२५ चैत्र, सप्तरी । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सप्तरीले आफ्नो स्वामित्वको जग्गा संरक्षणका लागि सक्रियता देखाएको छ।
राजबिराजको मुख्य बजारमै रहेको झन्डै तीन कट्ठा सरकारी जग्गा अतिक्रमण गरी व्यक्तिले बनाइएको संरचना तत्काल हटाई दिन राजबिराज नगरपालिकालाई औपचारिक पत्राचार गरिएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय, सप्तरीका अनुसार राजविराज नगरपालिका वडा नं. ६ (साबिक वडा नं. ७)स्थित कित्ता नम्बर ९० को ६ कट्ठा ६ धुर जग्गामध्ये २ कट्ठा १४ धुर जग्गामा अतिक्रमण भएको छ । सो जग्गामा नगरपालिकाले २०५४ सालमै जगदीश झा नामक व्यक्तिको नाममा घर नक्सा पास गरिदिएको पाइएको छ ।
मालपोत र नापी कार्यालयको स्रेस्ता अनुसार उक्त जग्गा पूर्ण रूपमा कोलेनिकाको स्वामित्वमा रहेको भएता पनि नगरपालिकाले २०५४/११/११ को निर्णय (च.नं. १४९३) मार्फत प्लट नं. १५ उल्लेख गरी घर नक्सा पास गरिदिएको खुलेको हो ।
सरकारी जग्गामा निजी संरचना बनेपछि यसअघि नै ‘तत्कालीन भ्रष्टाचार नियन्त्रण शाही आयोग’ र हाल ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग’ टंगालबाट समेत पत्राचार भई अनुसन्धान सुरु भएको थियो ।
यस विषयमा गत २२ मंसिर २०८२ मा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको सरोकारवाला पक्षको बैठकले अतिक्रमण गरी बनाइएका घर टहरा हटाउने निर्णय गरेको थियो ।
सोही निर्णय कार्यान्वयनका लागि कोलेनिकाले राजविराज नगरपालिकालाई पत्र लेख्दै सरकारी सम्पत्तिको संरक्षण गर्न र अतिक्रमित संरचना हटाउन आवश्यक प्रबन्ध मिलाउन अनुरोध गरेको सप्तरीका प्रमुख कोष नियन्त्रक मनोज कुमार सुनुवारले जानकारी दिए ।

प्रतिक्रिया 4