+
+
Shares

गोरखा सहकारीमा ४ अर्ब १२ करोड अपचलन, गैरसदस्यका नाममा ७८ करोड हिनामिना

तत्कालीन गोरखा डेभलमेन्ट बैंक घोटाला प्रकरण प्रमुख डम्बरबहादुर (डीबी) बम्जन पनि सोही सहकारीमा संलग्न छन् । बैंकमा समस्या आउँदा बम्जन अध्यक्ष थिए । गोरखा सहकारी पनि उनको परिवारको मिलेमतोमा संकटग्रस्त भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते २०:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूले ४ अर्ब १२ करोड रुपैयाँ हिनामिना गरेको पाइएको छ।
  • सरकारले सहकारी ठगीमा संलग्न चार जनालाई पक्राउ गरेको छ, जसमा अध्यक्ष इमानसिंह राई र प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री छन्।
  • संस्थाको कर्जा लगानी १ खर्ब ५२ करोड ४० लाख र बचतकर्ता संख्या ३१ हजार ८ रहेको समितिले जनाएको छ।

२० चैत, काठमाडौं । गोरखा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले ४ अर्ब १२ करोड रुपैयाँ हिनामिना गरेको पाइएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार सञ्चालकहरू तेजबहादुर तामाङ, डीबी बम्जन लगायतले उक्त रकम अपचलन गरेका हुन् ।

जेनजी आन्दोलनपछि नयाँ जनादेशबाट बनेको बालेन्द्र साह नेतृत्व सरकारले शुक्रबार गोरखा सहकारीसँग सम्बन्धित ४ जनालाई सहकारी ठगीमा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सहकारी अध्यक्ष ६१ वर्षीय इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत (सीईओ) लालबहादुर क्षेत्री तथा अविनकुमार राई र पूर्वलेखा सदस्य कर्णबहादुर राई छन् ।

तत्कालीन गोरखा डेभलमेन्ट बैंक घोटाला प्रकरण प्रमुख डम्बरबहादुर (डीबी) बम्जन पनि सोही सहकारीमा संलग्न छन् । बैंकमा समस्या आउँदा बम्जन अध्यक्ष थिए । गोरखा सहकारी पनि उनको परिवारको मिलेमतोमा संकटग्रस्त भएको हो ।

बचतकर्ताबाट उठाएको ४ अर्ब १२ करोड २ लाख रुपैयाँ बचत रहेको समितिको कार्यालयले जनाएको छ । संस्थाको पछिल्लो विवरण अनुसार संस्थाको कर्जा लगानी १ खर्ब ५२ करोड ४० लाख रुपैयाँ  छ ।

संस्थाको कुल बचत (ब्याजसहित) ४ अर्ब १४ करोड १३ लाख छ । त्यसैगरी कुल कर्जा (ब्याज र हर्जाना सहित) ४ अर्ब ४६ करोड ४० लाख रुपैयाँ रहेको समितिको कार्यालयले जनाएको छ ।

सञ्चालक र उनका परिवारले सहकारीबाट लिएको ऋण वर्षौंसम्म नगर्दा संस्था समस्यामा परेको हो । डीबी बम्जन र सहकारीको सेयर सदस्य समेत नरहेका उनका दाइ तेजबहादुर बम्जनले लिएको रकम वर्षौंदेखि नतिर्दा सहकारी समस्यामा देखिएको हो ।

सिभिल सहकारी ठगीमा थुनामा रहेका इच्छाराज तामाङ संस्थापक अध्यक्ष रहेको गोरखा सहकारीमा उनी पछिका डीबी बम्जन अध्यक्ष भएका थिए ।

समितिको प्रतिवेदन अनुसार तेजबहादुरको ७८ करोड १५ लाख रुपैयाँ कर्जा भुक्तानी गर्नुपर्ने देखिन्छ । उनी संस्थाका गैरसदस्य हुन् । उनको नाममा डीबीले कर्जा लिएका हुन् । यस्तै डीबी आफैंले लिएको ऋणको साँवा तथा ब्याज जरिबाना समेत ५६ करोड ४० लाख रुपैयाँ बक्यौता छ । डीबीकी श्रीमती कुमारी तामाङले लिएको ३ करोड १४ लाख ऋण भुक्तानी भएको छैन ।

संस्थाका वर्तमान र पूर्व पदाधिकारी तथा तिनका आफन्तले ७० प्रतिशतभन्दा धेरै ऋण तिरेका छैनन् । अन्य साधारण सेयर सदस्यले लिएको ऋणको हिस्सा सानो छ । उक्त ऋण उठाउन सकिए पनि वर्तमान र पूर्व पदाधिकारीले ऋण भुक्तानी नगर्दासम्म बचतकर्ताको रकम फिर्ता गर्न सक्ने हुने देखिँदैन ।

गोरखा सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ ब्रिटिस गोर्खा ग्रुपद्वारा प्रवर्द्धित संस्था रहेको भन्दै सुरुमा प्रचारप्रसार हुँदै आएको थियो । सोही ग्रुपले सञ्चालमा ल्याएको सिभिल सहकारी यसअघि नै समस्याग्रस्त भइसकेको छ ।

ब्रिटिस गोरखा ग्रुपबाट प्रवर्द्धन गरेको भन्दै देशका विभिन्न स्थानमा सहकारी संस्था स्थापना भएर सर्वसाधारणबाट बचत संकलन गरी यसैगरी अपचलन हुँदै आएको थियो । गितेन्द्रबाबु (जीबी) राई संलग्न रहेका कतिपय सहकारी समेत सोही समूहले स्थापना गरेको हो ।

ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको कल्याण उपकार बचत तथा ऋण सहकारी संस्था पनि डीबी बम्जन परिवारकै ज्ञानबहादुर बम्जन संस्थापक अध्यक्षका रूपमा स्थापना भएको संस्था हो भने उनै संस्थापक अध्यक्ष भएर स्थापना भएको पोखराको सूर्यदर्शन सहकारी संस्थामा पछि उनले जीबीलाई अध्यक्ष बनाएका थिए । इमेज सहकारी ठगी प्रकरणमा फरार रहेका देवकुमार नेपाली पनि सूर्यदर्शन सहकारीका संस्थापकमध्ये एक हुन् ।

गोरखा बचत तथा ऋण सहकारीका सञ्चालक तथा कर्मचारीले डमी रूपमा ऋणी खडा गरिएका कुल ऋणको करिब ७० प्रतिशतभन्दा बढी प्रयोग गरेको देखिन्छ । कुनै पनि ऋण नियमित छैन । वर्षौंदेखि साँवा मात्रै नभएर ब्याजसमेत भुक्तानी नभएको समितिको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

सेयर पूँजी १४ करोड ७७ लाख २७ हजार छ । सहकारीका बचतकर्ता संख्या ३१ हजार ८ रहेको समितिको कार्यालयले जनाएको छ । संस्थाले गोरखा हस्पिटलमा २५ करोड ३८ लाख ऋण लगानी गरे पनि त्योसमेत असुल हुन नसकेको समितिले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?