News Summary
Generated by OK AI. Editorially reviewed.- फ्योदोर दोस्तोएभ्स्कीले १८८० मा पुस्किन स्मारक अनावरण समारोहमा पुस्किनलाई रुसी चेतनाका भविष्यद्रष्टा र मार्गदर्शक प्रकाश भनेका थिए।
- दोस्तोएभ्स्कीको उपन्यास 'डेमन्स' ले प्रगतिशील राजनीतिक विचारधाराले समाजलाई नैतिक भ्रष्टतातर्फ लैजाने चेतावनी दिएको छ।
- उपन्यासका पात्रहरूले उदारवादी र कट्टरपन्थी विचारधाराको मनोविज्ञान र समाजमा यसको प्रभावलाई गहिरो रूपमा चित्रण गरेका छन्।
आरम्भ
“गोगोलले भनेका थिए, ‘पुस्किन एक असाधारण संवृति हुन्, र शायद, रुसी चेतनाका एक मात्र अद्वितीय अभिव्यक्ति हुन् ।’ म यसमा थप्न चाहन्छु कि उनी एक ‘भविष्यद्रष्टा’ पनि हुन् । हो, उनको आगमनमा हामी सबै रुसीहरूका लागि निर्विवाद रूपमा केही न केही भविष्यसूचक सन्देश लुकेको छ ।
पिटरका सुधारहरूको एक शताब्दीपछि जब हाम्रो वास्तविक आत्म-चेतना भर्खरै जागृत हुन थालेको थियो, पुस्किन ठ्याक्कै त्यही समयमा देखा परे । पुस्किनको उदयले हाम्रो अन्धकारमय मार्गमा एउटा नयाँ मार्गदर्शक प्रकाशको रूपमा हामीलाई ठूलो सहयोग पुर्याएको छ । यस अर्थमा, पुस्किन एक पूर्वसंकेत र भविष्यवाणी दुवै हुन् ।”
जुन ८, १८८० मा फ्योदोर दोस्तोएभ्स्कीले मस्कोमा ‘सोसाइटी अफ लभर्स अफ रसियन लिटरेचर’ को भेलामा पुस्किन स्मारकको अनावरण समारोहमा आफ्नो प्रसिद्ध ‘पुस्किन भाषण’ प्रस्तुत गरेका थिए ।
आफ्नो मृत्युभन्दा एक वर्षभन्दा पनि कम समयअघि उनले दिएको उक्त मन्तव्यमा पश्चिमी सभ्यतातर्फ आकृष्ट हुँदै गरेको रूसलाई पुश्किनको सम्झना दिलाएका थिए । सो भाषण यति प्रभावशाली थियो कि त्यहाँ उपस्थित मानिसहरू आँखा नभिजाई रहन सकेनन् । भाषण उत्कर्षमा पुग्दा मानिसहरू दोस्तोएभ्स्कीलाई पनि भविष्यवक्ताको संज्ञा दिदै रोएका थिए ।
दोस्तोएभ्स्कीले पुस्किनको चरित्र र कृतित्वको गहन विश्लेषण गर्नुले उनका कृतिहरू आगामी मानवताको यात्राका लागि कति महत्वपूर्ण छ भन्ने कुरा प्रत्यक्ष रुपमा दर्शाउँछ ।
आफ्नो आयुको अधिकांश समय उनले कथा, उपन्यास र लेखहरू मार्फत रूसले मात्र नभई समग्र विश्वले कस्ता कस्ता प्रतिकूल समय सहनुपर्ने अवस्था आउन सक्छ भनेर बारम्बार सचेत तुल्याउन खोजे।
यस आलेख दोस्तोएव्स्कीको प्रख्यात उपन्यास ‘डेमन’ मार्फत तथाकथित प्रगतिशील राजनीतिक विचारधाराले समाजलाई कस्तो प्रकारको नैतिक भ्रष्टतातर्फ लैजान्छ भन्ने विषयमा के- कस्ता कुराहरू अभिव्यक्त गर्न खोजिएको छ भन्ने कुरामा केन्द्रित रहन्छ । र, यस धृष्टताका लागि पंक्तिकारले आलेखको आरम्भमै क्षमायाचना गर्दछ ।
इतिहासको पुरादीपन
१९औँ शताब्दीलाई पुरानो धर्मको समाज ठानेर नै होला, २०औ शताब्दी केही नयाँ र फरक गर्ने उर्जावान समयको रुपमा आफ्नो परिचय निर्माण गर्ने तरखरमा थियो । राजतन्त्रहरू भत्किएर प्रजातन्त्रका लागि बाटो छोडिदिँदै थिए ।
उदारवादी विचारहरू फैलिरहेका थिए । त्यस समयका बुद्धिजीवीहरूले प्रगतिशीललाई व्यापक रूपमा समर्थन गरिरहेका थिए । प्रतीकात्मक रूपमा भन्नुपर्दा मानिसहरू धर्तीमा एउटा स्वर्ग उमार्ने दिवास्वप्नमा मग्न थिए । एउटा यस्तो संसारको कल्पना गरिरहेको थिए जहाँ मानिस समान, स्वतन्त्र र भातृत्वको अंगालोमा जुग-जुगान्तरसम्म बाँचिरहने छन् ।
सपनामा मात्र सीमित रहनुले सपनाको अर्थ रहँदैन । आफ्नो सपनाका रिक्ततामा अर्थ भर्नका लागि ती स्वपनद्रष्टहरू कार्यशील बन्न थाले । तर , परिणाम र उद्देश्यमा भने अकल्पनीय परिवर्तन आए । स्वतन्त्रताका संवाहकहरू नयाँ सर्वसत्तावादका प्रणेता भएर निस्किरहेका थिए ।
समानताका व्याख्यान छाट्नेहरू आम मानिस र आफूबीच दूरी निर्माण गर्दै थिए । उनीहरूको जीवनलाई अवमूल्यन गर्दै थिए । अनि विश्वबन्धुत्वको अतिरन्जित आदर्श कतै बिलाएर मानव मात्र नभई मानवता समेतको हत्या गरिंदै थियो ।
