+
+
Shares

हर्क साम्पाङले ‘राष्ट्रियता’लाई मुख्य एजेण्डा बनाउन लागेका हुन् ?

सुदूरपूर्वको धरानमा श्रमदान अभियान चलाएर त्यसैको बलमा राष्ट्रिय राजनीति मञ्चमा शक्तिसहित उदाएका उनी अब सुदूरपश्चिमको उक्त भूमिमा आफ्नो अभियान लैजान खोज्दैछन् । सदनमा एमसीसी खारेजको विषय प्रवेश गराइसहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते २१:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभाको पहिलो बैठकमा दार्चुलाको सीमा मिचिएको र एमसीसी सम्झौता खारेज गर्नुपर्ने विषय उठाए।
  • साम्पाङले दार्चुलामा पुल बनाउन सहयोग संकलन सुरु गरी छिट्टै शिलान्यास गर्ने तयारी भइरहेको जानकारी दिए।
  • विश्लेषकहरूले साम्पाङको राष्ट्रियता सम्बन्धी धारणा सकारात्मक र संवेदनशील विषय भएको बताउँदै उहाँको राजनीतिक परिपक्वता औंल्याएका छन्।

२२ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङका गत १७ गते आफ्नो फेसबुकमा लेखे- दार्चुलामा जाँदा बाइकमा हुँदैन है चितुवा लाग्छ ।’

लगत्तै चैत १८ गते उनको अर्को स्टाटस आयो- दार्चुलामा पुन बनाउन निस्कौं है श्रमदाता हो । २४ गते शिलान्यास छ । गफले देश बन्दैन, पसिना बगाउन तयार होऔं ।’

दुई दिन लगातार यस्तो लेखेका साम्पाङ १९ गते प्रतिनिधसभाको पहिलो बैठकमा नै उनले नेपालको सीमा र राष्ट्रियताको विषय प्रवेश गराए ।

दार्चुलाको नेपाली भूमि भारतले मिचेको र त्यहाँ भारतीय पक्षबाट असहयोग हुँदा नेपालीहरूलाई समस्या परिरहेको अवस्थाबारे जानकार साम्पाङले अबको आफ्नो मिसन दार्चुलातर्फ केन्द्रित गर्न खोजेका छन् ।

सुदूरपूर्वको धरानमा श्रमदान अभियान चलाएर त्यसैको बलमा राष्ट्रिय राजनीति मञ्चमा शक्तिसहित उदाएका उनी अब सुदूरपश्चिमको उक्त भूमिमा आफ्नो अभियान लैजान खोज्दैछन् । त्यहाँ पुल बनाउने श्रमदानको योजना अघि सारेका छन् ।

उनका गतिविधि र संसदको पहिलो बैठकमा गरेको सम्बोधनबाट संकेत मिल्छ अब उनी आफ्नो राष्ट्रिय एजेण्डा राष्ट्रियतालाई बनाउन खोज्दैछन् ।

उनले पहिलो बैठकमा सम्बोधन गर्ने क्रममा विगतमा पनि संसदमा लामो विवादमा परेको अमेरिकासँगको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्टको कुरा उठाए ।

उनले उक्त सम्झौता खारेज हुनुपर्ने धारणा राखे । छिमेकी मुलुकहरूको गतिविधिलाई निगरानी गर्नुपर्नेदेखि संयुक्त राष्ट्रसंघमा गएर नेपालको चार किल्ला यकिन गर्नुपर्नेसम्मका विषय उठाए ।

प्रतिनिधिसभा बैठकमा साम्पाङको धारणा यस्तो थियोः

पृथ्वीरहुञ्जेल यो देश रहिरहनु पर्दछ । हाम्रो देशको चन्द्र–सूर्य अंकित झण्डा रहिरहनु पर्दछ । देशको स्वाधीनता भूराजनीतिक सन्तुलन र असंलग्न परराष्ट्र नीतिलाई बचाई राख्न सैन्य रणनीति उद्धेश्यका साथ शुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धि सम्झौता एमसीसीलाई खारेज गर्नुपर्दछ ।

सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकहरूले गरिरहेको गतिविधिलाई सक्रिय रुपमा नेपाल सरकारले निगरानी राख्नुपर्दछ । संयुक्त राष्ट्र संघ लगायतका निकायहरूमा गएर हाम्रो देशका चार किल्ला, कति हो हाम्रो भूगोल भन्ने यकिन गरेर सीमानाको रक्षार्थ नेपाली सेनालाई खटाउनु पर्दछ ।

