News Summary
Generated by OK AI. Editorially reviewed.- धार्चे गाउँपालिका–३ दोभान नजिकैको कालाभिरमा चट्टानसहितको पहिरो खसेर बेनिघाट-आरुघाट-लार्के सडक मंगलबार बिहानदेखि अवरुद्ध बनेको छ।
- नेपाली सेनाले स्थलगत अध्ययनका लागि सडक निर्माण कार्यदलका प्राविधिकहरू पठाएको र प्रतिवेदनपछि सडकको अवस्था एकीन हुने बताएको छ।
- सडक अवरुद्ध हुँदा सवारी आवागमन र सामान ढुवानीमा समस्या आएको छ र पालिकाले पदमार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
२४ चैत, गोरखा । चट्टानसहितको पहिरोका कारण बेनिघाट-आरुघाट-लार्के सडक अवरुद्ध बनेको छ । धार्चे गाउँपालिका–३ दोभान नजिकैको कालाभिरमा माथिबाट चट्टानसहितको सुख्खा पहिरो खसेपछि मंगलबार बिहानदेखि सडक अवरुद्ध बनेको हो ।
‘हिजो पनि माथिबाट ढुंगा खसेर केहीबेर सडक रोकिएको थियो, डोजर लगाएर हटायौँ,’ पालिका अध्यक्ष लक्ष्मण गुरुङले भने, ‘बिहान सडकको बेस नै जाने गरी माथिबाट चट्टानसहितको ठूलै पहिरो खसेछ ।’
सो ठाउँमा ब्लास्ट गरेर पुनः नयाँ बेस निर्माण गर्नुपर्ने देखिएको उनको भनाइ छ ।
नेपाली सेनाले स्थलगत अध्ययनका लागि सडक निर्माण कार्यदलको प्राविधिकलाई पठाएको छ ।
‘निर्माण कार्यदलका प्राविधिक पठाएका छौ,’ रुद्रध्वज गणका गणपति विरोध रिजालले भने, ‘उहाँहरू पुगेर प्रतिवेदन दिएपछि सडकको अवस्थाबारे एकीन हुन्छ ।’
सडक अवरुद्ध बनेसँगै अहिले सो क्षेत्रमा सवारी आउजाउ ठप्प छ । सामान ढुवानीमा समेत समस्या भएको स्थानीयले बताएका छन् । यसबाटो हुँदै यात्रा गर्नेहरूलाई सडक पारी रहेको पदमार्ग प्रयोग गर्न पालिकाले अनुरोध गरेको छ । अहिले सो क्षेत्र हुँदै मनास्लु क्षेत्र जाने पर्यटकहरुको चाप छ ।
उत्तरी गोरखा हुँदै चीनको सीमा जोड्ने उक्त सडक निर्माणको काम विगत सात बर्षदेखि जारी छ । बेनिघाटदेखि चीनको सीमा लार्के भन्ज्याङसम्मको कुल १५४ किलोमिटरमध्ये ९७ किमी खण्डमा सडक ट्रयाक खुलेर सवारी चल्न थालिसकेको छ ।
बेनिघाटदेखि हावाडाँडासम्मको ६२ किलोमिटर खण्ड सडक विभागले निर्माण गरे पनि हावाडाँडादेखि लार्केभन्ज्याङसम्मको ९२ किमी खण्ड भने विभागले नेपाली सेनालाई जिम्मा लगाएको छ ।
त्यसमध्ये नेपाली सेनाले हालसम्म ३५ किलोमिटर ट्रयाक खनिसकेको छ । हावाडाँडादेखि चुमनुव्री गाउँपालिकाको पाङसिङसम्म सवारी गुड्न थालिसकेका छन् ।
हावाडाँडादेखि दोभानसम्मको १८ किलोमिटर खण्ड नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण समेत गरिसकेको छ ।
अहिले पाङसिङदेखि माथि ट्रयाक खोल्ने काम भइरहेको छ । सो क्षेत्रमा चार खण्डमा विभाजन गरी काम भएको नेपाली सेनाको सडक निर्माण कार्यदलले जनाएको छ । कार्यदलका अनुसार पाङसिङ भिर, न्याक फेदी, रुविनाला र पेवा भिरमा ब्लाष्टिङ गरेर ट्रयाक निर्माण गरिएको हो ।
२०५२ सालमा बेनिघाट आरुघाट आर्खेत खण्डमा सडक निर्माणको काम सुरुवात भएको थियो ।
आर्थिक बर्ष २०६३-६४ मा वेनिघाट आरुघाट लार्केभञ्ज्याङ सडक नामाकरण गरी सडक विभागलाई उक्त सडक निर्माणको कार्यभार दिइयो ।
आव २०६६/०६७ मा मात्र उक्त सडक निर्माणको कार्य सुरु भयो । तर हावाडाँडादेखि करिब १ किलोमिटर क्षेत्र कडा चटानयुक्त भिर परेकाले पाँच बर्षसम्म ट्रयाक खोल्ने कार्य अगाडि बढ्न सकेको थिएन ।
प्रतिक्रिया 4