।

सरकारले १० हजार हेक्टरमा फलफूल खेती विस्तार गर्ने लक्ष्य लिएको र त्यसका लागि लाखौं बिरुवा आवश्यक पर्ने हुँदा नर्सरी व्यवसायको भविष्य उज्यालो रहेको उनको भनाइ थियो ।

एक्स्पोमा देशभरिका नर्सरी व्यवसायीहरू व्यावसायिक स्टल, सूचनामूलक स्टल, प्रतिस्पर्धा स्टल लगायत गरी ६५ भन्दा बढी स्टल छ ।

एक्स्पोमा ७ सयभन्दा बढी प्रजातिका बोटबिरुवा प्रदर्शन तथा बिक्री वितरणका लागि राखिएका छन् ।

एक्स्पोमा मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बिउबिजन, गमला, औजार उपकरण तथा प्रविधि समेत प्रदर्शनी गरिएको छ ।

यसैगरी एक्स्पो उद्घाटनमा उत्कृष्ट प्रस्तुतिका आधारमा विभिन्न विधामा पुरस्कार वितरण पनि गरिएको छ ।

प्रतियोगितामा शिवपुरी नर्सरीले वर्चस्व कायम गर्दै बेस्ट ल्यान्ड्स्केप डिजाइन, बेस्ट अर्नामेन्टल प्लान्ट र बेस्ट फ्रुट प्लान्ट गरी तीन विधामा उत्कृष्टता हासिल गर्दा हाम्रो बगैँचा नर्सरीले बेस्ट प्रेजेन्टर अफ द एक्स्पो (पुष्प) र सिजनल फ्लावर विधामा दुई पुरस्कार जित्न सफल भयो ।

त्यसैगरी कान्तिपुर नर्सरीले बेस्ट फ्लावरिङ प्लान्ट, अल ट्रपिकल प्लान्ट नर्सरीले मेडिसिनल एन्ड एरोमेटिक प्लान्ट तथा अल ट्रपिकल प्लान्ट हाउसले समग्र हर्टिकल्चरतर्फ बेस्ट प्रेजेन्टरको पुरस्कार जितेका छन् ।

संघका अनुसार यस वर्ष करिब ५१ हजार जनाले अवलोकन गर्ने तथा १ करोड ५० लाख भन्दा बढीको व्यावसायिक कारोबार हुने अनुमान गरिएको छ ।

हाल नर्सरी क्षेत्रमा ११ अर्ब ८३ करोड रुपैयाँ लगानी रहेको र वार्षिक ६ अर्ब ४३ करोड रुपैयाँको आर्थिक कारोबार हुने गरेको संघले जानकारी दिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?