+

भेडापालक पदमकुमारीः राडीपाखीकी ब्राण्ड एम्बेसडर

पुर्ख्यौली सीपलाई व्यवसायमा ढालेर ओखलढुंगाकी पदमकुमारी गुरुङले सयौं महिलालाई स्वरोजगार बनाएकी छिन्। झण्डै एक हजार भेडाको बगाल पाल्ने उनी राडीपाखीलाई युरोपसम्म निर्यात गर्छिन्।
पूरा सूची
Shares
पदमकुमारी गुरुङ

ओखलढुंगाको रुम्जाटार पुग्ने जो–कोहीले पनि डाँडापाखामा चरिरहेका सेता भेडाका बगाल र तानमा बसेर राडीपाखी बुनिरहेका महिलाहरूको दृश्य सजिलै देख्न सक्छन्। यही जीवन्त दृश्यका पछाडि छिन्- ६५ वर्षीया पदमकुमारी गुरुङ ।

१४ वर्षको उमेरदेखि आमाको सिको गर्दै राडीपाखी बुन्न थालेकी पदमकुमारी अहिले यो क्षेत्रको एक स्थापित उद्यमी र कुशल प्रशिक्षक हुन्। एक समय थियो, जतिबेला राडीपाखी घरायसी प्रयोजन र जाडो छल्नका लागि मात्रै बुनिन्थ्यो। तर पदमकुमारीले यो परम्परागत सीपलाई आयआर्जनको बलियो माध्यम मात्र बनाइनन्, ओखलढुंगाको रुम्जाटारमा बनेको राडीपाखीलाई युरोप, अष्ट्रेलिया र चीनको बजारसम्म पुर्‍याएर अन्तर्राष्ट्रियकरण समेत गरिन्।

अहिले उनीसँग आफ्नै करिब ७०० भेडा छन्। ऊन कात्ने, धागो बनाउने, राडीपाखी बुन्ने र त्यसलाई बजारसम्म पुर्‍याउने सम्पूर्ण चक्रको नेतृत्व उनी आफैं गर्छिन्। स्थानीयस्तरमा राडीपाखी उत्पादन संघ र भेडा विकास समितिको अध्यक्ष समेत रहेकी उनले आफ्नो जीवन नै परम्परागत राडीपाखी उद्यमको प्रवर्धनमा समर्पित गरेकी छिन्।

पुर्ख्यौली पेशा जोगाउने चिन्ता

पछिल्लो समय बजारमा छ्यापछ्याप्ती पाइने सिन्थेटिक म्याट्रेस र ब्ल्याङ्केटका कारण हिमाली क्षेत्रको मौलिक उत्पादन राडीपाखी छायाँमा पर्न थालेको छ। पुर्ख्यौली पेशाका रूपमा एकपछि अर्को पुस्ताले राडीपाखी उत्पादनलाई निरन्तरता दिने परिवारको सङ्ख्या ओखलढुंगामा निकै घट्दै गएको छ।

ज्ञान र सीप भएका पुराना पुस्ताले काम गर्न छाडे। नयाँ पुस्ता सामान्य शिक्षा हासिल गरेर वा सीप विनै वैदेशिक रोजगारमा जान थाले। यसले गर्दा हिमाली क्षेत्रको मुख्य पहिचान मानिने राडीपाखी उत्पादन सङ्कटोन्मुख बनेको छ‘, पदमकुमारी भन्छिन्।

प्रयोग र दिगोपनका हिसाबले राडीपाखीलाई अहिले बजारमा पाइने सिन्थेटिक म्याट्रेससँग तुलना गर्नै नमिल्ने उनको दाबी छ। जाडोमा न्यानो र गर्मीमा शीतल हुने प्राकृतिक ऊनको विशेषतालाई बुझाउन नसक्दा यो सङ्कटमा परेको उनको बुझाइ छ। यही सङ्कटलाई चिर्न उनले अभियान नै शुरु गरिन्- गाउँका महिलाहरूलाई राडीपाखी बुन्न सिकाउने र उनीहरूलाई चाहिने कच्चा पदार्थ आफैं व्यवस्थापन गरिदिने।

प्रतिस्पर्धी होइन, उद्यमी जन्माउने अभियान

व्यापारको सामान्य नियमले भन्छ- आफ्नो सीप र कच्चा पदार्थ अरूलाई दियो भने बजारमा प्रतिस्पर्धी जन्मिन्छन्। तर पदमकुमारीको सोच यसको ठीक उल्टो छ। उनी चाहन्छिन्, राडीपाखी बुन्नेहरूको सङ्ख्या बढोस्।

मेरो प्रतिस्पर्धी आउला भन्ने भन्दा पनि परम्परागत राडीपाखी उत्पादनले निरन्तरता पाओस् भन्ने मेरो मुख्य चिन्ता होउनी भन्छिन्, ‘त्यसैले मैले गाउँ-समुदायका महिलाहरूलाई कच्चा पदार्थ दिएर राडीपाखी उत्पादनको तालिम दिन थालें। भेडा पाल्न हौसला दिएँ।

विशेषगरी चीन, अष्ट्रेलिया, बेलायत लगायत युरोपेली मुलुकहरूमा उनको उत्पादन निर्यात हुँदै आएको छ।