झट्ट सुन्दा कम्युनिष्ट पार्टीको नेताको जस्तो लाग्ने यो भनाइबाट श्रम संस्कृति पार्टीको आगामी कार्यदिशा कस्तो हुन्छ भन्ने आँकलन गर्न सकिने विश्लेषकहरू बताउँछन् ।

प्राध्यापक कृष्ण पोखरेल अध्यक्ष साम्पाङले स्वाभाविक र सकारात्मक कुरा उठाएको बताउँछन् । नेपाली जनतामा भएको राष्ट्रियता सम्बन्धी सोचलाई पुँजीकृत गर्न खोजेको हुन सक्ने पोखरेलको विश्लेषण छ ।

‘कतिसम्म टिक्छ थाहा छैन अहिलेसम्म हर्क साम्पाङको विचार र व्यवहारमा तादम्यता छ । यो राष्ट्रियताको कुरा पनि भन्नका लागि भन्ने होइन साँचो अर्थमा उठाउनैका लागि हो भने यस्तो मुद्दालाई जनताले मन पराउँछन्,’ पोखरेल भन्छन् ।

चुच्चे नक्सा र नाकाबन्दीका बेला लिएको अडानलाई पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पुँजीकृत गरेको स्मरण गर्दै पोखरेल भन्छन्, ‘त्यस्तो मुद्दा उठाउने पार्टीले स्पेस बनाउन सक्दछ ।’

साम्पाङले निर्वाचन अघि नै उठाउँदै आएको कुरालाई नै प्रतिनिधिसभा बैठकमा दोहोर्‍याएको विश्लेषक श्याम श्रेष्ठको बुझाइ छ ।

‘साम्पाङले राष्ट्रियताको कुरा निर्वाचन अघि नै गर्दै आएका आएका थिए,’ श्रेष्ठ भन्छन्, ‘नेपाल जस्तो देशका लागि उनले लिएको नीति नै ठीक हो । होची मिन्हले पनि त्यस्तै गरेका थिए ।’

प्रतिनिधिसभामा साम्पाङले राखेको धारणा र श्रम संस्कृति पार्टीको घोषणापत्रमा विरोधाभास देखिँदैन । यो पार्टीले ‘कुनै पनि सामाजिक वा राजनीतिक वहानाहरूले देशको भूगोल खण्डित हुने देश टुक्रिन दिने छैनौं’ भनेको छ ।

घोषणापत्रमा पनि सीमा अतिक्रमण रोक्न सेनाको प्रयोग गर्ने उल्लेख छ । भौगोलिक अखण्डता र सीमा सुरक्षा शीर्षकमा भनिएको छ, ‘सीमानामा सेना राखी हुनसक्ने सीमा अतिक्रमण रोकिनेछ । देशको अखण्डता चुनौती दिने र सीमाना अतिक्रमण गर्ने खालको कुनै पनि आन्तरिक वा वाह्य गतिविधिलाई रोक लगाइनेछ ।’

श्रम संस्कृति पार्टीका महासचिव आरेन राई प्रतिनिधिसभामा साम्पाङले पार्टीकै नीति र निर्णय अनुसारको धारणा राखेको बताउँछन् । ‘अध्यक्षज्यूले पार्टीकै आधिकारिक धारणा राख्नु भएको हो । एमसीसी लगायतका देशको विषय त हाम्रो पार्टीले मात्र होइन सबैले उठाउनु पर्ने होइन र ?,’ राईको प्रतिप्रश्न छ ।

निर्वाचन लगत्तै साम्पाङले नेपाल भारत सीमाना पुल बनाउन भनेर सहयोग संकलन शुरु गरेका थिए । उनले सहयोग माग्दै फेसबुकमा लेखेका थिए, ‘दार्चुलाको तुइनको साटो झोलुंगे पुल बनाउने घोषणा अनुरुप रु. १० देखिमाथि जति सहयोग गर्न चाहनुहुन्छ, सहयोग गर्नुहोला ।’

सीमा नदीमा पुल बनाउन सहयोग संकलन भइरहेको महासचिव राईले जानकारी दिए । स्वेच्छिक सहयोग उठाएको र छिट्टै पुलको शिलन्यास हुने उनले बताए । ‘अध्यक्षज्यूबाट पुलको शिलन्यास गर्ने तयारीमा छौं,’ खोटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राईले अनलाइनखबरसँग भने ।

प्राध्यापक पोखरेल संसद्मा संख्या जति भए पनि साम्पाङले परिपक्व राजनीति गर्ने देखिएको बताउँछन् । उनी भन्छन्, ‘हाम्रो जस्तो दुई वटा देशको चेपुवामा परेको मुलुकमा राष्ट्रियताको मुद्दा संवेदनशील र सबैको चासोको विषय हुन्छ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?