लेनिन, त्रत्स्की, स्टालिन, माओ, पोल पोट, किम इल सुङ र अरूले अक्कलरहित नक्कल गरेको यो प्रणालीले मानवताको करिब ४० प्रतिशत हिस्सामा आफ्नो प्रभुत्व जमायो ।
‘स्पेनिस इन्क्विजिसन’लाई राजनीतिक दमनको सबैभन्दा ठूलो उदाहरण मानिने पश्चिमेली समाजमा अब सोभियत संघको दमनले हलुका तुल्याउन थालेको थियो । ३०० वर्ष लामो इतिहासमा मारिएका करिब ३० हजार मानिसको सङ्ख्यालाई स्टालिनको सोभियत संघले प्रत्येक दुई हप्तामा उछिन्न थालेको थियो ।
कृषिलाई जीवनको अर्थ प्रदायक पेशाको रूपमा अपनाएका लाखौँ रूसी कृषकहरूमाथि सोभियत संघले सामुहिकीकरणको मार्क्सेली रटान प्रयोग गर्दा उनीहरू भोकभोकै मर्न अभिशप्त भए । आफ्नो आस्थामाथिको धावा प्रहार हेरेर दु:खदायी मृत्युवरण गरे ।
पूजीवादको कट्टर आलोचक सिवाय केही बन्न नसकेका लेफ्ट विचारधाराका मानिसहरूले जति मानिसहरूको हत्या शायद अन्य कोही कसैले गरेन ।
दोस्तोयभ्स्कीझैँ कुनै समय कट्टर विद्रोही रहेका प्रख्यात साहित्यकार युरी कार्यकिनले जब निकिता ख्रुश्चेभले स्टालिनले गरेको हत्याको भर्त्सना गरे, उनले आफूभित्र कम्पन महसुस गरे ।
उनले दोस्तोयभ्स्कीको डेमन्स पढे । डेमन्स उपन्यास लेख्ने क्रममा दोस्तोयभ्स्कीले तयार पारेको खेस्रा पढे । क्षण-क्षणमा अविश्वासनीय दृष्टिले समाज र उपन्यास तुलना गरे र भने- “यो कसरी सम्भव छ ? दोस्तोयभ्स्कीलाई यो सबै कसरी थाहा भयो ?”
हुन पनि, लेनिनको उदय भन्दा आधा शताब्दी अगाडि नै दोस्तोएभ्स्कीको उपन्यास डेमन्सले कम्युनिस्ट अधिनायकवादको उदयको भविष्यवाणी गरिसकेका थिए । यदि यो उपन्यास सन् १८७२ को सट्टा १९२२ मा प्रकाशित भएको भए, मानिसहरूले यसले वास्तविकताको अनुकरण गरेको भनेर टिप्पणी गर्ने थिए ।
उदारवादीहरूको पाखण्ड
डेमन्स उपन्यास प्रकाशित हुनुभन्दा तीन वर्षअघि आतंकवादी सर्गेई नेचाएभले गरेको हत्याको काल्पनिक विवरण हो । नेचाएभ कट्टर विचारधारा अँगाल्ने व्यक्ति थिए, जो उद्देश्य प्राप्तिका नैतिक, अनैतिक, मानवीय/अमानवीय जस्ता पक्षको विचारमा आफ्नो समय व्यय गर्नु हुदैन भन्ने विचारमा अडिग थिए । लेनिन स्वयम् नेचाएभको विचारलाई समर्थन गर्ने गर्दथे ।
दोस्तोयभ्स्कीलाई नेचाएभले गरेको हत्याको कथाभन्दा अधिक क्रान्तिकारी कट्टरपन्थीहरूको मनोविज्ञान, उनीहरूको अन्तर्निहित शक्तिलिप्सा र यसले भविष्यलाई कसरी आकार दिइरहेको छ भन्ने कोणबाट हेरिरहेका थिए । त्यसकारण यो उपन्यास मस्कोमा घटेको घटनाको वर्णन भन्दा पनि विश्वलाई नै क्रमिक रूपले संक्रमित गरिरहेको लेफ्ट विचारको सारवस्तु हो ।
कथाको सुरुवाती चरणको केन्द्रीय पात्र स्टेपान ट्रोफिमोविच हुन्, जो एक संघर्षरत बौद्धिक व्यक्ति हुन् । युवा वयमा एक विचारकको रूपमा उनको राम्रो ख्याति थियो । तर, समयक्रममा उनी एक बौद्धिक रूपमा अतृप्त अवशेषको रूपमा चित्रित छन् ।
स्टेपानलाई भारवारा पेट्रोभ्ना स्टाभ्रोगिना नामकी एक अभिजात महिलाले आर्थिक रूपमा सहयोग गर्छिन्, एक आश्रित साथीको रूपमा आफूसँगै राख्छिन् । उनीहरूको सम्बन्ध अनौठो छ । उनीहरू बीच कुनै रोमान्टिक सम्बन्ध छैन, तर उनीहरू एकअर्कासँग जटिल जालोले आबद्ध छन् ।
स्टेपानले भारवाराका छोरा निकोलाई स्टाभ्रोगिनको ट्युटरको रूपमा काम गरेका थिए । निकोलाई स्टाभ्रोगिन पछि गएर उपन्यासको सम्भवतः सबैभन्दा महत्त्वपूर्ण पात्र बन्न पुग्छन् ।
स्टेपानले बौद्धिक व्यक्तित्व भए पनि उनले कहिल्यै कुनै उल्लेख्य वा मौलिक काम भने गरेनन् । भारवाराले उनलाई यस विषयमा पटक-पटक सचेत गराउँछिन् । स्टेपान सधैँ पढिरहने र ठूला-ठूला दार्शनिक कुराहरू मात्र गर्ने गरेको उनले औँल्याउँछिन्, आफ्नो मौलिक कुराहरू पनि पढ्न लेख्न प्रेरित गर्छिन तर स्तेपान यस कुरामा असफल नै ठहरिन्छन् ।
दोस्तोयभ्स्कीले स्तेपानमार्फत उदारवादी बुद्धिजीवी वर्गको पृथक मनोविज्ञानमा संकेत गर्छन् । स्टेपानमा ‘पर्सेक्युसन कम्प्लेक्स’ अर्थात् कसैले आफूलाई पछ्याइरहेको छ भन्ने दिग्भ्रान्त धारणा छ ।