उनले यसरी सिकाएका कम्तीमा ८० जनाभन्दा बढी महिलाहरूले अहिले आफ्नै उद्यम सञ्चालन गरिरहेका छन्। तालिम लिएका धेरै महिला आफ्नो घरमै बसेर राडीपाखी बुन्छन् र आर्थिक रूपमा आत्मनिर्भर बनेका छन्। उनी आफ्नो उद्योगमा मात्र करिब १० जनालाई नियमित रोजगारी दिन्छिन्। स्थानीय महिलाहरूलाई रोजगारीमा प्राथमिकता दिने उनको नीतिले रुम्जाटारका केही घरको चुल्हो बलेको छ।

भेडापालनदेखि युरोपको बजारसम्म

राडीपाखी तयार गर्न धेरै चरण पार गर्नुपर्छ। शुरुमा भेडाको ऊन सङ्कलन गरिन्छ। त्यसलाई सफा गरेर प्रशोधन गरी धागो बनाइन्छ। अनि बल्ल मेसिन वा हाते तानको प्रयोग गरेर राडीपाखी बुनिन्छ।

यी सबै प्रक्रियाका लागि पदमकुमारीले स्थानीय कृषकहरूसँग पनि समन्वय गर्छिन्। शुरुमा एक लाख जति लगानी गर्‍यो भने वर्ष दिनलाई पुग्ने कच्चा पदार्थ (ऊन) किन्न सकिन्छ। त्यसलाई प्रशोधन गर्न अरू साथीहरू राख्नुपर्छ‘, उनी ऊन उद्यमको अर्थशास्त्र बुझाउँछिन्।

ऊनको अभाव हुन नदिन उनले आफैंले ७०० भेडा पालेकी छिन्। भेडाका पाठा बिक्री गरेर मात्रै उनको वार्षिक एक लाख रुपैयाँ जति आम्दानी हुन्छ। तर भेडा चराउने चरन क्षेत्रको अभाव भने दिन प्रतिदिन बढ्दै गएकोमा उनी चिन्तित छिन्।

धेरै मिहिनेत र समय लाग्ने भएकाले उनको उद्योगबाट वार्षिक ५० देखि ६० थान मात्र राडीपाखी उत्पादन हुन्छ। एउटै राडीपाखीको मूल्य ५० हजार रुपैयाँसम्म पर्छ। सबै खर्च कटाउँदा वार्षिक ५ देखि ६ लाख रुपैयाँ खुद नाफा हुन्छ। सङ्ख्या थोरै भए पनि मिहिनेत धेरै लाग्ने भएकाले कारोबार राम्रै हुन्छ‘, उनी सन्तुष्टि व्यक्त गर्छिन्।

उनको उत्पादनको मुख्य बजार नेपालका शहरहरू मात्र होइनन्। विदेशमा रहेका नेपाली र विदेशी ग्राहकहरू समेत यसका पारखी छन्। विशेषगरी चीन, अष्ट्रेलिया, बेलायत लगायत युरोपेली मुलुकहरूमा उनको उत्पादन निर्यात हुँदै आएको छ।

बजार प्रवर्धनका लागि उनी प्रविधिको पनि भरपूर प्रयोग गर्छिन्। पहिले गाउँ-ठाउँमा मात्र सीमित बजार अहिले सामाजिक सञ्जाल र भिडियो कलको माध्यमबाट विस्तार भएको छ। ग्राहकसँग प्रत्यक्ष कुराकानी गरेर, आफ्ना उत्पादनहरूको भिडियो देखाएर अर्डर लिने र कुरियर मार्फत सामान पठाउने गरेकी छु‘, ६५ वर्षीया पदमकुमारी प्रविधिमैत्री बन्दै गएको सुनाउँछिन्।

निरन्तरताको संकल्प

घरायसी आवश्यकता पूर्तिका लागि १४ वर्षको उमेरदेखि शुरु गरेको कामलाई व्यावसायिक रूप दिएको भने डेढ दशक मात्र भयो। आमाहरूसँग सिकेको सीपलाई निखार्न उनले सरकारी निकाय र विभिन्न संस्थाबाट धेरै तालिमहरू लिइन्। अहिले धेरैले राडीपाखी उत्पादनलाई घरेलु उद्योगको रूपमा दर्ता गरेरै सञ्चालन गर्न थालेको देख्दा उनलाई आफ्नो मिहिनेत सार्थक भएको महसुस हुन्छ।

कहिलेकाहीं ऊनको अभाव हुने र मूल्य बढ्ने समस्याले उत्पादनमा चुनौती थप्छ। मेसिनको प्रयोग सीमित हुने भएकाले उत्पादन क्षमता ह्वात्तै बढाउन पनि गाह्रो छ। यद्यपि, स्थानीय सरकारसँग समन्वय गरी सामूहिक उत्पादन गर्ने र स्थानीय कच्चा पदार्थको सङ्कलनलाई थप व्यवस्थित गर्ने रणनीतिमा उनी लागेकी छिन्।

आफ्नो क्षमताले भ्याएको व्यवसाय गरेर स्वदेशमै केही गरौं भनेर निरन्तर लागिरहेकी छुउमेरले नेटो काट्दै गए पनि पदमकुमारीको ऊर्जा र सङ्कल्प भने युवा अवस्थाको जस्तै तन्नेरी छ।

लेखक
भुवन पौडेल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।