News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानपछि काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ।
- देउवा दम्पती १४ फागुनमा उपचारका लागि सिंगापुर गएका थिए र हाल हङकङमै रहेको बताइएको छ।
- पक्राउ पूर्जी जारी भएपछि नेपाल प्रहरीले इन्टरपोलमार्फत देउवा दम्पतीलाई पक्राउ गर्न प्रक्रिया अघि बढाउने भएको छ।
२५ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
देउवा दम्पती र उनीहरूको परिवारको अस्वाभाविक कारोबार भएको भेटिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।
पक्राउ पूर्जी जारी हुँदा देउवा दम्पती भने नेपालमा छैनन् । चुनावको पूर्वसन्ध्यामा १४ फागुनमा देउवा दम्पत्ति उपचारका लागि भन्दै सिंगापुर उडेका थिए । त्यहाँबाट उनीहरु ७ चैतमा हङकङ गएको बताइएको छ ।
यसअघि पनि जेनजी आन्दोलनपछि उपचारका लागि भन्दै देउवा दम्पती सिंगापुर गएका थिए । त्यतिबेला भने उपचार गरेर उनीहरु फर्केका थिए ।
अहिले भने १४ फागुनमा देश छाडेका उनीहरु एक महिना ११ दिन बित्दा समेत नेपाल फर्केका छैनन् । स्रोतका अनुसार उनीहरू अहिले पनि हङकङमै रहेको बताइन्छ ।
पक्राउ पूर्जी जारी भए पनि देउवा दम्पती देश बाहिर रहेकाले अब इन्टरपोलमार्फत नेपाल ल्याउन प्रहरीले पत्राचार गर्ने भएको छ । यसका लागि अदालती कागजात चाहिने भएकाले पक्राउ पूर्जीले त्यसको काम गर्ने एक प्रहरी अधिकृत बताउँछन् ।
‘अदालती कागजात इन्टरपोलले माग्ने हुँदा यसअघि इन्टरपोलमार्फत नोटिस जारी गर्न सम्भव थिएन । अब भने नोटिसका लागि बाटो खुलेको छ । त्यसको प्रक्रिया अब अघि बढ्छ’ एक उच्च प्रहरी अधिकारीले भने ।
इन्टरपोलमार्फत नोटिस जारीका लागि प्रहरी प्रधान कार्यालयस्थित नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी)ले प्रक्रिया अघि बढाउँछ ।
नोटिस जारी भएको अवस्थामा इन्टरपोलका १९६ सदस्य मुलुकले देउवा दम्पतीलाई पक्राउ गर्न सक्नेछन् । यसरी पक्राउ परेको अवस्थामा कानूनी प्रक्रिया पूरा गरेर उनीहरुलाई नेपाल ल्याउन सकिनेछ ।
उनीहरु बाहिर रहेकै बेला बूढानीलकण्ठस्थित देउवा निवास भत्काउने काम भएको थियो । तर प्रशासनले आदेश दिएपछि देउवाको घर भत्काउने काम समेत रोकिएको छ । प्रमाण नष्ट हुनसक्ने भन्दै देउवाको घर भत्काउन रोक लगाइएको बताइएको छ ।
पछिल्लो एक/डेढ वर्षमा जयवीर देउवा र उनले नजिकका नातेदारहरुका नाममा किनेको करिब ७३ रोपनी जग्गाको विवरणहरू संकलन अनुसन्धान भइरहेको छ ।
शेरबहादुर देउवाका नातेदार प्रदीपशम्सेर जबरा, भूषण राणा लगायतबाट जयवीर र अन्य व्यक्तिको खातामा भएको कारोवारको विवरण संकलन भइरहेको पनि स्रोतको दाबी छ ।
यता यसअघि देउवा पत्नी आरजु राणा नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि जोडिएकी थिइन् । नेपाल टेलिकमको बिलिङ अनियमितता प्रकरणमा तत्कालीन सञ्चारसचिव डा. बैकुण्ठ अर्यालमार्फत भएको विवादस्पद निर्णयपछिको कारोबारलाई पनि संकास्पद रुपमा हेरिएको छ ।
शेरबहादुर देउवा परिवारले बूढानीलकण्ठमा एउटा कम्पाउण्डभित्र दुईवटा बंगला बनाएका थिए । जेनजी आन्दोलनका क्रममा उनीहरु त्यही घरमा थिए । त्यतिबेला देउवा दम्पत्तिमाथि आक्रमण समेत भएको थियो भने घरमा आगजनी भएको थियो ।
यसअघि गत २३ र २४ भदौमा जेनजी आन्दोलन हुँदा देउवा निवास बूढानीलकण्ठमा जलेका नोटहरु भेटिएका थिए । देउवा निवासमा भेटिएका नोटहरुको भिडियो समेत सार्वजनिक भएको थियो ।
त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसको मुचुल्का समेत उठाएर अनुसन्धान अघि बढाएको थियो । अहिले उक्त फाइलसहित थप अनुसन्धान गर्न भन्दै केही दिनअघि मात्रै सीआईबी पठाइएको थियो । विभागको उक्त फाइल आएपछि नै धुम्बहाराहीस्थित प्रेस्टिज अपार्टमेन्टबाट कांग्रेसका नेता तथा पूर्वऊर्जा मन्त्री दीपक खड्का पक्राउ परेका थिए । उनको घरबाट पनि जेनजी आन्दोलनको पैसाका नोटका भिडियो तथा फोटोहरु सार्वजनिक भएका थिए ।
प्रतिक्रिया 4