सरकारले आफूमाथि निगरानी राखिरहेको र आफूलाई एक खतरनाक विद्रोही मानेको उनको विश्वास छ । कसैबाट निषेधित हुनुलाई, अरूको दृष्टिमा भिन्न या अस्वीकार्य हुनुलाई आफ्नो पहिचानको सफलता मानेका छन् ।
स्टेपानले आफूलाई जति नै प्रगतिशील या विद्रोहीको रूपमा कपोलकल्पना गरे पनि उनी आफूलाई भने अभिजात र कुलीन वर्गको सोख राख्न रूचाउछन् । उनलाई फ्रान्सेली भाषा बोलेर सामाजिक प्रतिष्ठा प्रदर्शन गर्ने असाध्य रहर लाग्छ । आफ्नो बोलीमा फ्रान्सेली शब्दहरू मिसाएर स्टेपान आफू शिक्षित र युरोपेली परिष्कृत संस्कृतिसँग सम्बन्धित भएको संकेत दिइरहेका हुन्छन् ।
स्टेपानको विरोधाभाषी र पाखण्डी प्रवृति देखाउने अर्को प्रसङ्ग पनि छ । स्टेपानले आफूलाई एक उदारवादी विचारकको रूपमा प्रस्तुत गर्छन्, तर वास्तवमा उनी सामान्य मानिसहरूलाई तुच्छ ठान्छन् । उनी समानता र सुधारका कुरा गर्छन्, तर उनको भित्र शिक्षित सम्भ्रान्त वर्गको अहंकार लुकेको छ ।
लेखक र अन्य प्रतिष्ठित मानिसहरूले कृषकहरूलाई अनावश्यक महत्व दिएको भन्दै उनले कृषकहरूलाई प्रदान गरिएको हार्दिकता केवल फोहोरी शिरमा ताज पहिराइएको कुरासँग तुलना गर्छन् । कतिपय अवस्थामा त उनी स्वाभाविक मानवता समेत बिर्सिएर कृषकहरूलाई अवमूल्यन गर्न पुग्छन् ।
उनी भन्छन्, ‘रुसी गाउँले कृषकहरूले हामीलाई एक हजार वर्षमा केवल ‘कामारीन्स्की’ नाच मात्र दिएको छ । एक प्रसिद्ध रुसी कवि, जो अलि ठट्टा गर्ने स्वभावका थिए । उनले जब पहिलो पटक मञ्चमा प्रसिद्ध फ्रान्सेली अभिनेत्री रेचललाई देखे, तब उनले हर्षित हुँदै भनेका थिए, ‘म एउटी रेचलको बदलामा एउटा किसानलाई पनि साट्दिनँ !’ म त त्योभन्दा पनि अगाडि बढ्न तयार छु। म रुसका सबै किसानहरूलाई एउटी रेचलका लागि त्याग्न सक्छु ।’
स्टेपानको नजरमा विशाल संख्यामा रहेका रुसी किसानहरूबाट हजार वर्षमा केवल एउटा सामान्य सांस्कृतिक अभ्यास मात्र जन्मिएको छ । उनका लागि उच्च संस्कृतिकी प्रतीक रेचलको मूल्य रुसका सम्पूर्ण किसानहरूको भन्दा बढी छ।
उदारवादी मनोवृतिको कथनी र करणी बीचको भिन्नतालाई प्रस्ट्याउन स्टेपानको यस उदाहरण नै पर्याप्त देखिन्छ ।
स्टेपानको र भारवाराको आफ्नै साथ संगत छन् । उनीहरू एक आपसमा भेट्छन् र राजनीति तथा दर्शनका बारेमा बहस गर्छन् । यी दृश्यहरूमा केही हदसम्म व्यङ्ग्यात्मक वा हास्यपूर्ण स्वर पाइन्छ । पात्रहरू ठूला-ठूला विचारका कुराहरू गर्छन्, तर उनीहरू आफैँमा खोक्रा वा अलमलमा परेका देखिन्छन् ।
भारवाराले सेन्ट पिटर्सबर्गको एउटा प्रगतिशील साहित्यिक पत्रिकालाई आर्थिक सहयोग गरिरहेकी हुन्छिन् । केही युवा कट्टरपन्थीहरू उनीकहाँ एउटा अनौठो प्रस्ताव लिएर आउँछन् ।
भारवाराले त्यो पत्रिका र त्यसका लागि छुट्याइएको रकम सिधै उनीहरूलाई सुम्पिनुपर्छ र यसको बदलामा उनीहरूले कृत्रिम उदारता देखाउँदै नाफाको केही अंश भारवारालाई राख्न दिनेछन् । आफूलाई साँचो क्रान्तिकारी ठान्ने युवाहरू आफ्नो कदमलाई न्यायोचित ठान्छन् । त्यसैले प्रकाशनमा उनीहरूकै नियन्त्रण हुनुपर्छ भन्ने उनीहरूको बुझाइ हुन्छ । आफूलाई आधुनिक र प्रबुद्ध उदारवादी मान्ने भारवारा र स्टेपान ती युवा क्रान्तीकारीहरूका दृष्टिमा भने असान्दर्भिक र असामयिक ठहरिन्छन् ।
यी युवा क्रान्तिकारीहरू मानिसको आध्यात्मिक पक्षलाई अवमूल्यन गर्ने प्रवृतिका छन् । भौतिक वास्तविकतालाई सबैभन्दा महत्त्वपूर्ण मान्छन् । उनीहरूका लागि पुस्किन सम्भ्रान्त संस्कृतिका प्रतीक हुन् । एउटा समारोहमा जब स्टेपानले पुस्किन जुत्ताभन्दा महत्त्वपूर्ण हुन् भन्छन्, कट्टरपन्थी दर्शकहरू आक्रोशित हुन्छन् । उनीहरूले स्टेपानलाई गिज्याउँछन् र नाराबाजी गरेर बोल्न दिँदैनन् । त्यो दृश्य निकै अपमानजनक बन्छ र स्टेपान रुन थाल्छन् ।
दोस्तोएभ्स्कीले सम्भवतः यो दृश्य तत्कालीन समयको वास्तविक बहसबाट प्रभावित भएर लेखेका थिए । त्यसबेलाका वास्तविक आलोचक दिमित्री पिसाारेभले ‘सेक्सपियरभन्दा एक जोर जुत्ता बढी मूल्यवान् हुन्छ’ भनेर प्रसिद्ध लेख लेखेका थिए ।
स्टेपान आफूलाई एक महत्त्वपूर्ण सार्वजनिक बुद्धिजीवी ठान्छन् । तर नवपुस्ताले उनलाई एक अवशिष्टको रूपमा हेरे पनि उनी आफ्नो त्यही परिचयमा गर्व गर्छन् । स्टेपानले राजनीतिक माहोल बदलिरहेको महसुस त गर्छन् र युवाहरूसँग सामञ्जस्य मिलाउन पनि खोज्छन्, तर उनले उनीहरूलाई वास्तवमा बुझ्न भने सकेका हुँदैनन् ।
उनी आफूलाई उक्त क्रान्तीकारी समूहमा सान्दर्भिक तुल्याउनका लागि आफ्नै देश र धर्मसमेतलाई व्यंग्य कस्न पछि पर्दैनन् तर युवा पुस्ताले यी चरमपन्थी विचारहरूलाई उनले भन्दा धेरै गम्भीरताका साथ लिएका छन् भन्ने कुरामा उनी विचार पुर्याउन सकेका हुँदैनन् ।
कथाको अन्त्यमा, जब स्टेपान मृत्युसँग जुधिरहेको हुन्छ तब मात्र उनलाई ‘प्रगतिशील’ विचारको दानवले रूसलाई कसरी विनिर्माणको बाटोमा लैजादै छ भन्ने कुराको हेक्का हुन्छ । यद्यपि, यी विचारहरूको प्रचारमा स्टेपान आफैको संलग्नता रहेको कुराको पश्चाताप उनीभित्र जिवितै रहन्छ ।
स्टाभ्रोगिनका अन्य अनौठा र अप्रत्याशित व्यवहारहरूले पटक-पटक सहरलाई स्तब्ध बनाउँछ । प्योत्र पाभ्लोभिच गागानोभ सहरका एक सम्मानित र निष्कलङ्क व्यक्तित्व हुन्, जो आफ्नो स्वाभिमानका लागि परिचित छन् । उनले प्रायः गर्वका साथ ‘कसैले मलाई नाकमा समातेर डोर्याउन सक्नुहुन्न’ भन्ने वाक्यांश दोहोर्याउछन् ।
एक दिन एक औपचारिक समारोहमा स्टाभ्रोगिनले अचानक र कुनै चेतावनी बिना वृद्ध गागानोभको नाक आफ्ना दुई औंलाले समातेर उनलाई कोठाको एक छेउबाट अर्को छेउसम्म केही पाइला तानेर लैजान्छन् । यो कृत्य यति आकस्मिक हुन्छ कि उपस्थित कसैले पनि यसको प्रतिकार गर्ने मौका नै पाएनन् । यो क्षण केवल अपमानजनक मात्र नभएर सामाजिक पदानुक्रममाथिको एउटा गम्भीर प्रहार थियो ।
स्टाभ्रोगिनको दोस्रो कृत्य पनि उत्तिकै उत्तेजक र अपमानजनक देखिन्छ । उनले सबैको अगाडि अचानक लिपुटिनकी श्रीमतीलाई चुम्बन गरिदिन्छन्, जसले उपस्थित मानिसहरूलाई स्तब्ध बनाउँछ । तर, अनौठो कुरा के छ भने, लिपुटिन आफैँ भने यस घटनामा विल्कुलै शान्त र अविचलित देखिन्छन् । समयक्रममा मात्र स्पष्ट हुदै जान्छ कि लिपुटिन ‘मेकियाभेलियन’ स्वभावका पात्र हुन् ।
उनको त्यो रहस्यमय शान्तिले भविष्यमा देखिने जटिल राजनीतिक षड्यन्त्र र दाउपेचको पूर्वाभास दिन्छ। यसले के सङ्केत गर्छ भने, लिपुटिनका लागि व्यक्तिगत अपमानभन्दा पनि उनका गुप्त उद्देश्य र स्वार्थहरू बढी महत्त्वपूर्ण छन् ।
यी घटनाहरूको शृङ्खलाले निकोलाई स्टाभ्रोगिनको अराजक र अनपेक्षित चरित्रलाई चरम सीमामा पुर्याउँछ, जब उनले एक गभर्नरको कान टोक्ने जस्तो उग्र कार्य गर्छन् । यस व्यवहारपछि उनलाई केही समयका लागि नजरबन्द र कडा निगरानीमा राखिन्छ ।
उनकी आमा भार्वाराआफ्नो छोराको सामाजिक प्रतिष्ठा जोगाउन निकै कसरत गर्छिन् । उनले स्टाभ्रोगिनको व्यवहारलाई कुनै सचेत कृत्य नभई मस्तिष्कको अस्थायी समस्या वा ‘स्नायु सम्बन्धी गडबडी’ को रूपमा प्रस्तुत गर्ने प्रयास गर्छिन्।
भार्वाराको यो प्रतिक्रियाले समकालीन समाजको एउटा पाटोलाई पनि ऐना देखाउँछ । आजको समयमा पनि जब उच्च वर्गका सदस्यहरूले कुनै असामाजिक कार्य गर्छन्, उनीहरूको परिवारले प्रायः चिकित्सकीय शब्दावलीको ओत लाग्ने गर्छन् ।
उनीहरूले यस्ता व्यवहारलाई मानसिक विकारको संज्ञा दिएर त्यसलाई नैतिक निन्दा वा कानुनी सजायबाट बचाउन खोज्छन् । यसरी ती कार्यहरूलाई एउटा अपराध वा अपमानको सट्टा केवल एउटा दुर्भाग्यपूर्ण स्वास्थ्य समस्याको रूपमा चित्रण गरिन्छ ।
जब स्टाभ्रोगिनलाई ‘निको’ भएको घोषणा गरिन्छ, भार्वाराले सामाजिक क्षतिको पूर्ति गर्न सुरु गर्छिन् । उनी आफ्नो छोरालाई इटाली जानुअघि केही बिदाइ भेटघाट गर्न र आफूले अपमान गरेका व्यक्तिहरूसँग सम्बन्ध सुधार्न फुस्ल्याउछिन् । स्टाभ्रोगिनले पनि यसमा खासै विरोध नगरी सहमति जनाउँछन् । शहरको क्लब र कुलीन वर्गमा यस्तो चर्चा चल्छ कि उनले ती अपमानित वृद्ध व्यक्तिलाई एउटा अत्यन्तै सभ्य र गम्भीर माफी-पत्र लेखेका छन् । यद्यपि, यो नाटकीय सुधार र माफीको कथामा सबैले सहजै विश्वास भने गर्न सक्दैनन्।
यो समयमा दोस्तोएव्स्की सूत्रधारको रूपमा एउटा गहन मनोवैज्ञानिक सत्यतर्फ पाठकहरूलाई इंकित गर्छन् । अधिकांश मानिसहरूले स्टाभ्रोगिन ‘बिरामी’ भएको तर्कलाई पूर्ण रूपमा अर्थहीन मान्छन् ।
उनीहरूको मनमा सन्देह छ कि स्टाभ्रोगिन कुनै मानसिक असन्तुलनमा थिएनन्, बरु उनलाई आफूले गरिरहेको प्रत्येक कार्यको पूर्ण ज्ञान थियो र उनी केवल समाजको उपहास गरिरहेका थिए । यद्यपि, जब एकपटक प्रभावशाली वर्गद्वारा एउटा आधिकारिक भाष्य स्थापित गरिन्छ, तब सहरका अधिकांश मानिसहरू आफ्ना व्यक्तिगत शङ्काहरूलाई थाती राखेर त्यही कथालाई स्वीकार गर्न बाध्य हुन्छन् ।
हाम्रो सामाजिक संरचना यस्तै प्रकारका ‘साझा काल्पनिक कुराहरू’ मा टिकेको हुन्छ । जब समाजले सामूहिक रूपमा कुनै घटनालाई एउटा निश्चित ढाँचामा बुझ्ने सहमति गर्छ, तब सत्यभन्दा पनि त्यो निर्मित कथा शक्तिशाली बन्न पुग्छ ।
मानिसहरूलाई भित्री रूपमा वास्तविकता थाहा भए तापनि सामाजिक सहजता र व्यवस्था कायम राख्न उनीहरू अक्सर त्यस्ता भ्रमहरूलाई नै सत्यको रूपमा स्वीकार गरेर अघि बढ्छन् । यसले के देखाउँछ भने, समाजमा सत्यको स्थापना प्रमाणले भन्दा पनि सामूहिक स्वीकृति र आधिकारिक व्याख्याले गर्छ ।
शून्यवादी किरिलिभ
यस कथामा देखा पर्ने अर्का अत्यन्तै जटिल र स्मरणीय पात्र हुन्, किरिलोभ । उनी एक यस्ता पात्र हुन् जो अत्यन्तै शान्त भावमा चिया पिउँदै आत्महत्या जस्तो भयावह विषयमा आफ्नो दार्शनिक सिद्धान्त व्याख्या गरिरहेका भेटिन्छन् ।
किरिलोभको बुझाइमा मानिसलाई आत्महत्या गर्नबाट रोक्ने मुख्य दुईवटा अवरोध छन्: पहिलो, शारीरिक दुखाइको डर र दोस्रो, मृत्युपछिको अज्ञात भय । उनले एउटा गहिरो तर्क अघि सार्छन् कि ‘भगवान भनेको मृत्युको डरको पीडा मात्र हो ।’ अर्थात्, मानिसहरू मृत्युसँग यति भयभीत छन् कि उनीहरूले त्यो डरलाई सहन ‘भगवान’ को अवधारणा सिर्जना गरे।
किरिलोभको कल्पनामा भविष्यमा एउटा यस्तो ‘नयाँ मानिस’ को उदय हुनेछ, जसले मृत्युको यो शाश्वत डरबाट आफूलाई पूर्णतः मुक्त गर्नेछ ।
उनको विचारमा साँचो स्वतन्त्रताको प्रमाण निराशामा गरिने आत्महत्या होइन, बरू शान्त र तर्कसंगत ढङ्गले आफ्नो ज्यान लिनु हो ।
उनी दाबी गर्छन् कि जसले केवल भयलाई समाप्त पार्नका लागि आफूलाई समाप्त पार्ने साहस गर्छ, उही व्यक्ति वास्तवमा ‘भगवान’ बन्नेछ । यो तर्कले तत्कालीन रूसी बौद्धिक जगतमा फैलिरहेको नास्तिकता र संशयवादको तीव्र लहरलाई प्रतिबिम्बित गर्दछ, जहाँ पुराना विश्वासहरू भत्किँदै थिए र मानिसहरू अस्तित्वको नयाँ तर भयानक अर्थ खोजिरहेका थिए ।
किरिलोभका अनुसार मानव जाति अहिले यस्तै मनोवैज्ञानिक जालमा फसेको छ । उनीहरू दयनीय र दुखदायी जीवन सहन्छन् किनभने उनीहरूलाई मृत्युभन्दा ठूलो डर अरू केही हुँदैन भन्ने अवधारणाबाट प्रशिक्षित छन् । किरिलोभको दृष्टिमा धेरैजसो आत्महत्याहरू अर्थहीन हुन्छन् किनभने ती केवल आवेग वा निराशामा गरिएका हुन्छन् । एक वास्तविक दार्शनिक आत्महत्या त त्यो हो, जुन मृत्युको डरलाई जितेर आफ्नो पूर्ण स्वतन्त्रता प्रमाणित गर्नका लागि गरिन्छ ।
उदारवादको पाखण्डको साक्षी : शातोभ
शातोभको परिचयको अर्को अंग यो हो कि उनले जसले स्टाभ्रोगिनलाई मुक्का हानेका थिए । शातोभ पनि युवा पुस्ताकै हुन्, उनी पनि कुनै समय उदारवादी हुन्छन तर उनी आफू पहिले आबद्ध रहेको आन्दोलनप्रति नै निकै शङ्कालु छन् ।
शातोभका अनुसार, यदि रुस अचानक उदारवादीहरू आदर्श अनुसार परिवर्तन भयो र समृद्ध एवं शान्त बन्यो भने, तिनीहरू वास्तवमा निराश हुनेछन् । उनीहरूको राजनीति घृणा र निन्दा गर्नका लागि कुनै न कुनै कुराको खोजीमा निर्भर हुन्छ । शत्रुबिना उनीहरूको ऊर्जा र उद्देश्य दुवै समाप्त हुनेछ । एक ठाउँमा उनले उग्रवादीहरूको कठोर शब्दमा आलोचना गर्छन् । उनी तर्क गर्छन् कि उनीहरूको विचारधाराभित्र एउटा लुकेको घृणा छ ।
वास्तवमा यो प्रसङ्ग संसारभरका हरेक प्रगतिशील आन्दोलनहरूमा लागु हुन्छन् । उदारवादीहरू दाबी गर्छन् कि उनीहरू समाज सुधार गर्न चाहन्छन् । तर उनीहरू यो भावना केवल झुटो र प्रतिशोधमा आधारित भएको हुनाले उनीहरू समाजमा प्रगति र उन्नयन भएको हेर्न चाहँदैनन् । यस्तो उर्जा आशाबाट भन्दा पनि आक्रमण गर्ने र कमजोर बनाउने इच्छाबाट पैदा हुन्छ ।
यो ढाँचा राजनीतिको हरेक क्षेत्रमा देखिन्छ । उच्च आदर्शहरूको मुनि अक्सर शत्रुताको एउटा तह लुकेको हुन्छ, जसले वास्तविक काम गरिरहेको हुन्छ ।
उपन्यासमा शातोभ एक यस्ता पात्रका रूपमा उभिन्छन्, जसको मानसिक छअन्तर्द्वन्द्वले स्वयम् लेखक दोस्तोएभ्स्कीको जीवन र वैचारिक द्वन्द्वलाई प्रतिबिम्बित गर्छ । कुनै समय उग्रवादी आन्दोलनमा होमिएका शातोभ अहिले राष्ट्र, अर्थोडक्स धर्म र रुसी जनताको विशेष प्रारब्धमा अटुट विश्वास राख्छन् ।
दोस्तोएभ्स्की आफैँ पनि युवावस्थामा कट्टरपन्थी समूहमा सक्रिय भएर पछि अध्यात्म र राष्ट्रवादतर्फ मोडिएका हुनाले शातोभलाई लेखकको आफ्नै वैचारिक ‘प्रतिनिधि’ मान्न सकिन्छ ।
जब स्टाभ्रोगिनले उनलाई ईश्वरमा विश्वास छ कि छैन भनेर सिधै प्रश्न गर्छन्, शातोभको उत्तरले उनको भित्री सङ्घर्षलाई यथार्थमा छताछुल्ल पोखिदिन्छा ।
उनले रुस, अर्थोडक्स धर्म र क्राइस्टमा विश्वास गरेको दाबी त गर्छन्, तर जब ‘ईश्वर’ को कुरा आउँछ, उनी हतास हुँदै भन्छन् ‘म विश्वास गर्नेछु”, यो ‘गर्नेछु’ भन्ने शब्दले उनको विश्वास अझै पूर्ण नभएको र त्यो एउटा निरन्तरको प्रक्रिया वा सङ्घर्षमा रहेको सङ्केत गर्छ। यसले आस्था र संशयबीचको त्यो द्वन्द्वलाई दर्साउँछ, जसबाट दोस्तोएभ्स्की स्वयम् गुज्रिएका थिए ।
यही खण्डमा किरिलोभको दार्शनिक तर्कले अर्को रोचक मोड ल्याउँछ । किरिलोभ मानिसहरू दु:खी हुनुको कारण उनीहरू पहिले नै खुसी छन् भन्ने कुराबाट अनभिज्ञ हुनु हो भन्ने ठान्छन् । स्टाभ्रोगिनले यसै तर्कलाई मोडेर भन्छन् कि सायद कोही व्यक्ति नास्तिक हुनुको कारण पनि उसले आफूभित्र लुकेको विश्वासलाई नचिन्नु मात्र होला ।
यो तर्कले नास्तिकतालाई एउटा मानसिक भ्रम वा ‘अहङ्कार’ को रूपमा प्रस्तुत गर्छ, जुन शातोभले पनि स्टाभ्रोगिनमाथि लगाएको आरोपसँग मेल खान्छ ।
अन्ततः, शातोभ र किरिलोभ दुवैजना सीधा अर्थमा आस्तिक होइनन् । उनीहरू दुवै यस्तो सत्यको खोजीमा छन्, जुन उनीहरूको पहुँचभन्दा केही टाढा छ । किरिलोभले आफ्नो स्वतन्त्रता प्रमाणित गर्न आत्महत्याको दार्शनिक सहारा लिन्छन् भने, शातोभ आफ्नो शङ्कालाई स्वीकार गर्दै विश्वासको कठिन मार्गमा तड्पिरहन्छन् । यी दुई पात्रको माध्यमबाट दोस्तोएभ्स्कीले मानव चेतनाको त्यो गहिरो खाडललाई देखाएका छन्, जहाँ तर्क र आस्थाबीचको युद्ध कहिल्यै समाप्त हुँदैन ।
उपन्यासको तेस्रो भागमा शातोभको कथाले पाठकलाई एउटा गहिरो भावनात्मक र नैतिक मोडमा पुर्याउँछ । शातोभको चरित्रले आधुनिकता र विचारधाराको मरुभूमिमा मानवीय संवेदना र अर्थको खोजीलाई प्रतिनिधित्व गर्दछ । जहाँ अन्य पात्रहरू विनाश र षड्यन्त्रमा लिप्त छन्, शातोभ भने भत्किएको सम्बन्ध र नयाँ जीवनको आगमनमा आफ्नो मुक्ति खोज्छन् ।
शातोभकी श्रीमती तीन वर्षको अन्तरालपछि गर्भवती अवस्थामा फर्कनु र त्यो बच्चा उनको नभई उनकै आदर्श मानेका तर पछि घृणा गरेका स्टाभ्रोगिनको हुनु, कथाको सबैभन्दा जटिल मोड हो ।
यस्तो अवस्थामा सामान्यतया प्रतिशोध वा तिरस्कारको अपेक्षा गरिन्छ, तर शातोभले देखाएको करुणा अद्वितीय छ । उनले आफ्नी श्रीमतीको थकित र चमक हराएको अनुहारमा अझै पनि त्यही पुरानो सुन्दरता र निर्दोषता देख्छन् । उनले त्यो बच्चालाई आफ्नै ठानेर स्वीकार गर्नुले ‘पितृत्व’ लाई एउटा आध्यात्मिक जिम्मेवारीको रूपमा स्थापित गरिदिन्छ।
शातोभ स्वीकार्छन् ‘म रुसी हुन नसकेकाले म स्लाभोफिल बनेँ’।
शातोभको यस स्वेकारोक्तिमा ती बुद्धिजीवीहरूको अवसहाद देखिन्छ जो आफ्नो जमिन र संस्कृतिबाट काटिएका छन् र त्यस अभावलाई बौद्धिक आभूषणले परिपूर्ति गर्ने असफल चेस्टामा लागेका छन् ।
उनी रुसी हुन्, तर उनको ‘रुसीपन’ अब स्वाभाविक रहेन: यो त अध्ययन र चिन्तनबाट प्राप्त गर्नुपर्ने एउटा लक्ष्य बन्यो । यो अवस्था आजका ती सम्भ्रान्त वर्गसँग मिल्दोजुल्दो छ, जो शहरका सुविधायोग्य कोठामा बसेर आफ्नो अभ्यास र अनुभवबाट टाढा रहेको परम्परागत जीवनशैलीको वकालत गर्छन् ।
‘बौद्धिक’ र ‘उदारवादी’ को मेरुदण्डविहीनता
प्योत्र स्टेपनोभिचले बुझेको सबैभन्दा ठूलो कमजोरी यही हो सम्मानित र शिक्षित वर्गका मानिसहरू आफूलाई ‘पुरानो विचारको’ वा ‘अनुदार’ देखिनला कि भनेर निकै डराउँछन् ।
यही डरका कारण उनीहरू उग्रवादीहरूका हिंसात्मक र अतार्किक कुराहरूमा पनि मौन समर्थन जनाउँछन् । उनीहरूका लागि आफ्नै विवेक प्रयोग गर्नुभन्दा भीडले रुचाएको ‘आधुनिक’ नाराको पछि लाग्नु सुरक्षित महसुस हुन्छ ।
कारमाजिनोभ (जो इभान तुर्गेनेभको व्यङ्ग्यात्मक पात्र हुन्) मार्फत दोस्तोयभ्स्कीले ती बौद्धिकहरूको चित्रण गरेका छन्, जसलाई आफ्नो सिद्धान्तभन्दा बढी आफ्नो सान्दर्भिकता को चिन्ता छ । उनीहरू युवा पुस्ताको नजरमा स्थापित हुनका लागि आफ्नो स्वाभिमान र मूल्य-मान्यतालाई तिलाञ्जली दिन तयार हुन्छन् । ‘म तपाईंहरूकै पक्षमा छु, बस मेरो प्रशंसा गर्नुहोस्’ भन्ने उनको मानसिकताले आजको उदारवादी बौद्धिकहरूको सफल चित्रण गरेको छ ।
प्योत्र आफ्नो अराजकतामा आत्मविश्वास राखेका छन् कारण उनलाई समाजका तथाकथित प्रतिष्ठितहरूलाई आफ्नो पक्षमा पार्न सक्ने क्षमता छ । उनीसँग ती शिक्षकहरू छन् जसले परम्परा र आस्थाको उपहास गरेर नयाँ पुस्ताको जग हल्लाइदिन्छ । ती सरकारी वकिल वा कर्मचारी छन् जो कानुनभन्दा बढी ‘प्रगतिशील’ देखिने सामाजिक दबाबबाट डराउँछ ।
यी मानिसहरूलाई आफू कुनै ठूलो विनाशकारी योजनाको हिस्सा बनिरहेको छु भन्ने थाहै हुँदैन, तर उनीहरूको साना-साना ‘प्रगतिशील’ कार्यले अन्ततः समाजको जग कमजोर बनाइरहेको हुन्छ ।
शातोभले प्रयोग गरेको यो पदावलीले बौद्धिक दासतालाई बुझाउँछ । जब मानिसहरूमा गहिरो चिन्तन गर्ने क्षमता वा साहस समाप्त हुन्छ, उनीहरू हिंसालाई सहज विकल्पको रूपमा स्वीकार गर्छन् । जटिल समस्याको समाधान खोज्नुभन्दा त्यसलाई ध्वस्त पार्नु सजिलो हुन्छ, र उदारवादीहरू यही सजिलो बाटोलाई ‘क्रान्तिकारी’ कदम भन्दै समर्थन गर्छन् ।
उदारवादी मनोविज्ञान
उपन्यासमा प्योत्र र स्टाभ्रोगिनबीचको संवाद आफैँले एक विशिष्ट महत्व राख्छ । प्योत्र स्टेपानको छोरा हो, जो स्टाभ्रोगिनसँगै प्रोपगाण्डा फैलाउन र सूचना नियन्त्रण गर्नमा सहयोग गरिरहेको हुन्छ ।
प्योत्र र स्टाभ्रोगिनबीचको संवादले क्रान्तिकारी समूहलाई एकीकृत राख्ने अचूक तर घातक सूत्रहरू प्रस्तुत गर्छ । प्योत्रको विश्लेषण अनुसार, धेरैजसो मानिसहरू सामाजिक ओहोदाका भोका हुन्छन् र उनीहरूमा मौलिक विचार राख्ने साहस हुँदैन।
त्यसैले, उनले अर्थहीन पदहरू सिर्जना गरेर मानिसहरूको अहमलाई तृप्त पार्न चाहन्छन् । उग्र राजनीतिमा लाग्नेहरू वास्तवमा स्वतन्त्र चिन्तनबाट डराउँछन् र अरूले तयार पारिदिएको ‘नैतिक’ देखिने विचार अंगालेर आफूलाई महान् देखाउन चाहन्छन् ।
स्टाभ्रोगिनले समूहलाई बाँधेर राख्ने अझ भयानक उपाय सुझाउँछन् ‘सामूहिक अपराधबोध’ । उनको तर्क छ कि यदि कुनै साझा हत्या वा अपराधमा सबैको संलग्नता भयो भने, डर र रगतको सम्बन्धले उनीहरूलाई विचारधाराले भन्दा बढी कसिलो गरी जोड्नेछ । यसै योजना अन्तर्गत प्योत्रले पूर्व उग्रवादी शातोभलाई यसको शिकार बनाउने प्रस्ताव गर्छन्, जसलाई स्टाभ्रोगिनले अस्वीकार गरिदिन्छन् । यो अस्वीकारोक्तिले स्टाभ्रोगिनको चरित्रमा रहेको एउटा जटिल द्विविधालाई दर्साउँछ ।
स्टाभ्रोगिन यस उपन्यासका सबैभन्दा रहस्यमयी र प्रभावशाली पात्र हुन् । उनी उग्रवादमा पूर्ण रूपमा प्रतिबद्ध छैनन्, बरु यसलाई एउटा खेल वा मनोरञ्जनको रूपमा मात्र लिन्छन् । उनलाई साइकोप्याथिक व्यक्तित्वको रूपमा चिन्न सकिन्छ, जसमा सहानुभूतिको अभाव छ तर मानिसहरूलाई आफ्नो इसारामा नचाउने अद्भुत क्षमता छ।
दोस्तोएभ्स्कीले यहाँ एउटा गम्भीर सामाजिक चेतावनी दिएका छन् । जब समाजले आफ्नो परम्परागत नैतिक र आध्यात्मिक जग गुमाउँछ, तब त्यहाँ एउटा ‘नैतिक शून्यता’ सिर्जना हुन्छ। यो शून्यताले कुनै उच्च आदर्शलाई जन्म दिँदैन, बरु स्टाभ्रोगिन र प्योत्र जस्ता पात्रहरू जन्माउँछ, जो पुराना नियमहरू भत्काउन त सिपालु छन् तर नयाँ निर्माण गर्न उनीहरूसँग कुनै ठोस आधार छैन
असीमित स्वतन्त्रताबाट असीमित तानाशाही
स्टाभ्रोगिनका कट्टरपन्थी समूहका सिद्धान्तकार शिगालोभको स्वीकारोक्ति दोस्तोएभ्स्कीका प्रशिद्ध उद्दरणहरू पर्छन् । उनी भन्छन्, ‘म आफ्नै तथ्याङ्कहरूबाट अलमलमा परेको छु र मेरो निष्कर्ष मैले सुरु गरेको मौलिक विचारको ठीक विपरीत छ । असीमित स्वतन्त्रताबाट सुरु गरेर, म असीमित तानाशाही मा पुगेको छु ।’
उनी थप्छन्, ‘एक-दशमांशले बाँकी नौ-दशमांशमाथि पूर्ण स्वतन्त्रता र असीमित शक्तिको आनन्द लिनेछन् । बाँकीले आफ्नो सम्पूर्ण व्यक्तिगत पहिचान त्याग्नुपर्नेछ र ‘बथान’ बन्नुपर्नेछ । पूर्ण समर्पणमार्फत उनीहरूले आदिम निर्दोषता प्राप्त गर्नेछन्, जुन ‘इडेनको बगैँचा’ जस्तै हुनेछ । यद्यपि, उनीहरूले काम भने गर्नुपर्नेछ ।’
शिगालोभको परिकल्पना अनुसार १० प्रतिशत शासक वर्गले बाँकी ९० प्रतिशत ‘बथान’ लाई नियन्त्रण गर्नेछन्, जहाँ मानिसहरूले आफ्नो व्यक्तिगत पहिचान गुमाएर पूर्ण समर्पणका साथ बाँच्नुपर्नेछ । यो विचार २०औँ शताब्दीका साम्यवादी शासनहरूको उदय हुनुभन्दा दशकौँ अगाडि नै दोस्तोएभ्स्कीले गरेको दूरदर्शी भविष्यवाणी थियो।
यसै समूहका अर्को सदस्य ल्याम्सिनको धारणा अझ बढी क्रूर छ । उनले मानव जातिको ठूलो हिस्सालाई ‘स्वर्ग’ मा राख्नुको सट्टा ‘हावामा उडाइदिने’ र केवल वैज्ञानिक सिद्धान्तमा चल्ने मुठ्ठीभर शिक्षित मानिसहरूलाई मात्र बाँकी राख्ने कुरा गर्छन् ।
यसले विचारधाराको नाममा हुने नरसंहार र मानवीय मूल्यको पूर्ण अवमूल्यनलाई सङ्केत गर्छ । शिगालोभको सिद्धान्तको अर्को डरलाग्दो पक्ष भनेको ‘विश्वव्यापी जासुसी’ हो, जहाँ प्रत्येक नागरिक अर्को नागरिकको निगरानी गर्न र रिपोर्ट गर्न बाध्य हुन्छ । यो चित्रणले पछिका ‘पुलिस स्टेट’ र सूचना संकलनमा आधारित दमनकारी व्यवस्थाहरूको आधार तयार पारेको देखिन्छ।
उपसंहार
आखिर यी उदारवादी र कट्टरपन्थीहरूको संयोजनले समाजमा सृजित अराजकता निम्त्यायो भने उनीहरूको उद्देश्य चाहि के होला त?
उपन्यासको यो अन्तिम खण्डमा ल्याम्सिनको स्वीकारोक्तिले यस प्रश्नको उत्तर दिन्छ । उनीहरूको रणनीतिक अनुक्रममा यसअनुसार व्यक्त गर्न सकिन्छ– पहिले समाजका आधारभूत मूल्य र संस्थाहरूलाई व्यवस्थित रूपमा खोक्रो बनाउने, अविश्वास र निराशा फैलाउने, र जब समाज पूर्ण रूपमा अस्तव्यस्त र दिशाहीन हुन्छ, तब त्यसलाई नियन्त्रणमा लिने ।
यी यावत क्रियाहरू कुनै सुधारको योजना नभई सत्ता प्राप्तिका लागि रचिएको एउटा मनोवैज्ञानिक र सामाजिक षड्यन्त्र थियो ।
दोस्तोएव्स्कीले महत्वपूर्ण प्रश्नमा प्रवेश गरेका छन् कस्ता व्यक्तिहरू दानव हुन्छन् ? यहाँ एउटा महत्त्वपूर्ण तथ्य औँल्याएका छन् यी दानवहरू समाजका शिक्षित, सम्भ्रान्त र सुविधायोग्य परिवारका सन्तान हुन् । उनीहरूको विद्रोह आर्थिक अभावबाट होइन वैचारिक शून्यता र बौद्धिक अहंकारबाट जन्मिएको हो ।
प्रतिक्रिया 4